पर्खाइ गजलसङ्ग्रहको प्रकाशकीय
गजललेखनका केही शास्त्रीय नियमहरू रहिआएकाछन्, केही चलनहरू चलिआएका छन् । अधिकांश नियमहरू अद्यापी प्रभावशाली रहेका छन् भने चलनहरू शुरूदेखि नै क्रमश: बदलिँदै गरेका देखिन्छन् । उर्दू कविहरू गालिब, जफर, मीर, जैक आदिले हामीकहाँ मोतिराम भट्टले शृङ्गारिक गजल लेख्नुभन्दा अगावै शृङ्गारिकका साथसाथै वीरता, स्वतन्त्रता, दर्शन, धर्तीप्रेम, ब्यङ्ग तथा विद्रोहका गजलहरू लेखिसकेका थिए । तिनलाई पछ्याउँदै इकबाल, फैज, फराजजस्ता शायरहरूले गजललाई प्रेममा गुलाबभन्दा कोमल र विद्रोहमा तरबारभन्दा धारिलो बनाए । तिनले गाली नै गर्दा पनि गजलको ‘अदब’भित्रै रही कलात्मक सौन्दर्यले प्रहार गरेर आफ्नो साथसाथै गजलको शिष्टतालाई कायम राखे ।
रिस उठ्दा पनि फूलको झै कोमलताले प्रहार गरेर ‘बेबफा’ प्रेमीलाई घोच्नु र बैरीलाई पराजीत गर्नु गजलको, साहित्यको र सर्जकको विशिष्टता एवम् सामर्थ्य हो । यसै कारणले समेत गर्दा लेखनका लागि गजल अत्यन्त जटील विधाको रूपमा देखिन्छ । भावनालाई केवल दुई पङ्तिका शब्दहरूमा अँटाएर कलात्मक अभिव्यक्ति दिनु साँच्चै नै ठूलो सामर्थ्य हो । रदिफ र काफिया मिलाउँदैमा गजल भैहाल्ने होइन । शिल्प नपुर्याई अनुप्रास मात्र मिलाइएका ‘काफियाबन्दी’लाई गजलको जन्मबोली उर्दू तथा फारसी दुबै भाषामा गजल भन्ने आँट गरिएको देखिँदैन । हामी कहाँ भने काफिया (वा रदिफ मात्र भए पनि) मिलाइएपछि गजल भइहाल्छ । यस सदासयताले गर्दा सहस्र कलमहरू नेपाली गजल लेखनमा सक्रिय रहन सकेका छन् । गजलको विस्तारका लागि यो अत्यन्त सुखद र सह्रानीय सहुलियत हो । तर निकै लामो उमेर र कैयन कलमहरूको छटपटीका बाबजुद स्पस्ट पहिचानसहित कहीँ कतै प्रसङ्गहरूमा उद्दरण गरिने वा हुने किसिमका श्लोकहरू (सेरहरू) नेपाली गजलमा देखिएका छैनन् भन्दा कसैले मन दुखाउन नमिल्ने स्थिति रहेको छ । यदी यही सत्य हो भने, गजल लेखनमा लाग्नेहरूले यसमाथि निक्कै गम्भीर भएर मनन गर्नुपर्ने देखिन्छ ।
यिनै सहजता र कठीनताका बीच नेपाली गजलको बँगैचालाई अझ बढी सुन्दर र सुवासित बनाउने उत्कण्ठा र आँट लिएर आउँदैगरेकी एक ब्यग्र ‘शाइरा’ हुन् - रोमा निरौला । रोमाका गजलहरू पत्रपत्रिकामा प्रशस्तरूपमा छरिएका छन् । गजल भएर यत्रतत्र पोखिएका उनका भावनाहरू समेटी वाणी प्रकाशनको माध्यमबाट एउटा सङ्ग्रहको रूप दिने उनको चाहना हामीलाई स्वीकार्य लाग्यो । एउटी सकृय नवप्रतिभा रोमाको ‘पर्खाइ’लाई आफ्नो प्रकाशनमर्फत् बाहिर ल्याउन पाउँदा हामीले हर्ष अनुभूत गरेका छौँ ।
यो सङ्ग्रह रोमा निरौलालाई एउटी सक्षम शाइरा वा गजलकारका रूपमा चिनाउन सफल रहोस् - शुभकामना !
-सुमन पोखरेल
...............................................................................................................................................
रोमा निरौलाको गजलसङ्ग्रह 'पर्खाइ (२०६७)'का लागि वाणी प्रकाशनका तर्फबाट लेखिएको प्रकाशकीय)
Related Posts
See All[साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया' (साउन -असोज २०६७) सँग कवि सुमन पोखरेलको अन्तर्वार्ता] ..............................................
आदरणीय सभाध्यक्षज्यू, सम्मानीय उपराष्ट्रपतिज्यू, मञ्चासिन मान्यजनहरू एवम् उपस्थित समस्त विद्वत्जनमा हार्दिक नमन गर्दछु । यसबेला यहाँ...
कविताका फैलाहटका सबै अवयवहरूसम्म पुग्न निकै ठूलो चुनौती पार गर्नु पर्ने हुन्छ । गहन विम्वात्मक अभिव्यक्तिहरूलाई अनेक भाष्यहरूले पनि...