top of page

पिलो / सुमन पोखरेल


ढोका थुनेर छेकिँदैन,

अलार्म राखेर जोगिँदैन,

आउनु छ भने,

कुनै बाटो र पूर्वाभास विनै आउँछ

र राज्य जमाउँछ शरीरको कुनै अप्ठ्यारो ठाउँमा पिलाले।

मान्छेको पद र प्रतिष्ठालार्इ टेर्दैन

डराउँदैन कसैको गफ र धम्कीहरूबाट

हेर्दैन पिलाले शरीरको ढाँचा र बनावट

न त उमेर हेर्छ कहिल्यै।

पिलो आएपछि देख्दैन मान्छेले

रुखमा अम्बा पाकेको

देख्दैन कतै गोलभेँडा, ऐँसेलु र लिच्ची,

जताततै पिलै देख्छ।

न त कसैले आइसक्रिम वा आलुचा खाएकै देख्छ।

आफूलार्इ एकरत्ती मन नपरेको पिलालार्इ बोकिहिँड्‍नुपरेको मान्छेले

चिन्दैन आफ्नै अनुहार,

ऐना हेर्दा घाँटीमाथि केवल एउटा ठूलो पिलो देख्छ।

शरीरमा पिलो लिएर मिटिङ्मा बसेको मान्छेले

बुझ्दैन कुनै एजेन्डा,

पिलो उखेलेर फ्याँक्नु नै सबै एजेन्डाको निर्क्यौल देख्छ।

मान्छे बिर्सन्छ

उसका शरीरमा पिलोबाहेक अरू अङ्ग पनि छन्‍,

बिर्सन्छ, पिलो सँगसँगै ऊ पनि बाँचिरहेको छ।

पिलो केन्द्रबिन्दु बन्छ

मान्छेका रिस र गालीको,

काम, विचार र सम्पूर्ण सोचको ।

चाहिँदैन टीभीको रिमोट कन्ट्रोलर

खेलाउँदैन मान्छे सेलफोनका बटनहरू

उसलार्इ पिलो सुम्सुम्याउनमै आनन्द आउँछ।

पिलाले पिरोलेको क्षण

मान्छे जीवनकै सर्वाधिक ज्ञानी बन्छ, र

आफूलार्इ रुवाइरहेको शत्रुको

उत्तरोत्तर बृद्धिको कामना गर्दछ।

आएपछि

पिलो साँच्चै राजा नै हुन्छ एक अवधिभर।

तर पिलाको जरा मनसम्म पुगेको हुँदैन,

पिलाको टाउकाले मस्तिष्कलार्इ छोएको हुँदैन,

त्यसैले धेरै दिन टिक्दैन।

बेलैमा खिलैसम्म उखेलेर फ्याँक्नैपर्छ पिलालार्इ।

थोरै दिन भए पनि

रहुन्जेल त आखिर यसले

पिलैले दिने दु:ख दिएर छाड्‍छ !

..............................

भदौ २०६२ वीरगञ्ज

.............................

コメント


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page