लोडसेडिङ् / सुमन पोखरेल
समय
अँध्यारो बोकेर
धर्तीभरि पोखिएको छ।
जून गौरवान्वित छ
एक्काइसौँ शताब्दीको पृथ्वी टेकेर उभिएको एक सहरको रात
केवल आफ्नो उज्यालो ओढी बाँचेको देखेर।
जिस्काउँदो छ, बादलमा लुकेर घरिघरि
तल छामछाम छुमछुम गर्दै हिँडिरहेका आकृतिहरूलार्इ।
आकाश आफ्नो पछ्यौरीभरि तारा टल्काएर खिज्याउँदो छ
मास्तिर हेर्ने जो कोहीलार्इ।
यस युगको धर्तीप्रतिको यो उपेक्षा देखेर रिसाउनुपर्थ्यो मैले सायद।
तर म आनन्द लिइरहेछु, यो लोडसेडिङको।
यो अँध्यारो
मेरो देशको
भूत, वर्तमान र भविष्यभन्दा
ज्यादा स्पस्ट लागिरहेछ।
................................
जेठ २०६४, विराटनगर
................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...