शब्दसमर्पित प्रेमगीत \ नाजिक अल मलाइका
- नाजिक अल मलाइका
- Feb 5, 2015
- 1 min read
किन डराउँछौँ हामी शब्दसँग ?

तिनीहरूले त
सुवासयुक्त फूलका हात जस्तै भएर
हाम्रा गाला सुम्सुम्याउने गर्छन्,
आँट जगाउने मदिराका प्यालाजस्ता भएर
तिर्खाएका हाम्रा ओठलाई तृप्त पार्ने गर्छन्।
किन डराउँछौँ हामी शब्दसँग?
ती कतिपय त अदृष्य हुन्छन् , सङ्गीतजस्ता
जसका प्रतिध्वनीहरू
स्वर्णीम बिहान उघार्दै
प्रेम र जीवनले निथ्रुक्कै भिजेर
हाम्रा सङ्कटग्रस्त बँचाइमा उद्घोष हुन आइपुग्ने गर्छन्।
तै पनि किन डराउँछौँ हामी शब्दसँग?
हामी मौनतामा आनन्द बोक्दछौँ।
चुप रहन्छौँ हामी,
गोपनीयताले हाम्रा ओठ खोलिदेला भन्ने डरले।
समयको कानका अक्षरहरूमा लुकी मुख छोपेर बसेको
अदृष्य भूत निदाएको हुन्छ शब्दमा
भन्ठान्छौँ हामी।
तिर्खाएका अक्षरलाई बाँधेर राख्छौँ हामी,
हामी तिनलाई हाम्रा विरुद्धमा रात फैल्याउनबाट रोक्छौँ
बहिरहेका धून, सपना र मदिराका मधुर प्यालाले सजाइएको कोठाजसरी।
हामी किन डराउँछौँ शब्दहरूसँग?
तीमध्ये कतिपय त अप्रतिम मीठासले भरिएका हुन्छन्
जसका अक्षरले दुई अधरका बीचबाट आशाको शितल छहारी दिन्छन्
र कतिपय
क्षणिक आनन्दमा रमाउँदै प्रहर्षित भएर
मातिएका दुई आँखाबाट हेल्लिइरहेका हुन्छन्।
हाम्रा गाला सुम्सुम्याउन बिस्तारै फर्किन्छन् हामीतिर
शब्द र कविताहरू।
तिनका रङ्गिन प्रतिध्वनीमा निदाएका हुन्छन्,
मौन प्रेम, र लुप्त पर्खाइहरू।
किन डराउँछौँ हामी शब्दसँग?
तिनका काँडाले हामीलाई कुनैबेला घोचेका भए पनि,
तिनीहरूले हामीलाई गलाभरि आफ्ना अँगालोमा बाँधेका पनि छन्
तिनका सुमधुर सुगन्धले हाम्रा रहरहरूलाई ओत दिएका पनि छन्।
तिनका अक्षरले हाम्रो हृदय चिरेका भए पनि,
तिनले निर्ममतापूर्वक हाम्रो अनुहारै हेर्न छाडे पनि
भोलि जीवनैजीवनले नुहाइदिने छन् तिनीहरूले हामीलाई
खन्याइदिने छन् हामीमाथि
दुई अङ्खोरा शब्द।
भोलि हामी आफैँ बनाउने छौँ शब्दहरू जोडेर
अग्लो,
अक्षरहरूले झपक्क बेरेको सपनाको गुँड।
कविताले स्यहार्नेछौँ हामी त्यसका कोपिलाहरूलाई
र शब्दहरूले सिञ्चन गर्नेछौँ त्यसका फूलहरूलाई।
लज्जालु सौन्दर्यका लागि एउटा बार्दली बनाउनेछौँ हामी
शब्दहरूको दलिन लगाएर।
र एउटा शान्त कोठा बनाउने छौँ
स्निग्ध रङले सजिएको
शब्दहरूले घेरिएको।
समर्पित गरेका छौँ आफ्नो जीवन
प्रार्थनाझैँ हामीले।
प्रार्थना कसको गर्छौँ आखिर हामी ? ... शब्दहरूको।
..........................................................
सुमन पोखरेलद्वारा अङ्ग्रेजीबाट अनुदित
..........................................................















Comments