टेगोरकै सङ्गीतमा गाउन मिल्ने संरचना
विश्वकवि रविन्द्रनाथ टेगोरका केही रचनाहरूको यसअघि पनि नेपालीमा अनुवाद नभएको हैन, तर मैले अलकानन्दा सेनगुप्ताद्वारा अनुदित यस पुस्तकमा समाविष्ट गीतहरूका मूलभूतरूपमा दुईवटा विषेशता पाएँ ।
सहित्यिक कृतिको शब्दगत वा भाषागत रूपमा अनुवाद गरेर मूल रचनामा स्रष्टाले के भन्न खोजेको छ भनेर (कथ्य) देखाउन त्यति गार्हो नहोला तर कसरी भनेको छ भनेर (शिल्प) अनुवाद गर्नु अत्यन्त चुनौतिपूर्ण कार्य हो । अर्कोतिर साहित्यमा के भनिएको छ भन्ने जत्तिकै र अझ भनौँ धेरैजसो त त्योभन्दा पनि अधिक महत्व कसरी भनिएको छ भन्ने कुराले राख्दछ । यस उसले मूल भाषामै गरिएको व्याख्यासमेतले पूर्णता प्राप्त गर्न नसक्ने हुँदा साहित्यको शतप्रतिशतले अनुवाद हुन सक्दैन भन्ने मेरो मान्यता रही आएको छ । रचनामा प्रयुक्त बिम्ब लेखिएको भाषासँग सँगसँगै विकशित हुँदै आएको संस्कृतिमा जोडिएर, बाटिएर, एकाकार भएर आएको हुने हुनाले कुनै पनि साहित्यिक सिर्जनालाई बुझ्नका लागि रचिएको मूलभाषाको यथेष्ट ज्ञान लिई सोही भाषामा नै अध्ययन गर्नु आवश्यक हुन्छ ।
यस पुस्तकको मैले देखेको एउटा विशेषता यही हो कि, मलाई थाह भएसम्म टेगोरका रचनाहरूलाई नेपालीमा रूपान्तरण गर्ने यसअघिका अनुवादकहरू मूलरूपमा नेपालीभाषी भएर पछि अन्य भाषाको अध्ययन गरी बङ्गाली, वा अङ्ग्रेजी वा हिन्दीसमेतबाट नेपालीमा अनुवाद गर्नेहरू हुनुहुन्थ्यो भने प्रस्तुत पुस्तकका अनुवादक मातृभाषा बङ्गाली भई पछि नेपाली सिकेर बङ्गालीबाट सिधै नेपालीमा अनुवाद गर्नेहरूमा पर्नुहुन्छ । त्यसकारण यो अनुवाद यसअघि गरिएकाहरूभन्दा केही भिन्न भएको हुनुपर्दछ ।
विश्वकवि टेगोरले आफ्ना करिव पच्चिस सय रचनाहरूलाई सङ्गीतबद्ध गर्नु भएको थियो भन्ने धेरैलाई थाह भएकै हो । यस पुस्तकका अनुवादक एक परिपक्व सङ्गीतमर्मज्ञ हुनका साथसाथै रविन्द्रसङ्गीतका विद्यार्थी रहिसक्नु भएकैले हो भन्ने लाग्दछ, यहाँ अन्तर्भूत अधिकांश गीतहरू टेगोरकै सङ्गीतमा गाउन मिल्ने संरचनामा अनुदित छन् । यो मैले देखेको यस सङ्ग्रहको अर्को विशेषता हो ।
पुस्तक प्रकाशनपछि यस पुस्तकमाथि हुने टीका-टिप्पणी, समीक्षा आदिले अलकनन्दा सेनगुप्तालाई विश्वकविका थप रचनाहरूका साथसाथै बङ्गाली भाषाका अन्य स्रष्टाहरूका कृतिहरूलाई पनि नेपालीमा रूपान्तरण गर्न उत्प्रेरित गर्नेछन् भन्ने शुभेच्छासहित पुस्तकको सफलताको कामना गर्दछु ।
- सुमन पोखरेल
....................................................................................................................................
( अलकनन्दा सेनगुप्ताद्वारा अनूदित पुस्तक "विश्वकवि टेगोरका प्रगीत- २०६०" को भूमिका )
Related Posts
See All[साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया' (साउन -असोज २०६७) सँग कवि सुमन पोखरेलको अन्तर्वार्ता] ..............................................
आदरणीय सभाध्यक्षज्यू, सम्मानीय उपराष्ट्रपतिज्यू, मञ्चासिन मान्यजनहरू एवम् उपस्थित समस्त विद्वत्जनमा हार्दिक नमन गर्दछु । यसबेला यहाँ...
कविताका फैलाहटका सबै अवयवहरूसम्म पुग्न निकै ठूलो चुनौती पार गर्नु पर्ने हुन्छ । गहन विम्वात्मक अभिव्यक्तिहरूलाई अनेक भाष्यहरूले पनि...