top of page

कविता फुरिरहेको छैन – १ / सुमन पोखरेल


एउटा कविता लेखूँ भनेर बसेको हुँ

सृष्टिका केही सौन्दर्य बटुलूँ भनेर बसेको हुँ।

जीवन सिद्धिएर बाँकी रहेको

सौन्दर्यविहीन यो बोधो बँचाइमा

बाँच्नुको अर्थ कुदूँ भनेर बसेको हुँ।

हर पल मृत्युले नाच्ने यो धुमिल उज्यालामा

यो हुन नपर्ने जेसुकै हुन सक्ने अनिश्चिततामा

कुन वीभत्सबाट झिक्नु सुन्दरता र लेख्नु कविता!

जताततै प्रलय छरिएको यस घडीमा

अरण्यरोदनभन्दा

सहरको विक्षिप्त मुस्कान ज्यादा हृदयविदारक छ।

मान्छेको आधिपत्य भएको यस धर्तीमा

मान्छे हुनु कति विषम, कष्टकर र पीडादायक?

बाँच्न खोज्नु कति बोझमय, असुरक्षित र विदीर्ण?

कति दुष्कर

कति कठिन

कति वीभत्स यो समय।

तर

चाहे भोक खाएर रोग बाँचोस्‍

चाहे घाम ओढेर ताप बाँचोस्‍

चाहे हिउँ सुतेर जाडो बाँचोस्‍

चाहे अभाव पिएर मृत्यु बाँचोस्‍

एकपल्ट मान्छे भइसकेकाले

मान्छे

बाँचुन्जेल मान्छे हुन विवश छ

र अभिशप्त छ

कहिल्यै मान्छे हुन नपाउन।

संवेदन ओडार पसेको यस बेला

यस्ता आपसमा झगडा गर्ने सत्यहरू बटुलेर

केके नबनाउनु?

समयले सर्वाङ्ग नग्नता ओढी निदाएको यस घडी

कालो अक्षर पनि रातो देखिन्छ

निलो अक्षर पनि रातो देखिन्छ

रगतले भिजेको यस धर्तीमा

पसिनाको अक्षर पनि रातो देखिन्छ।

स्वयम्भूका आँखाहरूले

टुलुटुलु हेरेर मात्र के गर्नु?

परेवाहरू उड्‍न सक्दैनन्‍,

बारुदका राता बोझहरूले थिचिएर।

सर्वे भवन्तु सुखिन:, खै सुख?

माप्र गाम: पथो वयम्‍, खै बाटाहरू?

बिस्‍-मिल्लाह इर रहमान इर रहीम!, खै के सुरु गर्नु?

यो प्रलय पोखिएको बेलामा

शान्तिको एउटा शब्दले के गर्नु?

यो असुरक्षित जीवन र मृत्युको मध्यान्हमा

मान्छे खोज्दै छ आफूभित्रबाट निस्किभागेको मान्छेलार्इ

मृत्युको असुरक्षित हाटमुनि ओच्छिएर।

आत्मा निस्किभागेर बाँकिरहेका

खोक्रा मान्छेहरूको यो भीडमा

जे सुकै मृत्यु बनेर उभिएको छ।

यस्तोमा सुरक्षाविहीनता नै सुरक्षा हुन सक्छ,

जहाँ

एउटा सुरक्षित मृत्यु मर्न सकिन्छ।

यस्तो बेलामा

लेखिइहाले पनि

मृत्युको कविता लेखिन सक्छ।

फुरिहाले पनि

निरीह जनता र असक्षम शासनका षडयन्त्रहरूको कविता फुर्न सक्छ,

भोक र रोगहरूको कविता फुर्न सक्छ,

नाङ्गा आङ र रुन्चे हाँसोहरूको कविता फुर्न सक्छ,

र फेरि एक छाल मृत्युहरूको कविता फुर्न सक्छ।

मलार्इ जीवनजस्तै बाँच्न पाउने जीवनहरूको कविता लेख्ने मन छ।

समय मृत्युमा चढेर दौडिरहेको यस क्षण

कुनै कविता फुरिरहेको छैन।

..............................

फागुन २०५५, भोजपुर

..............................

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page