top of page

ढाका / सुमन पोखरेल


ढाकाले आफ्ना आँखालार्इ

गरीबी ओच्छ्याएर ठडिएका अग्ला भवनका टल्किने झ्यालमा राखेर

तल फुटपाथतिर माग्दै हिँडेका हातहरूका स्वाभिमान र अधिकारतिर हेर्छ,

वा

च्यातिएका छानाबाट तारा र जूनजस्ता रहर हेर्ने

झुपरपट्टीका केटाकेटीका सपनामा ओच्छ्याएर

माथि आकाशतिर हेर्छ,

बुझ्न सकिनँ।

थाह पाइनँ मैले,

ढाकाले आफ्नो उपस्थितिलार्इ

आन्दोलित मजदुरको जुलुसमा पिल्सिएर मर्माहत ढलेको

घाइते बृद्धको च्यातिएको कमेजभित्र पाउँछ

वा

भवनको अनुपमेय वास्तुकलाले छोपिएर

तर्क, विरोध र दर्शनको बाढीमा डुबेको

संसदभित्र देख्छ।

टायर जलेको धुँवामा केके उडिरहेथ्यो ?

ट्राफिक जाममा रोकिएर समय कहाँकहाँ नपुगिरहेथ्यो ?

ठम्याउन सकिनँ मैले।

परिचित-अपरिचित पाइलाहरूको अव्यवस्थित भीड बोक्नमा व्यस्त सडक

जताततै ओच्छिएर

अझै कुनकुन उपद्रोको स्वागतको लागि प्रतीक्षारत थियो ?

छेउमा आउने मान्छेका अनुहारहरूलार्इ थरिथरिका नोटजस्तै देख्ने पसलहरू

कसकसको आगमनमा रुष्ट थिए?

आफ्नो फेदमा सुतेको सडकबालकलार्इ उज्यालो देखाएर

उभिइरहेको ल्याम्पपोस्ट

रातभरि के सोचिरहेको थियो?

जान्न सकिनँ।

साँझ सडकमा

मगन्ते भनिने भोका बालबालिका

जब फूलभन्दा कोमल हात पसारेर

आफ्ना बाल्यकालको मूल्यमा विश्वको भविष्य बेचिरहेथे,

कहाँ पुग्न त्यसरी अन्धवेगले दौडिरहेथे मोटरका कन्भोएहरू?

कुन उत्सवको खुसीयालीमा नाचिरहेथ्यो मोटरमा टाँगिएको झन्डा?

बुझ्न सकिनँ।

सोध्नु थियो मैले कसैलार्इ,

त्यो डेढ करोडको भीड बीचबाट

सायद, कसैले भनिदिन पनि सक्थ्यो।

तर सोधिनँ।

उभिएर निरन्तर हेरिरहँदा पनि चाल पाउन सकिनँ मैले

ढाका कुन बाटो कता जाँदै थियो?

केवल अनुमानमा चित्त बुझाएँ।

ऊ पनि आफ्नै अनुहार नचिनेर टोलाइरहेथ्यो

कुनै दलदलमा टेकेर चारैतिर हिँड्‍न खोजिरहेथ्यो

विरोधाभासमा उभिएर

कतै जाऊँ कि नजाऊँ गरिरहेथ्यो।

उसको नियति पनि

ठ्याक्कै काठमान्डौ कै जस्तो थियो।

...................................

साउन २०६३, विराटनगर

..................................

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page