रहर / सुमन पोखरेल
रहरहरू खेलिरहन्छन् निरन्तर।
म हेरिरहेछु,
नियतिदेखि अनभिज्ञ रहरहरू
स-साना केटाकेटीझैँ खेलिरहन्छन् मनभित्र।
खेल्दाखेल्दै
फुटाउँछन् मनमा भएका खेलौनाहरू ती
कोतर्छन् मनका भित्ताहरू ती
कोट्याउँछन् मनका पत्रहरू र धुजाधुजा पारेर फ्याँक्छन् ती।
थाह पाउँदैनन् रहरहरूले,
मान्छे
बाँचिरहेछ नाजुक जिन्दगीको अभावग्रस्त बँचाइ,
भत्कन हुँदैन भनेरै मात्र नभत्किएका
आशाका खण्डहरमाथि उभिएर भन्ने।
रहरहरू निर्वोध छन्, निर्भय छन् ।
चकचक गर्छन् मनको भीरमा
बेस्सरी हल्लाउँछन् मनको हाँगामा चढेर
मनको भाँच्चिएको टुक्राको घोडा चढ्छन्
उफ्रन्छन् मनै थर्काउने गरी कहिले
कहिले फुटाउँछन् मनको बिर्को र
छताछुल्ल पोखिदिन्छन् भावनाहरू।
रमाइलो लाग्छ,
रहरहरूले छरेका मनका टुक्रा बटुलेर जोडिरहन,
मेरी सानी छोरीले भत्काएका उसका खेलौनाहरू जोडेजस्तो।
मनपर्छ केटाकेटीजस्ता रहरहरू
र मलार्इ जीवनवोध गराउँदै
घरिघरि झस्क्याइरहने तिनका खेलहरू।
झुकेर सलाम गर्छु म रहरहरूलार्इ।
रहरहरू नआउनु हो खेल्न भने
मन पनि म जत्तिकै खालीखाली हुने थियो।
जीवन मेरा आँखाबाट
मलार्इ थाहै नदिर्इ कहिले भागिसकेको हुने थियो।
.....................................
मङ्सिर २०६१, विराटनगर
.....................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...