जून धर्तीमा झारूँ म / सुमन पोखरेल
तिम्रो सौन्दर्यलाई नजीकबाट निहालूँ म
रहर जाग्यो तिमीलाई आफैँ सिँगारूँ म
गाजलको एक दाग लगाइदिऊँ कि गालामा
र, साँच्चै नै आज जूनलाई धर्तीमा झारूँ म
बसन्तको चराजस्तै अनुभूत गर्छु तिम्रा सामु
यिनै केशमा गुँड बनाई रात गुजारूँ म
मुस्काए नलजाऊ, लजाउँछ्यौ त नमुस्काऊ
नत्र सम्हालूँ मन कसरी, दुबै कसरी खपूँ म
आँखाबाटै बोल्न सिक्दैछु म पनि तिम्रै जसरी
तिमी बुझिदेऊ केही इसारा, केही बुझूँ म
सुगन्धबिना फूलको बैँस कसले थाह पाउँछ ?
तिम्रो रूपमा मेरो प्रित मिसाई वास छरूँ म
छ प्रेमको घोचाइ नै सबैभन्दा मीठो सुमन !
मिठास थपूँ, यही काँडालाई अझै तिखारूँ म
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...