मनफूलको तरेली सुमसुम्याए झैँ / सुमन पोखरेल
- सुमन पोखरेल
- Sep 4, 2018
- 1 min read
मनफूलको तरेली सुमसुम्याए झैँ
कसले यो के गर्यो माया लाए झैँ
खोला आज गीत गाउँदै बगे जस्तो
हावा पनि सङ्गीत हाली बहे जस्तो
कहाँ कहाँ मेरै नाम गुनगुनाए झैँ
कसले यो के गर्यो माया लाए झैँ
ढुङ्गो पनि फक्रिएर झुले झुले जस्तो
ढुङ्ग्यानमा जताततै फूलै फुले जस्तो
बेलै नभई एकाएक बसन्त आए झैँ
कसले यो के गर्यो माया लाए झैँ
मन छेऊ आई कतै बैँश बोले जस्तो
कसले कसले मनको ढोका खोले जस्तो
नेपथ्यमा कताकता प्रीत मगमगाए झैँ
कसले यो के गर्यो माया लाए झैँ
Comments