दुखिरह्यो जीवन / सुमन पोखरेल
नदीजस्तै कतै बगिरह्यो जीवन
आफैँबाट सधैँ, भागिरह्यो जीवन
देख्नै पाइएन चाहेको जसरी
मैले खोजिरहेँ, लुकिरह्यो जीवन
फूल छुन खोज्दा काँडा भई उभियो
बाँचुन्जेल सधैँ, दुखिरह्यो जीवन
जता हिँडूँ भन्छु त्यतै भत्किदिन्छ
मेराविरुद्ध मै, लागिरह्यो जीवन
एक्लै हिँड्या भए, कतै पुग्थेँ शायद
हरेक बिसौनीमा, बसिरह्यो जीवन
उमेर पूरै बित्यो उसैलाई सम्हाल्दै
उठाइरहेँ मैले, लडिरह्यो जीवन
सन्चो-बिसन्चोको खबर सोधेँ मैले
छातीमा शिर राखी रोइरह्यो जीवन
बिछोडको विरहले जिउँदै मार्ने थियो
धन्य सँगसँगै हिँडिरह्यो जीवन
अनेक आश गर्यो म मस्त प्रेम मै
बाँचुन्जेल मसँग दु:खी रह्यो जीवन
बाँकी थियो लेनदेन, तँसँग सुमन !
शायद त्यसैले नै बाँचिरह्यो जीवन
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...