तिमी नआए झैँ / सुमन पोखरेल
मनभित्र कताकता सुमसुम्याएझैँ
छोयो तिम्रो हेराइले माया लाएझैँ
शीतलता र न्यानो, दुबै बोकी आयौ
मनको अँध्यारामा घाम-जून उदाएझैँ
बोलेको थिइनँ म, उनले आऊ भन्दा
पुगेँछु, आउँछु भनी, कसम खाएझैँ
रातभर छट्पटाई यही सोचिरहेँ
तिमी आए हुन्थ्यो, तिम्रो याद आएझैँ
कति रात काटूँ, म अनिँदै यसरी
याद पनि नआए हुन्थ्यो तिमी नआएझैँ
बेहाल छु खुसी र निराशाको सङ्गमले
घरिघरि हल्लिन्छ पर्दा, तिमीले चलाएझैँ
आउँदिनन् उनी कहिल्यै सपनामा पनि
पुग्दो रहेछु म चाहिँ उनले मोहनी लाएझैँ
रातभर कयौँ चोटी, ब्यूँझिरहेँ म
तिम्रो मादकताले झक्झक्याएझैँ
फूल, जून, झर्ना केही मन परेन
कुनै मुस्काएनन् तिमी मुस्काएझैँ
मनको वरिपरि, रूमानी धून बज्यो
हिडेँछु म त भेट्न उनले बोलाएझैँ
निस्किएर सपनाबाट आईन् सामु उनी
अब सताऊ भन् सुमन ! अघि सताएझैँ
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...