केटाकेटी / सुमन पोखरेल
टिप्न खोजे मात्र भने पनि
तिनका कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट,
तिनका ससाना पाउबाट टेकिए
आजीवन आफैँलार्इ धिक्कार्छ काँढा।
सोचीसोची छानिएर
सुकोमल हल्का भएर बस्छ
सपना पनि तिनका आँखामा।
तिनका ओठमा बसेपछि
उच्चारण गर्दै डरलाग्ने शब्द पनि
तोते भएर निस्कन्छन्।
चराहरूलार्इ जिस्क्याउँदै कलकल हाँसिरहेको पहाडी नदी
तिनको हाँसो सुनेपछि
आफ्नो घमन्डमा खेद गर्दै चुपचाप मदेस झर्छ।
खेल्दाखेल्दै कतै ती लडिहाले भने,
कतिखेर उठेर फेरि अर्को कौतूहल खेल्न थाले
तिनको चकचकको रचनात्मकतामा लठ्ठिएको प्रकृतिले समेत पत्तो पाउँदैन।
नजानी लडे भनेर सायद,
भुइँले धेरजसो त चोट पनि लगाउँदैन।
तिनको मुस्कानको निश्छलता
युगौँको अभ्यासले पनि अनुकरण गर्न सकेनन् कुनै फूलले।
विश्वभरका अनेकन दिग्गज सङ्गीतकारसँगको सदियौँको सङ्गतमा पनि
कुनै वाद्ययन्त्रले सिक्न जानेन तिनको बोलीको मधुरता।
तिनले फुटाए भने फुट्दाफुट्दै पनि हाँसिदिन्छ गमला,
तिनका निष्कपट हातबाट पोखिन पाउँदा
हर्षले उफ्रिउफ्रि छरिन्छन् जेसुकै पनि,
तिनीहरूसँग खेल्दाको आनन्दमा
आफू रङ्गविहीन भएको पनि बिर्सन्छ पानी खुसीले।
सोच्दछु,
कतै सृष्टिले अलि बढी नै अन्याय त गरेन?
बिना युद्ध सबैलार्इ पराजित गर्ने सामर्थ्यसाथ
जीवनको सर्वाधिक सुन्दर जुन क्षण खेलाएर निमग्न छन् केटाकेटीहरू,
त्यस स्वर्णिम आनन्दको वोध होउन्जेलमा
भागिसकेको हुनेछ त्यो तिनीहरूबाट
कहिल्यै नफर्कने गरी।
..................................................................................................................................
Read translations of this poem by clicking the desired language below
..................................................................................................................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...