top of page

मध्यरात सडकमा / सुमन पोखरेल


मध्यरात सडकमा

आँखा मात्र बोकेर मोटरहरू

हल्लिरहेको हावाको पर्दा च्यात्दै

अँध्याराको सिरेटालाई खेदेझैँ गरिरहन्छन्।

दृष्टि हराएको झन्डा छेउछाउलाई हकार्दै

आफू झन्डा भएको खुसी मै मग्न नाचिरहन्छ।

ढोकाढोकामा उँघिरहेका पालेहरूलाई हप्काउँदै बतास्सिइरहेका

अर्द्ध-मलामी एम्बुलेन्सका एकोहोरो शङ्खघोषजस्तै चीत्कारमाथि

छ्याप्दछन् कर्कश आवाजका झोँक्काहरू

भुकाइ बोकेर ओल्लोचोक-पल्लोचोक दौडिरहेका मुखहरू।

सातो सकिएका रुखहरू आफ्नै पातका पर्दाभित्र छोपिएर

बाटाछेउबाट अँध्यारालाई टुलुटुलु हेरिरहन्छन्।

हुस्सुले लुटेको आफ्नो पराजित उज्यालाभरिको आभा पोखेर

नियालिरहन्छन् ल्याम्पपोस्टहरू,

तर पत्तो लगाउन सक्दैनन्

चोकचोकबाट हातखुट्टा पसारेर निदाइरहेको सडक

घोप्टो सुतिरहेछ वा उत्तानो।

अन्धकारले प्रेमलाई छेल्दैन भन्नेमा अनभिज्ञझैँ

पुतलीहरू बत्तीसँगको आदिम खेलमा व्यस्त रहन्छन् ।

घन्टाघर

पेन्डुलम हल्लाएर तल हिँडने साँढेलाई जिस्क्याइरहन्छ ।

साँढे

स्थितप्रज्ञ कुनै कविजसरी

सम्पूर्ण निस्पट्टतालाई निलेझैँ

निस्फिक्रि

बाटालाई पछाडि ठेलिरहन्छ।

रात हुँदैमा

सृष्टिको चित्रै च्यातिने त कहाँ रहेछ र!

तर

म उभेको धर्तीमा

सुदूर भविष्यको पल्लो पाखासम्म उज्यालो ब्यूँझने मेसो नदेखेर

मेरो मनभित्र भने

प्रलयअघिको ज्वालामुखीझैँ भयङ्कर त्रास

किन

यति बिध्न कहाली लाग्ने गरी दौडिरहन्छ?

................................

माघ २०६५, विराटनगर

................................

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page