top of page

भरिया / सुमन पोखरेल


थाप्लाभरिको अभावको नाम्लाले

उचालेर पिठ्यूँभरिका भोका पेटहरूको बोझ

अन्धकारजस्तै अनुहार बोकेका दिनहरूसँग

हिँडिरहेछ उकालाओरालाका जीवनजस्तै अप्ठ्यारा बाटाहरू।

शासकको मनजस्तै काला कठोर ढुङ्गाका चम्कामा

आफ्नै बैँसजस्तो निस्तो भात उमाल्छ

र मायालु कान्छीको म्वार्इजस्तै नून थपेर निल्दछ, घुटुक्क।

उसले कहिल्यै सोचेन

कि थाप्लाभरि सयौँको तृप्ति बोकेर

हिँडिरहेछ आफू भोको जीवन

सपनाहरूको पछिपछि

धाप मार्दै कर्मको निष्ठुर उपलब्धिलार्इ।

आज किन हो, उसलार्इ तर

सिरान लगाएको ढुङ्गो पनि नियतिजस्तै कठोर लागिरहेछ।

उसको संवेदनविहीन शरीरलार्इ छोर्इ भाग्दै गरेको बतास पनि

युगौँको निद्राबाट ब्यूँझाइदिने तिव्रताको चिसो लागिरहेछ।

आफूले कहिल्यै भोग्न नपाउने जीवनलाई

कल्पनामा निफन्दै निदाउन खोज्छ,

साँझजस्तै धमिलो र भाग्यजस्तै पातलो बर्कोले छोपेर आफूलार्इ।

मानौँ त्यो बर्काले उसका सबै अभावहरूलार्इ छोपिदिनेछ।

उसका तमाम खुसी र मुस्कान बोकेको भोलिलार्इ सम्झन्छ

आफैँसँग मुस्काउँछ र

कोल्टे फेरेर एउटा लामो सुस्केरालार्इ आँगालो हाल्दै

केवल रात कटाउनका लागि सुतिने सुताइ सुत्छ।

भोलि बाँच्ने आशामा ऊ यसरी नै प्रत्येक आज मरिरहेछ।

पुस्तौँ बितिसक्दा पनि, तर

आएन भोलि कहिल्यै।

..........................

जेठ २०५९, भोजपुर

..........................

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page