कहाँ अल्झिऊँ म ? / सुमन पोखरेल
तिमी नै भन, अन्त कहाँ अल्झिऊँ म ?
नसम्झूँ तिमीलाई त के सम्झिऊँ म ?
व्यथा भई तिमीभित्रै दुखिदिऊँ कि अब
नत्र सधैँ आफैँभित्र कति बल्झिऊँ म ?
आफैँ आई तिमी, मलाई लिई जाऊ
तिमी सम्झी सम्झी, रक्सी कति पिऊँ म ?
थपिँदाछन् रहरहरू, रहरहरू, रहरहरू,
जिन्दगी ! तँलाई अझै कति जिऊँ म ?
माया, प्रेम, शुभकामना र श्रद्धाञ्जली
ज्यूँदो हुँदा त नलिएको, अब के लिऊँ म ?
नदिनू दागबत्ती चितामा मेरो कसैले
विछोडको पिडाले आफैँ सल्किऊँ म
जिन्दगी त सिद्दिगयो अरुलाई बाँडेर नै
तैँ भन सुमन ! अब तँलाई के दिऊँ म ?
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...