जीवनसँगको जम्काभेटमा / सुमन पोखरेल
इच्छाहरूको मिराज पछ्याउँदै दौडिरहेको जीवनलाई
समयको एक डिलमा बास बसेको मौका पारी
ओल्टाइ-पल्टाइ हेरेँ
चिमोटेर बोलाएँ।
सोधेँ, अनुहारबाट आफूलाई उक्काई फाल्नुको कारण
सोधेँ, मेरै रहर बोकेर मैसँग भागिहिँड्नुको कारण
सोधेँ, अभिलाषाको त्यत्रो भारी बोकी
अक्कर-अक्कर कुदिहिँड्नुको कारण।
ऊ सपनाहरूको ओढ्ने ओढी
निदाइरह्यो, अथवा
निदाएझैँ गरिरह्यो।
सल्लाह दिएँ,
घामका किरण टेकेर हिँड्न सकिँदैन
आँधी उचालेर उभिन सकिँदैन
आगो निलेर हाँस्न सकिँदैन
हिउँ ओछ्याएर निदाउन सकिँदैन
पानीलाई अँगालो हालेर — — —
जुरुक्क उठेर
आफूले ओढिराखेको ओढ्ने बोकी
ऊ यसरी भाग्यो
आजसम्म फेरि भेट हुन सकेको छैन।
......................................
मङ्सिर २०६५, विराटनगर
......................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...