कविता फुरिरहेको छैन – २ / सुमन पोखरेल
यस बेला कविता फुरिरहेको छैन,
तर मलार्इ कवितै लेख्न मन लाग्यो।
यहाँ संसार बोकेर निदाइरहेका किताब र पत्रिकाहरू छन्,
मलार्इ रुँघेर उभिइरहेका भित्ता र झ्यालहरू छन्
मनजस्तै पग्लिनै लागेका चिठ्ठी र
कसैलार्इ सम्झिएर टोलाइरहेझैँ लाग्ने तसवीरहरू छन्।
यसबेला यहाँ, यहाँ नभएका चिजबाहेक सबैथोक छन्।
तर तिनलार्इ बिथोल्न मन लागेन।
मलार्इ मैनबत्ती वा रेडियो लेख्न मन लागेन
टेबुल, कलम र कागज लेख्न मन लागेन,
कविता लेख्न मन लाग्यो।
धर्तीको यस केस्रामा
पढ्ने फुर्सद छैन, गिट्टी फुटाउन छोडेर;
सोच्ने जाँगर छैन, भोकलार्इ ओच्छ्याएर;
सुमधुर बोल्ने धैर्य छैन, नारा र जुलुस थन्क्याएर;
केही लगाउने खाँचो छैन, राजनीति फुकालेर;
बाँच्ने फुर्सद छैन, जीवन घिसार्न बिसाएर।
यस अन्यौलमा,
गिट्टी फुटाउँदाफुटाउँदै आफैँ फुटेका जीवनहरूको कथा लेखिएला,
आजीवन नाङ्गै बितेका समयहरूको निबन्ध लेखिएला
दिनभर जीवन खोजी नभेटेर
राततिर फर्किँदै गरेका लखतरान साँझहरूका उपन्यास लेखिएला,
सौन्दर्यले सिँगारिएको कविता जन्मने छाँट छैन।
समयले वीभत्सरसको नाटकमा नुहाइरहेको बेला
कसरी जन्मियोस्, सुकोमल युगको कविता !
अविवेकको हन्डी टाउकामा ओढेर
छेक्न सकिँदैन अनियन्त्रित बगेको अव्यवस्थाको बौलाहा बाढीलार्इ,
निर्लज्जता र मुर्ख्याँइँ चपाएजस्तो सजिलो छैन
भत्किएको समयका टुक्राहरू चपाउनलार्इ।
यस्तोमा फेरि एक विदीर्ण कालखण्डको प्रलाप लेखिएला बरु,
उल्लासको मिठासले भिजेको कविता केही गरी फुरिरहेको छैन ।
मलार्इ,
जीवनमय उमङ्गहरूको धुनमा नाचिरहेको युगको कविता लेख्ने मन छ।
सृष्टिका सौन्दर्यहरू एकएक गरी पलायन भइरहेको यस धर्तीमा
यस बेला कुनै कविता फुरिरहेको छैन।
..............................
फागुन २०५५, भोजपुर ..............................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...