top of page

काठमान्डौ ओर्लेपछि / सुमन पोखरेल


काठमान्डौ ओर्लेपछि

एकाएक छाती रित्तो लाग्छ।

मायालुले छोडेर गएको मुटुजस्तै,

सपनाले छोडेर गएको आँखाजस्तै।

आफैँ बाँच्न नभ्याउने काठमान्डौले

मायालुजस्तो सुन्दर गीत रच्न सकेन।

बिपना भोग्न नपाउने काठमान्डौले

जीवनजस्तो राम्रो सपना देख्न सकेन।

प्रेयसीका ओठजस्तै गीत रचूँ भनेर

आफ्ना आँखाजस्तै सपना देखूँ भनेर

छोडेको हुँ काठमान्डौ उहिले।

काठमान्डौ छोएपछि जहिलै पनि

रित्तो भएको मनभित्रको कुनै रित्तो कोठामा लगिरहन्छ,

यी उज्यालो छोप्न बलेका बत्तीहरूले जलाइरहेछन्‍ खोरम्पाहरूका बस्तीहरू।

यी लङ्गडा दौडाइहरूले कुल्चिरहेछन्‍ तमाम अकाठमान्डौका

कोमल-निर्मल सपनाहरू,

यी खोक्रा उचाइहरूले प्रत्येक पल निहुर्‍याइरहेछन्‍

स्वाभिमानी ळशिरहरूलार्इ।

जीवन देख्दै नदेखी

जीवनको भ्रममा रिक्तता बाँचिरहेझैँ

कहीँ नपुग्न तँछाडमछाड गरिरहेको काठमान्डौलाई छोएपछि

जीवन साँच्चै रिक्तताभन्दा ज्यादा रित्तो लाग्छ।

जीवनको सुन्दरता तुलना नगर्दै मात्र जीवित रहन्छ कि कसो!

काठमान्डौ रहुन्जेल नछामे पनि रित्तो लागिरहन्छ छाती,

पानीले छोडेर गएको खहरेजस्तै

आँधीले छोडेर गएको खण्डहरजस्तै।

छाम्छु, उफ्‍!

सनातनदेखिको रित्तो लाग्छ

मानौँ मेरो छातीमा कहिल्यै कुनै छाती नै थिएन।

जीवनको गहनता त एक्लै बाँचिरहँदा मात्र गह्रौँ हुने रहेछ।

हरेकपल्ट काठमान्डौ ओर्लेपछि यस्तै लाग्छ।

...................................

फागुन २०६०, काठमान्डौ

..................................

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page