बिदा हुन्नँ / सुमन पोखरेल
मोह भयो यी मनहरू र यो माटाको
यी घर, यी भित्ताहरू र बाटाको।
समयको एउटा अंशलार्इ जीवनको छेउछेउबाटै बाँच्दाबाँच्दै
आँखाहरूमा केही सपनाहरू पनि बसिसकेछन्
मनमा केही मनहरू पनि पसिसकेछन्।
जीवन भन्ने बेग्लै त्यस्तो के नै रहेछ र!
मनले जे छोयो, त्यही हो छोएको
मनले जे भोग्यो, त्यही हो भोगेको
जेमा बाँच्यो मन त्यही हो बाँचेको।
फेरि कहिले होला यस्तो समय?
फेरि कहाँ देखिएलान् यी मुहारहरू?
फेरि कहाँ भेटिएलान् यी मनहरू?
यस्तो सामीप्यको मालाभित्र
फेरि कहाँ फुल्लान् यी स्नेहका फूलहरू?
उफ् !
यी मायाहरू फेरि कुन तलाउ तर्लान्?
यी सौहार्द्रका शीतल नदीहरू कहाँकहाँ बग्लान्?
विश्वासका यी पहाडहरू कहाँकहाँ अड्लान्!
आत्मीयताका यस्ता न्याना आश्रयहरूले कहाँसम्म देलान् ओत ?
र यसरी सुटुक्क लुकाउन सकियोस् दुखेको मन
नभाँच्चिने गरी,
जसरी लुकाउँछ चराले गुँडमा फुल।
म त जान्नँ कहीँ यहाँबाट,
छोडेर यी मनभन्दा धेरै मायाहरू।
तर्दिनँ यी कुलेसाहरू पनि!
आफू सिङ्गै अटाउने
यी हृदयहरूलार्इ चटक्कै छोडेर जान सक्दिनँ पनि म।
साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर,
बसिरहन्छु सँधै यिनै मनहरूमा टाँसिएर।
हुन्नँ बिदा म यहाँबाट कहिल्यै।
यो शरीरलार्इ त मैले तर,
जसरी भए पनि पठाउनै छ।
मङ्सिर २०५५, विराटनगर
आगाले भिजेको आकाश
म्वाइँका छापभन्दा धेरै गाढा
स्नेहको आभासका कोमलतम् स्पर्शहरू
मबाट अलग्गिएर गएका पनि हुन्
दुर्वोध कुनै पृष्ठभूमिभरि।
छरिएका ती मायाहरूलार्इ
नदेखेझैँ, देखेर पनि
नभेटेझैँ, भेटेर पनि
उद्वेगहरूलार्इ आँखामा आएका
पुछ्न खोजेको पनि हुँ
पुछेको पनि हुँ।
साँझको एउटा रुमानी र बैरागलाग्दो आकाशमुनि
मैले हेर्दाहेर्दै बाटाहरू आफ्नै सुरमा कतै गइरहे,
मैले भोग्दाभोग्दै क्षणहरू विक्षिप्त र निराश पनि भइरहे।
त्यस क्षणमा
केही सुस्केराहरू अन्यौलमा परिरहे।
यो बैँसमा
बैँस आउनु नै अपराधजस्तो
आँखाको अगाडि कुनै दृश्य देखिनु नै
आँखाको अभिशापजस्तो
जीवनभरि जीवन बाँच्नु नै कुनै श्रापजस्तो।
तर पनि मायाका ती तमाम आकाशहरू
मायाले भरिएकै थिए।
बैँसका ती अकूत क्षणहरू
बैँसले मातिएकै थिए।
मैले एउटा क्षण
फेरि पनि
आफ्नो लागि चाहिरहेको थिएँ।
मैले एउटा समयलार्इ फेरि पनि आफूजस्तै बाँचिरहेको थिएँ।
त्यस क्षण र
त्यस वरिपरिका केही क्षणहरूमा
भित्ताहरू भएर पनि थिएनन् मेरा लागि
जमिनहरू भएर पनि थिएनन् मेरा निम्ति
समयहरू भएर पनि थिएनन् मेरा खातिर
आगो बग्दै थियो
पसिनाहरू बाफिँदै थिए
आ-आफ्ना कामका लागि।
मेरा निम्ति थिएन केही पनि।
तमाम मायाहरू भिजिरहेथे आकाश बोकेर पछ्यौरीका सप्कामा।
बाटाहरू हिँडिरहेथे,
घरहरू हेरिरहेथे।
सबै
आ-आफ्ना दायित्व निभाइरहेथे।
आ-आफ्नो अस्तित्व खोजिरहेथे।
...................................
बैसाख २०५४, विराटनगर
..................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...