top of page

नदीजस्तै गुरुकुल


संस्थाहरू पनि कोही नहरजस्ता हुदाँ रहेछन् र कोही नदीजस्ता । औपचारिकताले बाँधेर बाटो निश्चित पारिएका राज्यद्वारा सञ्चालित एकेडेमीजस्ता संस्थाहरू नहरजस्ता लाग्छन्। कुनै एक ब्यक्ति वा केही सामुहिक ब्यक्तिहरूको सनकबाट जन्मिएका र स्वच्छन्दरूपमा गतिशिल भएका संस्थाहरूले नदीको झैँ विशेषता देखाउने गरेको देखेको छु ।

यस्तै नदीजस्तै जन्मिएर नदिजस्तै बहिरहेको एउटा संस्था हो – आरोहण गुरुकुल । नदीजस्तै भएकोले यो अरू जस्तैजस्तै भएर पनि कोही जस्तो छैन ।जसरी सबै नदी उस्तै हुन्छन् र कुनै पनि अर्को कुनैजस्ता हुँदैनन् । सिर्जना र निर्माणमा मूल फरक नै यही रहेछ । नहर अरूले बनाइदिएको बाटोमा हिँड्छ, नदी आफैँ बाटो बनाउँछ र आफ्नै बाटामा हिँड्छ ।

नेपालमा मूल फुटी आफ्नो सामर्थ्य र सौन्दर्यसहित विश्वका विभिन्न मुलुकसम्म बग्न सफल भएको एउटा नदीसंस्था हो - आरोहण गुरुकुल ।काठमान्डू टेकेर काठमान्डू छिचोल्दै देशहरूका राजनैतिक सिमाना भत्काउँदै अनेक मुलुकमा नाट्यसिञ्चन गरिरहेको आरोहण गुरुकुलले आफ्नो मूल फुटेको ठाउँ विराटनगरमा नाटकघर निर्माण गरी मुलुकभित्र पनि आफूलाई विस्तार गरेको छ।

विराटनगरमा आफ्नै थिएटरमा नाटक महोत्सवको आयोजना गरेर आरोहण गुरुकुलले पूर्वका दर्शकहरूको सुसुप्त रहेको संवेदनलाई जाग्रत गराएको छ । गुरुकुलको यो उपस्थितिमा नाटक प्रतिको अनन्य सम्मोहनका बाबजुद यसबाट विमुखप्राय: भएको विराटनगरलगायतको ठूलो जनसङ्ख्या एक किसिमले झङ्कृत भइरह्यो। जीवनलाई विविध तवरले हिँडाइरहेका नागरिकहरूमा एकप्रकारको मधुर उत्तेजना सलबालाइरह्यो । सधैँ बेथितिका खबरहरू छापेर आजीत भएका स्थानीय पत्रिकाहरूले नाटक महोत्सवभरि आफ्नो पत्रिकाको कमसेकम एक अंशलाई उज्यालो पारिरहे ।

अरूलाई जेसुकै लागोस् वा यथार्थ जेसुकै होस्, मलाई भने के लाग्छ भने; आरोहण गुरुकुल आज जेजस्तो अवस्थामा छ वा पुगेको छ, त्यो सुनील पोखरेलको सनक र त्यस सनकलाई साथ दिने समूहका कारण पुगेको छ। विश्वभरिका हरेक ठूला उपलब्धीहरू यस्तै कुनै सिर्जनशिल सनकका कारण सम्भव भएका छन् । त्यसैले मलाई सनक शब्द ज्यादै प्रिय लाग्छ, ज्यादै सकारात्मक लाग्छ ।

आरोहण गुरुकुलले गरेका सत्प्रयासहरू र यसका सङ्घर्षका कथा तथा उपलब्धिहरूका बारेमा धेरैले धेरै ठाउँमा भनिसकेका छन्। केही त यहीँ मेरा दायाँबायाँ पनि लेखिएका होलान् नै। त्यसैले मलाई ती कुराहरू दोहोर्‍याउने खासै रहर भएन, अहिलेलाई ।

विराटनगरमा भएको नाटक महोत्सवभरि म विभिन्न तवरले सहभागी भइरहेँ। कहिले दर्शक भएर, कहिले छेउमा उभिएर, कहिले एउटा लेखकझैँ, कहिले कविझैँ र कहिले म आफैँ जसरी। त्यस दौरान मनमा कतिपय तरङ्गहरू कुदिरहे। मानसमा कैयन तर्कहरूले हिर्काइरहे ।

विराटनगरमा आरोहण गुरुकुल नाटकघर र आवस्यक अवयवहरू सहित आफ्नै जग्गामा उभिएको छ । यस नाटकघरलाई यसले आफ्नो पूर्वको केन्द्र भनेको छ। त्यसकारणले समेत गर्दा यसका वृहत्तर अवसरहरूका साथै केही स्पस्ट गरी देखिने खालका र केही धमिलोधमिलो रूपमा चल्मलाउने चुनौतिहरू देखापरिरहेका छन्। धेरै छन् चुनौतिहरू, र चुनौति हुनै पर्छ पनि । नत्र केलाई ताकेर युद्ध गर्नू ?अहिले भने मैले देखेका तीनवटाजति चुनौतिका वारेमा केही भन्नु उपयुक्त नै होला भन्ने लागेको छ।

अरोहण गुरुकुल काठमान्डूमा रहुन्जेल काठमान्डू उपत्यकाको गुरुकुल थियो। त्यो झुरुप्प परेर बसेको सानो क्षेत्रफलभित्रको ठूलो जनसङ्ख्याको गुरुकुल थियो । त्यसैले त्यो काठमान्डूका नरनारीहरू अथवा कतै केही कामले झुक्किएर काठमान्डू पुगेका अकाठमान्डूका नाट्यकर्मीहरु, लेखकहरू, कविहरू र नागरिकहरूको गुरुकुल थियो । अब विराटनगरमा पूर्वाञ्चल केन्द्र भएर सशरीर उपस्थित भएपछि यो ओलाङ्चुङ् गोलादेखि केचनासम्म र माडरदेखि मानेभञ्ज्याङ्सम्मका तमाम नागरिकहरूको साझा केन्द्र भएको छ। यसक्षेत्रमा विभिन्न समूहहरू न्यूक्लियर रूपमा रहेर नाटक मञ्चन गरी आ-आफ्नै तवरले कृयाशिल रहिआएका छन् । त्यस्ता अनेकन् समूहहरूको व्यापकीकरण एवम् विस्तार गर्नका लागि गुरुकुलले के कस्ता अवसरहरू के कसरी प्रदान गर्ने, साथै यस क्षेत्रभरिका नरनारीहरूलाई कसरी थिएटर नाटकका दर्शक बनाउने अथवा यी सबैबाट अलग्ग रहने भन्नेमा गुरुकुलले आफ्नो भूमिका स्पस्ट गर्नु पर्ने देखिन्छ ।

अर्को कुरा, अघि नै भनेजस्तो नदीजस्तो भएर बगेको सनकलाई ब्यवस्थित गर्नु पर्ने देखिन्छ । त्यसका लागि कुनै पनि निर्णय गर्दा सबै उपलब्ध भई तुरुन्त बसेर निर्णय गर्न सकिने अवस्था रहेन अब, काठमान्डूमा मात्र हुँदाको जस्तो । त्यसैले गुरुकुलले स्ट्राटेजी, पोलिसी, गाइडलाइन, नियम, विनियम आदीका माध्यमले आफ्ना कृयाकलापहरूलाई निर्देशित तथा व्यवस्थित गर्नु पर्ने हुन्छ, ता कि, विराटनगर गुरुकुलले कुनै निर्णय गर्नु पर्दा तिनीहरूमा आधारित भएर गर्न सकोस् । तर यसले नदीलाई नहर बनाइदिने जोखिम पनि उत्तिकै रहन्छ। यसले नदीलाई नहर नबनाई भँगालो फाट्नबाट जोगाउने, पाखा हान्न नदिने गरी आफ्नै बाटामा आफूनै जसरी बगिरहने नदी मै कायम राख्न सक्नु पर्ने हुन्छ, सनकलाई विद्यमान राखेर । सनक नै सकियो भने, फेरि केही काम हुने छैन । सनक सकियो भने गुरुकुल हुनु र नहुनुको केही अर्थ रहने छैन, सनक विनाका सरकारी निकायको कुनै कमी छैन हामीकहाँ ।

यस्तै गरी विराटनगर गुरुकुलले काठमान्डू गुरुकुललाई फलसहितको ठूलो रूखको रूपमा निरीह आँखाले हेरिरहेर त्यहाँबाट कुन चाहिँ फल कतिखेर झर्ला भनेर हेर्नु भन्दा आफ्नै सकृयतामा यतैका स्थानीय कलाकारहरूका साथ यतैका जनजीवनमा आधारित नाटकहरू मञ्चन गर्न सुरु गर्नु आवस्यक देखिन्छ।

कुराहरू गर्दै जाँदा धेरै हुन सक्छन्। अहिले नै धेरै कुरा गर्ने बेला भई पनि सकेको छैन जस्तो पनि लागिरहेकै छ । मुख्य कुरा गुरुकुल विराटनगरसम्म पनि आएको छ – विराटनगरमा गुरुकुलको आफ्नै जग्गामा सम्पूर्ण सुविधासम्पन्न नाटकघर छ। अब यसले आफैँले जगाएको नागरिकहरूको संवेदना कायम राख्न सकोस्, नागरिकहरूको नाटकप्रतिको उत्तेजना र चासोलाई सम्बोधन गर्न सकोस् । गुरुकुल विराटनगर, पूर्वाञ्चलका नरनारीहरूले जीवनका अनेक रङहरूको बहाव हेर्न सक्ने अविछिन्न नदी भएर बगिरहन सकोस् ।

Related Posts

See All

मन्तव्य- ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार समर्पण समारोह / सुमन पोखरेल

आदरणीय सभाध्यक्षज्यू, सम्मानीय उपराष्ट्रपतिज्यू, मञ्चासिन मान्यजनहरू एवम् उपस्थित समस्त विद्वत्‌जनमा हार्दिक नमन गर्दछु । यसबेला यहाँ...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page