प्रसङ्ग अर्कै छ / सुमन पोखरेल
मुटु फेरिए झैँ, धड्कनको ढङ्ग अर्कै छ
छोयो कसले मनको तार, तरङ्ग अर्कै छ
कतै थिएँ मरेतुल्य तिमीलाई भेट्नु अघि
यो कुन म बाँच्दैछु, अचेल उमङ्ग अर्कै छ
हर्षित् भई नयाँ जोशले धड्किँदैछ मुटु
हेरेथि'न् मायाले आँखामा, दङ्ग अर्कै छ
कति धेरै पोखिछ्यौ ममाथि तिम्रो माया
ऐनाले भन्यो मेरो मुहारको रङ्ग अर्कै छ
खुम्च्याइ छ निधारमा नजर छ अन्तै कतै
मुस्काऊ चाहे जति नै कुरो छर्लङ्ग अर्कै छ
भेट्न आइन् उनी, विचार गर्नु सुमन !
माया कै कुरो गर्लास्, आज प्रसङ्ग अर्कै छ
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...