तिम्रो मायामा भूलेँ आफैँलाई / सुमन पोखरेल
तिम्रो मायामा भूलेँ आफैँलाई
के गरूँ नगरूँ भनिदेऊ तिमी नै
बोलिरहेका आँखा सँधै बोलिरहूँजस्तो
मलाई भुलाउने मुहार चुमिरहूँजस्तो
तिम्रो हेराईमा भूलेँ धर्ती आकाश
के गरूँ नगरूँ भनिदेऊ तिमी नै
नशालु अधरका प्याला पिएर हराऊँजस्तो
रात झैँ केश कालो ओढेर निदाऊँजस्तो
तिम्रो मुस्कानमा भूलेँ सारा संसार
के गरूँ नगरूँ भनिदेऊ तिमी नै
सुकोमल औँलाहरू छोईरहूँ, जस्तो
फूलजस्तो शरीर त्यो हेरिरहूँजस्तो
तिम्रो स्पर्शमा भूलेँ दुरीलाई
के गरूँ नगरूँ भनिदेऊ तिमी नै
सँगीतमय चाल कुनै गीत लेखुँ जस्तो
यो रूप यस्तै सँधै एक्लै लेखुँ जस्तो
तिम्रो रूपमा भूलेँ दिन रात
के गरूँ नगरूँ, भनिदेऊ तिमी नै
एकछिन उच्छवास बुझपचाऊँ जस्तो
न्यानो अँगालोमा बाँधिइजाऊँ जस्तो
तिम्रो उन्मादमा भूलेँ शिष्टतालाई
के गरूँ नगरूँ भनिदेऊ तिमी नै
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...