top of page

आर्यघाटमा केही लेखिरहेको छैन / सुमन पोखरेल


यस्तो बेलामा मान्छे आम मान्छे भए झोक्राएर बस्ने थियो कुनामा वा फाल हाल्ने थियो भीरबाट खोल्सामा वा एक गिलास पानी खाने थियो, धारामा थापेर । तर सबै म विशिष्ट हुन्छ त्यसैले म त्यसो गरिरहेको छुइनँ । यो बेलामा, यस्तो बेलामा म केही लेखिरहन पनि सकिरहेको छुइनँ । बिर्सिएको छु मैले अक्षरहरूलाई शब्दहरूलाई, मसीहरूलाई रङ्गहरूलाई । त्यसैले म टोलाइरहेको पनि छुइनँ लेखिरहेको पनि छुइनँ । यो रातभरि कोल्टे फेरिरहन पनि सकिरहेको छुइनँ निदाइरहन पनि सकिरहेको छुइनँ तिमी नै जसरी । मलाई विश्वास भइरहेछ तिमी पनि यो नाटकजस्तो जीवनदेखि दिक्क छौ यो अभिनयदेखि आजीत छौ म नै जसरी । तिमी पनि मान्छेका लस्करहरूको चोर ‍औंलादेखि डराउछौँ र आफूलाई तिनै चोरऔंलाहरू बाटिएर बनेको समाजका लागि चरु बनिदिन्छौ - स्वाहा ! स्वाहा ! स्वाहा ! योॐ विनाको स्वाहा हो यहाँ शान्ति छैन मनहरूमा यहाँ नदीहरू बग्दैनन् यहाँ मान्छेहरू भीड मात्र हुन् । *** यो सृष्टिमा सिर्जित हरेक वस्तुमा संवेदन हुन्छ यहाँ स्वास्नीमान्छेहरूमा संवेदन हुन्छ यहाँ लोग्नेमान्छेहरूमा संवेदन हुन्छ यहाँ जोसुकै मान्छेहरूमा संवेदन हुन्छ । तर पनि यहाँ मान्छे झुण्ड बनाएर आफू हराउने गर्दछ संवेदन बिलाउँछ बाटिएका चोरऔँलाहरूमा । मैले स्वास्नीमान्छेलाई चिन्न सकिनँ मैले लोग्नेमान्छेलाई चिन्न सकिनँ मैले मान्छेलाई पनि चिन्न सकिनँ । यी तीनवटैको अनुहार कहिले बिल्कुल एउटै हुन्छ कहिले मुसो र मिसाइल जस्तो पृथक । *** यो मान्छेहरूको बस्ती हो । भन्नुको अर्थ; यो मान्छेहरूको पनि बस्ती हो । यो मान्छेको बस्तीमा रात दिन नबिराई आइरहन्छ । मान्छेलाई रात चाहिन्छ निद्रा लागेको बेला सुत्नलाई नलागेको बेला कोल्टो फेर्नलाई अघिको दिन सम्झनलाई अरु पनि केही गर्नलाई । *** झ्याऊँ झ्याऊँ झ्याऊँ झ्याऊँ झ्याऊँ किक् किक् किक् किक् सररर सररर हलो हलो हलो माइक टेस्टिङ् छैंया छैंया छैंया छैंया ए ! क्या बोलती तू घर्रऽऽऽऽर किटिक् खिटिक् किटिक् खिटक् यो रातको बोली हो मेरो कोठामा । पिलिक्क झ्याप्प, पिलिक्क झ्याप्प पिलिक् पिलिक् पिलिक्, रातो इन्डकेटर मस्क्यूटो डिस्ट्रवायरको बत्ती भित्त्ताको ऐना; यो रातको अनुहार हो मेरो कोठामा । यस्तोमा मान्छेले (आम मान्छेले ) स्लिपिङ पिल्स भेलियम फाईभ वा टेन खान्छ । तर, मान्छेको म विशिष्ट हुन्छ। त्यसैले मले त्यस्तो केही खाँदैन । मैले त्यस्तो केही खाइरहेको पनि छैन मैले कलम चलाइरहेको पनि छैन मैले आँखा उघारिरहेको पनि छैन मैले आफूलाई निदाइरहेको पनि छैन मैले निद्रालाई कोल्टे फेराइरहेको पनि छैन । *** मान्छेको शरीर मान्छेको सिर्जना होइन प्रयास मात्र हो । शरीरमा अंग हुन्छ अंगहरू हुन्छन् । तिमी निदाएको छैनौ म पनि निदाएको छुइनँ । मुटु चल्दैछ टुक टुक । नाईटोमा । सृष्टिको अनुहार टाँसिएको छ मेरो कायामा । *** कसैले सोध्यो तिम्रो गाग्रोमा पानी छ ? मैले नरिवलको रुखको पात देखाइदिएँ । मान्छेको भाग्य त्यस्तै त छ आखिर ! जीवन जस्तो चिरैचिरामा सग्लिएको । मायाको तातो बाटेका औंलाहरूको चिसो मिसिएर । छोप, छोप केशहरूले छोप नाईटोलाई, ढुकढुकी माथितिर सरोस् छातीको अलि नजिक । सृष्टिको हरेक कुरामा संवेदन हुन्छ नाइटोभन्दा माथि पनि नाइटोभन्दा तल पनि त्यसले त संसार चलेको छ टुक्रा टुक्रा जोडिएर अरु टुक्रा उमार्नलाई । तर यो रातमा म केही लेखिरहन सकिरहेको छुइनँ कोल्टे फेरिरहन पनि सकेको छुइनँ निदाइरहन पनि सकेको छुइनँ बिउँझिरहन पनि सकेको छुइनँ उज्यालो पर्खिरहन पनि सकेको छुइनँ । आर्यघाटमा भोलि पनि घाम उदाउने छ । जीवनमा सुकेका पातहरू खसिरहेका पनि हुन्छन् हावाहरू उडिरहेका पनि हुन्छन् पानीहरू बगिरहेका पनि हुन्छन् नदीहरू वरपर सरिरहेका पनि हुन्छन् रातहरू गहिरिरहेका पनि हुन्छन् ताराहरू छरिरहेका पनि हुन्छन् । सनपाट र बाबियो मिसाएर केको डोरी बाटनु ? पिङका लिङ्गाहरू कता फर्काउनु ? *** तिमीले सोध्यौ, जीवन के हो ? मलाई भन्न मन लाग्यो - मृत्यु, कसैले सोध्यो, गन्तव्य कहाँ हो ? मलाई भन्न मन लाग्यो - मृत्यु, उसले सोध्यो, प्राप्ति के होला ? मलाई भन्न मन लाग्यो - मृत्यु, जो सुकैले सोध्यो, सृष्टि के हो ? मलाई भन्न मन लाग्यो - मृत्यु, सबैले सोधे, मृत्यु के हो ? मलाई भन्न मन लाग्यो - मृत्यु । न्यूटनले, रदरफोर्डले, बोरले विज्ञान जम्मा गरेर भने क्षय - अणुको गतिको परिणाम – शून्य – मृत्यु । विज्ञान मृत्यु भोक मृत्यु, ज्ञान मृत्यु शक्ति मृत्यु, एटम मृत्यु, युद्ध मृत्यु जीवन मृत्यु मलाई आज किन जे सुकै मृत्यु लागिरहेछ ? यो रातमा यो मेरो कोठामा सूर्य मृत छ उज्यालो मृत छ मन मृत छ केवल जीवित छ एउटा अस्तित्व जीवन्त छ त बस्, यो कलम । आर्यघाटमा सधैँ घाम उदाउने गर्छ । ***** (शून्य मुटुको धड्कनभित्र \\ सुमन पोखरेल \\ २०५६) From शून्य मुटुको धड्कनभित्र Shoonya Mutuko Dhadkanbhitra by Suman Pokhrel

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा करैले, पूरा वा आधा सुन्नुहुने, अथवा सुन्दै नसुन्नुहुने शब्दहरूक

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page