मन्तव्य- ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार समर्पण समारोह / सुमन पोखरेल
आदरणीय सभाध्यक्षज्यू, सम्मानीय उपराष्ट्रपतिज्यू, मञ्चासिन मान्यजनहरू एवम् उपस्थित समस्त विद्वत्जनमा
हार्दिक नमन गर्दछु ।
यसबेला यहाँ मन्तव्य राख्न मलाई निकै असहज लागिरहेछ । मलाई यहाँ हुनमा अत्यन्त गौरव लागेको छ, तर मन्तव्य राख्नका लागि भने असहज लाग्नु पर्ने अनेक कारणहरू भएझैँ लागिरहेछ । तर ती कारण केके हुन् भन्ने थाह पाउन सकिरहेको छुइनँ । र यो ‘थाह नपाउनु’ नै यसबेला असहजताको प्रमुख कारण रहेको हो कि भन्ने लागिरहेछ ।
म अक्सर सोच्ने गर्दछु; देवकोटा यतिबेला हामीसँगै भएका भए के उनी अहिले पनि मञ्चहरूमा ‘प्रभू मलाई भेडो बनाऊ’, नै सुनाइरहेका हुने थिए वा ‘हैन, अब त सब ठीक भयो प्रभू; मलाई मान्छे नै बनाइराख’ भन्ने थिए । भूपी अहिले पनि त्यही ‘हामी’ सुनाउँदै हिँड्ने थिए वा ‘अब हामी बुद्दू छैनौँ’ भनेर अर्को हामी लेख्ने थिए ? के रिमाल अझै ‘त्यो आउनेछ’ भनिरहने थिए वा ‘अब भने त्यो आइसक्यो, अब कोही पनि नरुनू’, भन्ने थिए ?
हामी निरन्तर, अविश्रान्तरूपमा भनिरहेछौँ – देश बनाउनुपर्छ, मानिसका दुःख मेटिनुपर्छ, मेटाउनुपर्छ । हामी कविताहरूमा भनिरहेछौँ, चित्र र नाटकहरूमा भनिरहेछौँ, र कहिले काहीँ त गोष्ठी, सेमिनार र भाषणहरूमा पनि अनेक शब्द र स्वरमा भनिरहेछौँ- मानिसहरूले अब मानिस हुन पाउनुपर्छ, मान्छेहरू अब मान्छे बन्नुपर्छ ।
हामी भनिरहेछौँ, लेखिरहेछौँ, देखाइरहेछौँ- ‘मुलुक बन्नुपर्छ’; र मुलुक केही बनेको पनि छ । ‘मानिस भत्किनु हुँदैन्’ र केही मानिस सग्लिरहेका पनि छौँ, अग्लिरहेका पनि छौँ ।
तर, समष्टीगत हेर्दा मुलुक जताजतै भत्किरहेकै अनुभव हुन्छ, मान्छे जोसुकै दुखिरहेकै अनुभूत हुन्छ । र सोच्दछु- हामीले, हामी सबैले; निरन्तर, अविश्रान्त एकनासले भनिरहँदा पनि किन देश भत्की नै रहन्छ, बन्दैन ? किन मान्छे दुःखी नै रहन्छ, बिसेक हुँदैन ?
के हामी हाम्रा वाणी र शब्दहरूले दुःख पाएकाहरूलाई उत्थान गर्ने कुरा गर्छौँ, र त्यहाँबाट निस्कने बित्तिकै तिनैका चोटहरूमा पीडा थप्न थाल्छौँ ?
मेरा मनमा साह्रै नै काम नलाग्ने, साह्रै नै झिना, साह्रै नै मसिना प्रश्नहरू आउँछन्, आइबस्छन् । भूँइचालो, बाढी वा आँधी आउँदा एकथरी हामी किन यति धेरै खुसी भएका ? पुलिसले नदेख्दा किन हामीले ठीकसँग पार्किङ नगरेका ? हामी लेख्नेहरू र भाषा पढाउनेहरूले किन शुद्ध लेख्न नजानेका ? हामी देश बनाउँछु भन्नेहरूले किन मान्छे हिँड्ने बाटो थुनेर कार्यक्रम गरेका ? हामी किन हुनुनपर्ने काम गराइमाग्न कै लागि मात्र शक्तिकेन्द्र धाउने गरेका ? सोधपूछका कर्मचारीले किन फोन नउठाएका ? अनन्त छन्, मेरो मनले मलाई सोधिबस्ने झिना, मसिना काम नलाग्ने प्रश्नहरू ।
दोष लाग्ने कुरोजस्तो लागेपछि मैले ‘म’ नभनेर किन ‘हामी’ भनेको ?
क्षमा चाहन्छु, मैले अघि हामी भनेको हामी हैनौँ, त्यो म नै हुँ । के म कविताहरूमा र मानिसहरूको बीचमा आदर्शका कुरा गर्छु र एक्लै हुँदा अपराध मात्र सोचिरहन्छु?के म बोलीले असल कुरा र कर्मले खराब काम गर्छु ? म बेइमान भएकोले यसो गर्छु वा मूर्ख भएकोले आफूले बोलेजस्तो गर्ने ढङ्ग पुर्याउँदिनँ ? आफूले भनेको जस्तो नगर्नुमा यी दुईबाहेक अर्को कारण देख्दिनँ म ।
निष्कर्षमा- म या त बेइमान छु, या त मूर्ख ।
तर असल कुरा पनि छन् । म मेरा यी दुबै अवगुणलाई कम गर्नका लागि निरन्तर प्रयत्नशील छु । यस ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारले, यहाँहरूको आजको यस सानिध्यले यिनलाई थप कम गर्नका लागि उल्लेख्यरूपमा सहयोग पुर्याएको छ भन्नेमा विश्वास दिलाउन चाहन्छु ।
मेरा विविधरूपका कविताकर्म मैले अर्को मान्छेमा चाहेको असल गुण आफू पनि प्राप्त गर्नका लागि गरेको प्रयत्न हो । साहित्य र कलाले मान्छेमा करूणाभाव बढाउँछन् भन्ने मेरो विश्वास छ । अझ खुसीको कुरो, मैले धेरै असल मान्छेहरू देखेको छु । पढ्ने, लेख्ने; र लेखन र लेखकका पिठ्युँमा धाप मार्ने कार्यक्रमहरूमा मलाई खुसी लाग्छ । आज म अत्यन्त खुसी छु ।
अन्त्यमा, कलासाहित्यको उत्थान र उन्नयनमा सम्पूर्णरूपमा समर्पित भएर अनवरत कर्म गरिरहेको नेपाली कलासाहित्य डट कम प्रतिष्ठान र यसका अध्यक्ष कवि मोमिलाप्रति पुनः हार्दिक स्नेहाभार प्रकट गर्दछु । आज पुरस्कृत र सम्नानित अग्रज दाजुहरू र साथीहरूलाई मनभरिको बधाई तथा शुभकामना दिन चाहन्छु । धैर्यले यतिञ्जेल मेरा कुरा सुनिदिनुहुने यहाँहरू सम्पूर्णप्रति हृदयतः आभार व्यक्त गर्दछु ।
धन्यवाद
सुमन पोखरेल
Related Posts
See All[साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया' (साउन -असोज २०६७) सँग कवि सुमन पोखरेलको अन्तर्वार्ता] ..............................................
कविताका फैलाहटका सबै अवयवहरूसम्म पुग्न निकै ठूलो चुनौती पार गर्नु पर्ने हुन्छ । गहन विम्वात्मक अभिव्यक्तिहरूलाई अनेक भाष्यहरूले पनि...