मात हराई पानी भो / सुमन पोखरेल
हिउँजस्तो जीन्दगी यो, छट्पटाई पानी भो
छातीको पीडा मध्यरात आँखामा आई पानी भो
डुल्दै थिए बादलझैँ नजर मुहार-मुहारमा
मेरो इच्छा एउटा मान्छे मनपराई पानी भो
पग्लिनु, बग्नु, पोखिनु त रीत रहेछ पिरतीको
हेर हिमाल घामसँग प्रीत लगाई पानी भो
कस्तो भनी छाम्दाछाम्दै तातिएर पोखिई भाग्यो
असिना झैं बैँस मेरो मलाई छक्याई पानी भो
प्रेम भन्या रक्सीजस्तो मात रहेछ जीवनको
माया झिकेपछि जीवन मात हराई पानी भो
चितामा जल्न थालेपछि पो चिनियो मान्छेहरू
आफ्ना भन्नेले आगै थपे बरु पराई पानी भो
बगिरहेँ पानीजस्तै बाँचुन्जेल नि सधैँभरि
खरानी मेरो नदी मै बगाए, मेरो मराइ पानी भो
बादलझैँ उड्न पाए आकास छुन सकिने थ्यो
तर सुमन ! सागर सधैँ, उड्न नपाई पानी
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...