विपर्यास / सुमन पोखरेल
जलिरहेछ मानिसको सौन्दर्य,
उसकै भ्रमित वर्चस्व र स्वार्थी अनुहारमा,
थपिइरहेछ मनहरूमा कोलाहल
भरिइरहेछ विचारहरूमा विद्रोह।
उज्यालो उदाउन सकेन स्वतन्त्र नागरिकको बस्तीमा कहिल्यै
अस्ताउन दिएन कालो बारुदी धुवाँलार्इ बेथितीको मुस्लाले।
सौन्दर्यको गीत लेख्ने एक जमात हातहरू
विसङ्गतिका फेहरिस्तहरूमा खियाइरहेछन् औँलाहरूलार्इ
भग्न कलमका टुक्राहरूबाट उच्छिट्याइरहेछन् शान्त विद्रोहहरू
जोडिरहेछन् भत्किएका मनहरूलार्इ मोर्चाहरूमा,
भाग्दै गरेका संवेदनलार्इ अक्षरहरूमा उनेर।
हेरिरहेछन् भीडभन्दा बाहिर उभिएर निरन्तर
आफ्नो अस्तित्व फलाउनुपर्ने धर्तीमाथि मडारिइरहेका
टाउको बन्धक राखेका नर्तकहरू
र तेस्रो दर्जाका ठट्टाजस्ता तिनका बेढङ्गी नाङ्गा नाचहरू।
लामबद्ध भएर घोत्लिरहेछन् एक्लैएक्लै
र चुपचाप देखाइरहेछन् आफ्ना संवेदनशील अङ्गहरू
बन्दुकहरूका आदेशमा हात उठाएर।
सहिरहेछन् मुट छिचोलेर निस्किरहेका
हतियारभन्दा ज्यादा रोपिने अपमानका घातहरू।
निशब्द उठाइरहेछन् आफ्नै लासहरू
र जलाइरहेछन् आफ्ना स्वाभिमानहरू।
के सबै सिर्जना यस्तै हुन्छन् ?
के सबै सर्जकहरू
मजस्तै विचारमा विद्रोही र व्यवहारमा सम्झौतावादी हुन्छन् ?
....................................
मङ्सिर २०६१, विराटनगर
....................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...