मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो / सुमन पोखरेल
[साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया' (साउन -असोज २०६७) सँग कवि सुमन पोखरेलको अन्तर्वार्ता]
..................................................................................................................................
मोनालिया :-
कविता लेख्दा तपाईँ एउटा आम विषयमा प्रवेश गरेर नौलो परिवेश निर्माण गर्नहुन्छ, त्यहाँबाट फर्कँदा कस्तो लाग्छ ?
सुमन पोखरेल :–
कविता भनेकै आम विषयलाई नियमित गन्जागोलबाट झिकेर एउटा सुन्दर परिदृष्यमा पुर्याउनु हो भन्ने लाग्दछ, मलाई । त्यसो भयो भने कविता बन्यो जस्तो लाग्दछ । साँच्चैको कविता लेखियो भने कविताले सिर्जना गरेको परिवेशबाट फर्कँदा एउटा मीठो सपनाबाट ब्यूँझिएझैँ, प्रेमको उत्कर्षले जोडेको अन्तरङ्ग मिलनबाट आफूलाई झिकेर निस्किएझैँ, तमाम बोझहरू बिसाएर रित्तिएझैँ र बाँच्नुको सार्थकता भेट्टाएर फर्किएझैँ लाग्दछ; एक किसिमको समाधीबाट फर्किए झैँ लाग्दछ ।
मोनालिया :-
साहित्य सोख, नसा वा कर्तव्य ? तपाईँका लागि ?
सुमन पोखरेल :–
शुरूशुरूमा रहरले पनि पढियो, लेखियो होला । पछि बिस्तारै यो एउटा सोखजस्तो भयो । अहिले आएर हेर्दा यो एक प्रकारको नसानै भइसक्यो, त्यही लतका कारणले पढ्छु, लेख्छु । कर्तव्यको कुरा भने पठनभन्दा लेखनसँग ज्यादा सम्बन्धित छ जस्तो लाग्दछ, । कतिपय अवस्थामा कर्तव्य पूरा गर्न पनि लेख्नु पर्ने हुन्छ, तर कर्तव्य ठानेर मैले कम नै लेखेको छु ।
मोनालिया :-
एक नागरिक सुमनको सुरक्षामा कवि सुमनले विद्रोह गर्न सकेको छैन नि ? तपाईँ नरम धारमा उभिन मनपराउनु हुन्छ । आफ्नो धारणा बताइदिनोस् न !
सुमन पोखरेल :–
मैले कतै लेखेको पनि छु, म विचारमा विद्रोही र ब्यवहारमा सम्झौताबादी हुँ, भनेर । मेरो कविले विद्रोह गरेकै छ, बरू व्यक्ति नरम किसिमको छ । म यस्तो देख्छु; बाहिरबाट त तपाईँहरूले देख्ने हो । तै पनि यो प्रश्न पो उल्टो भयो कि जस्तो लाग्दैछ, यहाँनिर मलाई ।
मोनालिया :-
के अझै जीवनको छेउमा हुनुहुन्छ ? जीवनसँग जम्काभेट भएको पनि लेख्नु भएको छ । के जीवनसम्म पुग्नु भएको छैन ?
सुमन पोखरेल :–
जीवनको छेउमा हुनुका विविध अवस्थाहरू हुन सक्छन् । एउटा, जीवनसम्म पुग्न बाँकी भएको; एउटा, जीवनलाई पार गरेर पल्लो छेउतिर पुगेको; अर्को, जीवनभित्र राइफाँडो गरिवरि फर्किएर छेउमा उभिएको र अर्को, जीवनलाई अँगालो हालेर सहारा दिँदै सँगसगैँ हिँडेको । मेरो शीर्षक यो चौथो अवस्थासँग सम्बन्धित छ ।
मोनालिया :-
एक साहित्यकारको नाताले यो देशको समकालीन परिवेशलाई कसरी नियालिरहनु भएको छ ?
सुमन पोखरेल :–
साहित्यकारलाई देशको अवस्थासँग त्यसले सिर्जना गर्ने कलात्मक कलेबरसम्म मात्र सरोकार रहन्छ । त्यसभन्दा ज्यादा साहित्यकारले गरेको जेजति चासो देख्दछौँ हामी, त्यो एउटा नागरिकले गरेको चासो हो । "आमाको सपना" नागरिक गोपालप्रसाद रिमालको सपना हो, जसमा कवि रिमालले कला भरिदिए । "एन्जिनो पेक्टोरिस" क्रान्तिकारी बन्दी नाजिम हिकमतको दुःख हो, जसलाई कवि नाजिम हिकमतले शब्दले सिँगारे । "काठमान्डु एक्लैले काठमान्डु बोक्न सक्दैन" एउटा आम अकाठमान्डेली नेपाली नागरिक कृष्णभूषण बलको पीडा र आक्रोश हो, जसलाई कवि कृष्णभूषण बलले अभिव्यक्ति दिए ।
आन्दोलनमा सामेल भएर जुलुसमा नागरिक हामी हिँडेका हौँ । त्यसैले देशलाई मैले एक आम नेपाली नागरिकले जस्तै नै हेरिरहेको छु । र भन्नै पर्दा, जे जे हुनुपर्थ्यो ती भइरहेका छैनन् वा कम भएका छन् र जेजे नहुनु पर्थ्यो ती निरन्तर भइरहेका छन्, मेरा दृष्टिमा ।
मोनालिया :-
आख्यान जति कविताका किताब पढिँदैनन् भनिन्छ, कविता लोकप्रिय हुन नसकेकै हो कि ?
सुमन पोखरेल :–
नसके कै हो । कविता अभिव्यक्तिको उच्चतम् माध्यम हो । कविताले आफू लेखिएकै भाषाभित्र नयाँ भाषाको आविस्कार गर्छ । आम मान्छेले सधैँ बोल्ने भाषामा राम्रो कविता लेखिँदैन । अशिक्षाका कारणले चेतनाको कमी भएको हामी सबैले स्वीकार गरेको हाम्रो यथार्थ हो । यही दुर्दशा व्याख्या गरेर हाम्रा राजनीतिकर्ताहरू नेता भइटोपल्या छन् । यही नाराको छायामा यहाँ कतिको जीवन निर्वाह भइरहेको छ । लोकको अधिकांश भाग यस्तो भएको अवस्थामा कविता कसरी लोकप्रिय हुन सक्छ । हामी कहाँ शिक्षित भनिएकाहरू पनि अधिकांशतः पत्रिकासाक्षर (newspaper-literate) मात्र छौँ । साहित्य सबैका लागि लेखिने भएता पनि यो जसले तसले सजिलै खेलाउन सक्ने खेलौना हैन । त्यसमा पनि कविता सबैभन्दा माथि ईन्द्रेणीजस्तो टाँगिएको हुन्छ, कतिपय त यसको बिँड खोज्दाखोज्दै जीवन गुज्रिसकेको थाहै पाउँदैनौँ ।
छयालीस सालपछि हामीकहाँ पत्रपत्रिकाहरू बढे, पढ्ने मान्छेको सङ्ख्या बढ्यो, तर स्तरीयता र गहन अध्ययनशीलता त्यस अनुरूप बढ्न सकेन । तर अहिले आशा लाग्दो हुँदैछ, परिवेश । पत्रिका पढ्नेहरू राम्रा कथा पढ्न थाल्या छन्, उपन्यासतिर तानिँदैछन् । अबका पच्चीस–तीस वर्षपछि कविता पढ्नेहरू पनि निस्कन्छन् भनेर मलाई आश लाग्न थाल्या छ ।
अर्कातिर हामी कविता भनेर जे पायो त्यही लेखिरहेका, छापिरहेका पनि छौँ । कविता भन्दै पत्रिकाहरूमा विकृतिका जुलुसका नाराजस्ता अर्थहीन, कलाको आभाषसम्म नभएका शब्दका केके जाति थुप्राहरू छापिरहेका छौँ । त्यसले कवितातिर आकृष्ट हुनसक्ने आम मान्छेलाई झन टाढा खेदिरहेको छ । हामीलाई मनमा, मष्तिष्कमा जेजे आउँछ, तिनलाई लेख्ने बित्तिकै कविता भै हाल्ने हैन । जब हामी हामीले लेखेका जे सुकै पनि कविता हुन् भन्न छाड्छौँ र कविता भनेर कविता मात्र छाप्न थाल्छौँ, त्यसपछि आफैँ पाठक पाउने छौँ भन्ने लाग्दछ ।
मोनालिया :-
के अहिले साहित्यमा साधना र क्षमताभन्दा विज्ञापन र प्रदर्शनको स्तर उच्च भएको जस्तो लाग्दैन ?
सुमन पोखरेल :–
यसको उत्तर त यही प्रश्न मै भएजस्तो लाग्यो । तर स्तरविहीन लेखेर विज्ञापन गर्नेहरूले कहिलेसम्म विज्ञापन गरिरहने ? सामर्थ्य नभएका रचनाहरू समयको चाल्नीबाट बिस्तारै आफैँ चालिँदैजान्छन्, बाहिरिँदै जान्छन् । साहित्यको लेखन एक वर्ष दुई वर्ष वा केही वर्षका लागि हैन । "पछि जे होला होला, यो हात चैँ जितूँ" भनेर खेलिने जुवाजस्तो हैन साहित्य भनेको । चकलेट, सेम्पू वा रक्सी, र साहित्यमा धेरै अन्तर छ । तर बढी विज्ञापन गरिएका सबै कृतिहरू स्तरविहीन नै हुन्छन् भन्ने पनि छैन । केही हदको विज्ञापन यस युगको आवश्यकता पनि हो ।
मोनालिया :-
गीतिसङग्रह र गजलमा कुन पहिला छाप्नुहुन्छ ?
सुमन पोखरेल :–
यसमा मैले केही सोचेको छैन । उनान्साठ्ठी सालमा मेरो पहिलो गीतसङग्रह प्रकाशित हुँदा ताका नै अरू दुई सङग्रह पुग्ने गीत थिए, अहिले तिनमा केही थपिएका छन् । सङग्रह निकाल्छौँ भनेर नेपाल मुस्लिम यूथ कमिटिका साथीहरूले मेरा उर्दू गजलहरू मेरो पहिलो कवितासङग्रह निस्कनु भन्दा एक वर्षअघि चौवन्न सालमै लग्नुभएको अहिलेसम्म छापिएको छैन । यो पनि परिवेशको सामञ्जस्यको कुरा रहेछ, जसको साइत जहिले जुर्छ तहिले छापिने रहेछ । यी गीत, गजलभन्दा पहिले अनुवादहरूको एउटा सङग्रह आउलाजस्तो लाग्दैछ मलाई । सबै अनुकूल रहे विभिन्न भाषाबाट अङ्ग्रेजीमा अनुवाद भएका विभिन्न देशका कविहरूका कविताको नेपाली अनुवादको एउटा सङग्रह आउला, एक डेढ वर्षभित्र । म अहिले त्यसमा काम गर्दैछु ।
मोनालिया :-
समकालिन सहित्य परिवृत्तमा आफ्ना किताबको चर्चा कम भएजस्तो लाग्दैन ?
सुमन पोखरेल :–
केही चर्चा त भइरहेकै छ । यसलाई कसरी मापन गर्नु र ? कसैले पनि आफूलाई जे मनपर्छ त्यसैको चर्चा गर्ने हो । मनपर्नका लागि चाहिने उत्प्रेरक तत्वहरू अलगअलग हुन सक्छन्, त्यो अर्कै कुरा हो । र अर्को महत्वपूर्ण कुरा समय हो । समय कहिल्यै मर्दैन, मेरा रचना चर्चा गर्न योग्य रहेछन् भने कुनै समयमा तिनको थप चर्चा हुनेनै छ । म मेरा कमजोर रचनालाई महत्वाकांक्षाको रथ चडाएर क्षणभरको योद्धा बनाउन चहन्न । मेरा कवितामा सामर्थ्य छ भने, कालान्तरसम्म ती आफैँ आफ्नो युद्ध लडिरहेछन् र जितिरहनेछन् ।
मोनालिया :-
स्वतन्त्र सहित्यको पक्षमा हुनुहुन्छ कि तपाईँ कुनै परिभाषाको खेमा मन पराउनु हुन्छ ?
सुमन पोखरेल :–
म कुनै खेमामा बाँधिन चाहन्नँ । लेखक, कविका रुपमा म एक स्वतन्त्र लेखक हुँ र व्यक्तिमा म एक स्वतन्त्र नागरिक । मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो, म कुनै खेमामा बाँधिएर पराधिन हुन चाहन्नँ ।
साहित्य स्वतन्त्र रहुन्जेल नै सवल रहने रहेछ, खेमा समातेपछि साहित्य साहित्य नभएर नारा हुने जोखिम हुँदोरहेछ । विश्वभरि यही देखिएको छ । ओक्टाभियो पाजले खेमाको एउटा खुडि्कलामा बसेर लेखेका कविताभन्दा त्यहाँबाट उक्लिएर लेखेका कविताहरूले नै उनलाई कवि भनेर चिनायो । साहिर लुधियानवीले खेमाको ओडारबाट लेखुन्जेल पर्चा मात्र लेखे त्यहाँबाट निस्केपछि कवि भए । पाब्लो नेरुदा, नाजिम हिकमत, ल्याङ्ग्स्टन ह्यूज, भूपि शेरचन वा फैज अहमद फैजहरूले पनि बन्द अवस्थामा वा बन्दी भएर स्वतन्त्रता, न्याय, प्रेम र जीवनका पक्षमा लेखेका साहित्य भए, मुक्त भएर खेमाको फलैँचामा बसेर लेखेका केवल पर्चा भए । यसरी हेर्दा, कुनै पनि लेखन जीवन र जगतको पक्षमा लेखुन्जेल, न्यायका पक्षमा लेखुन्जेल मात्र साहित्य रहने रहेछ ।
कुनै खेमाको गोडा समाएपछि त्यसले गरेका अन्याय, अनियमितता र जेसुकैको पनि पक्षमा लेखिन थाल्दोरहेछ र साहित्यको रूप विकृत भएर बिस्तारै नारामा परिणत हुन थाल्दोरहेछ ।
मोनालिया :-
खेमामा आबद्ध भएर लेख्नेहरूलाई के भन्नु हुन्छ त ?
सुमन पोखरेल :–
बन्द परिवेशमा सम्पूर्ण मानवजातीको स्वतन्त्रता र न्यायका लागि लेख्नु, युगको अत्यन्त सङ्कटग्रस्त विन्दुमा धर्तीको रक्षाका लागि लेख्नु र खुल्लामा एउटा पक्ष विशेषसँग टाँसिएर आफ्ना स्वार्थका लागि लेख्नु अलग कुरा हुन् । तर खेमामा बाँधिएर लेख्नेहरूसँग मेरो कुनै विमति भने छैन, जीवन सबैले आफूले सजिलो ठानेका ठाउँबाट बाँच्न पाउनु पर्छ । आखिर, लेख्नलाई पनि पहिले त बाँच्नु पर्यो नि ! जो स्वतन्त्र भएर बाँच्नै जान्दैन वा सक्दैन, अथवा जो कसैको अधिनमा रहन चाहन्छ, त्यसले खेमाको शरणमा पस्नु अपरिहार्य हुन्छ । र राजनीतिले धुजाधुजा पारेको यस मुलुकको वर्तमानमा स्वतन्त्र भएर बाँच्न निक्कै कठीन पनि छ । यसमा पनि लेखक भएपछि स्वार्थवस् कुनै खेमातिर जानु र कुनै खेमामा तद्अनुरूपको कुनै विशेष भूमिकामा रहेर लेखक पनि हुनु फरकफरक अवस्था हुन् ।
मोनालिया :-
राज्यले साहित्यप्रतिको दायित्व कत्तिको निर्वाह गरेको ठान्नुहुन्छ ?
सुमन पोखरेल :–
राज्य, जनताजस्ता शब्दहरूका बारेमा म विगत दशबार्ह वर्षदेखि सोचमग्न छु । को हो यो राज्य भनेको ? वा जनता भनेको ?
हामी विविध किसिमले काम नलाग्ने भइसकेका छौँ, जस्तो लाग्दछ मलाई कहिले काहीँ । र आफ्ना कमजोरीमा पनि राज्य वा सरकार वा सम्बन्धित निकाय जे छ अगाडि, त्यसैलाई दोष लागाउँछौँ र त्यसैलाई गाली गर्छौँ । किनभने त्यसले हत्पत मुख फर्काउँदैन ।
हुन त राज्यले आफ्नो दायित्व कतै पनि निर्वाह गरेको छैन । यहाँ सुतिरहेको नागरिकको ज्यानको सुरक्षा छैन, केटाकेटीका सपनाको सुरक्षा छैन, आँखाहरू उज्यालाबाट वञ्चित छन्, तिर्खाले पानी खान पाउँदैन, यात्राहरूका गोडा बाँधिएका छन्... अनेकौँ छन् यस्ता कुरा । मानव विकास प्रतिवेदन हेर्नुहोस् न !
यस्तो मुलुकमा कला, साहित्यको के कुरा गर्नु ? यहाँ बाँचीबाँची कविता लेख्न सकिँदैन । मैले अघिनै पनि भनेँ, त्यो अवस्था आउन अझै पच्चिस–तीस वर्ष लाग्छ, कम्तिमा । हामीले कविता कि त बाँच्न छोडेर लेख्नुपर्छ कि त बाँचिसकेर लेख्नुपर्छ । यस्तो स्थितिमा राज्यले के नै गरोस् र ? नागरिकलाई शिक्षित बनाउने हो; शिक्षामा, स्वास्थ्यमा काम गर्ने हो, गरिरहेकै छ ।
राज्यले एकेडेमी बनाइदिएको छ । खर्च धान्दिएको छ । गरेकै छ । तर त्यहाँ पुग्ने त व्यक्तिहरू, कविसाहित्यकारहरू हुन् नि; तपाईँ हामी हौँ नि ! के हामीहरू आफ्नो दायित्व निर्वाह गर्दैछौँ ? यसरी मुलुकको समष्टिगत रूप हेर्दै आफूसम्म आइपुग्दा राज्यले साहित्यलाई विशेषरूपमा वा दुराग्रह राखेरै अपहेलना गरेको जस्तो देखिँदैन । जेजति गरेको वा नगरेको छ, त्यसको कारण असक्षमता हो , नियत हैन; जस्तो लाग्दछ । अब, असक्षमता दोष हो वा हैन, त्यो अर्कै कुरो हो ।
मोनालिया :-
अन्त्यमा मानवीयता केन्द्रित तपाईँको कविताको एक प्रश्न तपाईँलाई नै – जीवनले मायाको सिर्जना गर्छ कि, मायाले जीवनको ?
सुमन पोखरेल :–
यो त मेरै प्रश्न हो नि ! यसका बारेमा त तपार्इँले मलाई ब्याख्या गरिदिनु हुन्छ कि भन्ने आश थियो । उल्टै मैतिर पो आयो त यो !
मलाई दुबैले एकआपसको सिर्जना गर्दछन् जस्तो लागेर यो लेखेको हुँ । जीवन अस्तित्वमा आउँछ र मायाको सिर्जना गर्दछ । र फेरि मायाबिना जीवन हुर्कनै सक्दैन । अनि जीवन नै हो कि हैन जसरी बाँचिरहेको जीवनमा माया प्रवेश गर्दछ र प्ररूप मात्रको जीवनमा साँच्चैको जीवन भरिदिन्छ । यस्तो लागेकाले मैले त्यो अभिव्यक्त गरेको हुन सक्छ ।
मोनालिया :-
आफ्नो साधनाको समय हामीलाई दिनुभएकोमा धन्यवाद ।
सुमन पोखरेल :–
यहाँहरूलाई पनि धेरैधेरै धन्यवाद ।
(साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया'सँग सुमन पोखरेलको अन्तर्वार्ता)
Related Posts
See Allआदरणीय सभाध्यक्षज्यू, सम्मानीय उपराष्ट्रपतिज्यू, मञ्चासिन मान्यजनहरू एवम् उपस्थित समस्त विद्वत्जनमा हार्दिक नमन गर्दछु । यसबेला यहाँ...
कविताका फैलाहटका सबै अवयवहरूसम्म पुग्न निकै ठूलो चुनौती पार गर्नु पर्ने हुन्छ । गहन विम्वात्मक अभिव्यक्तिहरूलाई अनेक भाष्यहरूले पनि...