top of page

नीलो सिमाना कवितासङ्ग्रहको प्रकाशकीय


नीलो सिमाना सबिता गौतम दाहाल

कविता मान्छेले लेख्न सक्दैन, कविता लेख्न कवि नै हुनुपर्दछ । मान्छेले कविता लेख्न खोज्यो भने अकविता मात्र लेखिन्छ, त्यसलार्इ पचास जुगसम्म पोको पारेर राखे पनि त्यो कसैगरी कविता बन्न सक्दैन ।

कवि सँधै कवि रहिरहँदैन र सक्दैन पनि । आम मान्छे नै विशेष अवस्थामा कवि हुने गर्दछ, अथवा कवि ज्यादाजसो समय आम मान्छे भएर बाँचेको हुन्छ । मान्छे कवि भएको विशेष अवस्थाको अनुभूतिजन्य भावलार्इ कल्पनाशिलता तथा शब्दसामर्थ्यको ओजले कलात्मकरूपमा गरिएको विम्बात्मक सम्प्रेषण नै कविता हो ।

हरेक व्यक्ति जीवनका विभिन्न विशेष अवस्थामा छिनछिनको लागि कवि भइरहन्छ । अभ्यासले प्राप्त सामर्थ्यले जसले लेख्दछ र लेखिरहन्छ त्यो यथार्थमा कवि हुन्छ, जो लेख्दैन वा लेख्न सक्दैन त्यो आम मान्छे भएर रहन्छ । कविताले छुने त्यही विशेष अवस्थाको आम मान्छेलार्इ हो । वास्तविक कविताले आम मान्छेलार्इ विशेष अवस्थामा पुर्याउँदछ र विशेष अवस्थामा पुगेको त्यही आम मान्छेलार्इ कविता मनपर्छ । कविता पढ्‍दा वा सुन्दा मान्छे अर्को ठाउँमा पुग्न नसकी जहाँको तहीँ टाँसिइरह्यो भने मान्छेले कविता मन पराउँदैन । साथै कवितासँगसँगै दौडिन सकेन भने पनि बुझ्दैन र मन पराउँदैन । यी दुर्इबीचको सन्तुलन कायम रहेका कवितालार्इ नै वास्तविक कविता भन्ने चलन रहेको छ । किनभने कविता मनपर्न कविताले पाठकको घैँटामा घाम लगाउनु पर्छ । त्यसका लागि कविले कविताको घाम पाठकको घैँटाको मुखमा सिधा पर्ने गरी देखाउनु पर्ने हुन्छ, नत्रभने घैँटो बाङ्गो भएको दोष पनि कविले नै ब्यहोर्नु पर्छ ।

सबिता गौतम दाहालको यस सङ्‍ग्रहभित्रका कविताहरु सबैजसोमा कतै न कतै कविको प्रवेश भएको छ । कुनै कविता पुरै कविले लेखेका छन्‌ भने केहीमा कतैकतै मान्छेले हस्तक्षेप गरेको देखिन्छ । कतै कवि ढलपलढलपल गर्दै अब लड्‍यो तब लड्‍यो जस्तो भएका ठाउँमा पनि सबिताले सामर्थ्यका साथ सहजरूपमा हिँडाएकी छन्‌ । अर्कातर्फ भवनाको उडान र सम्प्रेषणीयताका बीचको तूलो कहिले एकातिर कहिले अर्कातिर गह्रौँ हुन खोज्दाखोज्दै पनि उनले कुशलताका साथ अपेक्षित स्थानमा अड्‍याइराखेर पाठकलार्इ सहज बनाइदिएकी छन्‌ ।

हामीलार्इ थाह भएसम्म कवयित्रीको यो पहिलो सङ्‍ग्रह हो । धेरै पहिलेदेखि लेखिरहेकी तर नदेखिएकी एउटी सर्जकलार्इ आफ्नो प्रकाशन मार्फत् पाठक सामू ल्याउन पाउँदा वाणी प्रकाशनले हर्ष अनुभूत गरेको छ । यो सङ्‍ग्रह प्रकाशन गर्न अवसर दिएकामा वाणी प्रकाशनको तर्फबाट कवयित्रीलार्इ धन्यवाद दिन चाहन्छु ।

सबितालाई कविताको यस सङ्‍ग्रहको सफलताको धेरै धेरै शुभकामना ।

-सुमन पोखरेल

......................................................................................................................................................

सबिता गौतम दाहालको कवितासङ्ग्रह 'नीलो सिमाना -२०६७'का लागि वाणी प्रकाशनका तर्फबाट प्रकाशकीय

Related Posts

See All

मन्तव्य- ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार समर्पण समारोह / सुमन पोखरेल

आदरणीय सभाध्यक्षज्यू, सम्मानीय उपराष्ट्रपतिज्यू, मञ्चासिन मान्यजनहरू एवम् उपस्थित समस्त विद्वत्‌जनमा हार्दिक नमन गर्दछु । यसबेला यहाँ...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page