top of page

ताजमहल र मेरो प्रेम / सुमन पोखरेल


.सारा यौवन

छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै

हिँडिरहेको हुँ ।

फक्राएर मनलाई

प्रेमको ओत बनाऊँ लागेकै हो।

अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा

निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,

कहिल्यै नमेटिने एक चित्र

हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।

उभिएर आज

यो ताजमहल अगाडि;

सूर्यकिरणको स्पर्शले लजाइरहेका सङ्गमरमरका मुस्कानहरू,

प्रेमको उचाइलाई छोएर मदहोस बतास्सिएका हावाका गुच्छाहरू,

परिक्रमरत द्रष्टाहरूका छातीभित्र गुन्जिरहेका प्रेमास्पद सङ्गीतहरू

आफ्नै मनभित्र छचल्किरहेका

रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर

म आफूलाई बिर्सिरहेको छु।

यस बेला म

शाहजहाँलाई सम्झिरहेको छु वा मुमताजलाई

वा सम्झिरहेछु आफैँलाई ?

भ्रमित छु

अचेत छु, आफ्नै छातीको फैलाहटले पुरिएर ।

शाहजहाँ,

जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो।

जसले चिहानलाई मन्दिर,

प्रेमिकालाई ईश्वर,

प्रेमलाई धर्म बनाइदियो ।

कम से कम दुई फरक त पक्कै छ हामीबीच

ऊ शहंशाह थियो,

म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने

ताजमहल बनाउन

प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।

...........................

चैत २०६५, आगरा

..........................

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा करैले, पूरा वा आधा सुन्नुहुने, अथवा सुन्दै नसुन्नुहुने शब्दहरूक

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page