top of page

जिजीविषा / सुमन पोखरेल


नदीजस्तै बगिरहने अम्मल बोकेर

जीवन आफैँबाट सँधै भागिरह्यो।

छुन खोज्दाखोज्दै रहरहरू आँखा तरेर गए

संवेदनशीलझैँ लाग्ने शीतल हल्का समयहरूले पनि

साना ठूला भनेर छुट्याएनन्‍,

थप्पड हानेर खेदिरहे जुनसुकै सपनालार्इ।

रातहरू मनभित्रबाट चिसो भएर निस्किरहे,

सामर्थ्य घरिघरि निस्किएर भाग्न खोजिरह्यो सुस्केरासँगै।

जिन्दगीले बाँचुन्जेल खोजिरह्यो आफूलार्इ अड्याउने आड।

नियतिले जीवनको छेवैबाट हाँसो चोरेर दौडियो।

मनको उज्यालो डुब्दै गरेको हेरेर

आँखाहरू साँझजस्तै निरीह उभिइरहे।

उम्किएको खुसी समातेर फर्काउने असफल प्रयासमा मनले युग बितायो।

चिने नचिनेका समयहरू ठोक्किइरहे आकाङ्‍क्षासँग

र टुक्य्राएर लत्यार्इ भागे।

दृश्य-अदृश्य रङ्गहरूले लत्पत्याइरहे साँझ, बिहान र दिनहरूलार्इ

र अलमल्याइरहे बाटो।

खुट्टाले ज्यादाजसो नटेक्नू भनेको ठाउँमै टेकिरहे,

हातहरू हावामा हल्लिएरै छिप्पिए।

भ्रम र विश्वास छुट्याउन नसक्दाको अज्ञानताजस्तै आनन्ददायी हुँदोरहेछ

आकाङ्‍क्षाको लास मात्र बोकेर हिँड्‍नुको अम्मल पनि।

र्इश्वर ज्यूँदो छ वा छैन सरोकार रहेन।

जेसुकै भए पनि

मेरानिम्ति आजसम्म

जीवन नै सर्वाधिक प्रिय भएर रहेको छ।

...............................

फागुन २०५५, भोजपुर

...............................

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page