उडिहिँड्ने खुशी / इन्दिरा दाँगी
सुनौलो साँझ; जीवनका ओजहरूले भरिएको महानगरीय बजार ।
पति-पत्नीलाई कसैलाई उपहार दिनका लागि ठीकठीकै खालको एउटा साडी किन्नु थियो र आफ्नो स्कुटर रोकेर एउटा पसलमा छिरेका थिए, भएभरको जोडजाड गर्दा कुरो यति मात्र थियो ।
भव्य शोरुमभित्र दुई पाइला हिँड्ने बित्तिक्कै दुबैका अनुहार एकै भावमा अलमलमा परे; गलत ठाउँमा आइपुगियो कि क्या हो; तर उनीहरू पसलका कर्मचारीका ध्यानका सीमाभित्र पुगिसकेका थिए, र ‘आउनुस्! आउनुस्, के देखाऊँ?’ भन्ने निमन्त्रणालाई अस्वीकार गर्न अब असम्भव थियो ।
अपराधी भावले त्यो जोडी सोफाजस्तै महङ्गा स्टूलमा बस्यो । फुङ्ग उडेको जस्तो अनुहारले युवक पतिले आफ्नो अफिस जाँदा लगाउने सर्ट, खुइलिने गरी प्रयोग भइसकेको प्यान्ट, रेक्सिनको बेल्ट र छालाको चप्पलमा सरर्र आफ्नो एक दृष्टी हिँडायो । तर त्यो भन्दा बढी उडिसकेको थियो नवयुवती पत्नीको अनुहारको रङ्ग; ठेलामा गुडाउनेसँग किनेको पच्चीस रुपियाँ जाने हातका बाला, कटपीस सेन्टरमा लिएको भ्रामक महङ्गो साडी, कम्पनीको सेल अफरमा किनेको चप्पल र सुनका ससाना दाना लागेको मङ्गलसूत्र...! उसले साडीको सप्कोलाई काँधबाट अगाडि ल्याएर अर्कोतिर तानी, अब बाला र मङ्गलसूत्र छोपिएका थिए; तर पतिलाई उसले लगाएका एकएक चिजका मूल्य मानौँ यसैबेला सम्झनु थियो । मध्य चोकको तीब्र प्रकाश भएको बत्तीको फोकसमा उभिएको जस्तो अनुभूत गरिरहेको पतिमा चिरपरिचित झर्क्याइ थियो,
“कतिपल्ट भनिसकेँ, बाहिर निस्कँदा ढङ्गले लगाउने गर; भनेर! जहिले पनि लोभ! सस्ता सामानमा मरिहत्ते गर्न कहिले छोड्यौ तिमी! किन यो बाला लगाएर आएकी. त्यो अस्ति पाँच सय रुपिँयामा किनेको बाला चाहिँ के दराजमा सजाएर राख्नका लागि हो?”
त्यो त बिहे-व्रतबन्धमा लगाउने हो नि, कि त कतै नताकुटुम्ब कहाँ जाँदा । यसरी जहाँ पायो त्यहीँ हिँड्दा लगाएर थोत्रियो भने कत्ति न आफूले अर्को किन्दिने जस्तो! पत्नीले भन्नै लागेकी थिई, तर भनिन; पसले उसैसँग सोद्दै थियो,
“के देखाऊँ म्याडम?”
उत्तर पुरुषले दियो,
“साडी, गिफ्ट दिने खाले।“
पसलेले कामदारलाई माथिल्लो तासीबाट एउटा थान झार्न भन्यो र पति-पत्नी आँखालाई तिरमिराइदिने महङ्गा साडीले भरिएको पसलको चारैतिर हेर्न थाले । अगाडिपटि शोकेसमा बत्तु जडिएका लेहङ्गा र साडीका खुलेका सप्का सजिएका थिए; दुबैले यस्तो अनभिज्ञ-अनासक्त नजरले हेर्न शुरु गरे मानौँ उनीहरू कुनै पराइ धर्मलाई हेरेर बुझ्न खोज्दैछन् ।
“यो हेर्नुस् म्याडम, अहिलेको नयाँ ट्रेन्ड”
चम्किलो सेतो प्रकाशमुनि पसलेले पहिलो साडी फिँजायो । आकाशे रङ्गको साडीमा जडिएका टल्किरहेका बत्तु यस्ता देखिँदै थिए मानौँ झिसमिसे बिहानपछिको आकाशमा सैयौँ मर्निङ स्टार चम्किरहेछन् ।
पति-पत्नीका निरस अनुहारबाट कुनै भाव निस्किएन; पसलेले अर्को साडी खोल्यो ।
“यो हेर्नुस्, फ्याक्ट्रीबाट यो माल हाम्रै पसलमा मात्र आएको छ । यस्तो साडी तपाईँले बजारमा अरू कहीँ भेट्नु हुने छैन।
हरियो साडीमा सुनौला मोतीका दाना यसरी जडिएको थियो, मानौ कोमल दुबोमा सुनका फूल फुलिरहेछन् । छातीमा एउटा अदृष्य चीसो निश्वास उठ्यो र लड्यो; मोल थाह नपाइकनै पतिले भन्यो,
“अलि रिजनेवल रेटका साडी देखाउनुस् न।“
“हाम्रो रेट बजारभरिमा सबैभन्दा बढी रिजनेवल छ, सर! यो साडी - तपाईँ कहीँ पनि खोज्नुस् - चारपाँच हजारभन्दा कमको भेटिँदैन, तर हामी यो अड्तीस सय मैँ दिँदैछौँ ।“
“हैन, हामीले यो भन्दा अलि कमको खोजेको।“ मूल्य सुन्ने बित्तिक्कै पतिले साडीको पारीबाट औँला यसरी झिक्यो मानौँ उसले छुँदा सुनका फूल र मर्निङ स्टार धमिला हुनेछन् र उसले त्यसको कुनै नसोचेको बिगो तिर्नुपर्नेछ।
पसलेले अलि तलबाट अर्को थान निकाल्न लगायो । यसै बीच पत्नी उठेर शोकेसमा सजाइएका साडीहरूको अगाडि आएर उभिई ।
एक से एक सुन्दर र चम्किला साडी र लेहङ्गाहरूलाई उसका आँखा यसरी एकोहोरिएर हेरिरहेथे मानौँ ती आखाँ त्यहाँ रहेका प्रत्येक कपडाका सम्पूर्ण सौन्दर्यलाई छिटोछिटो बाँचिसक्न चाहिरहेका हुन् । बैँसालु स्त्री मुग्ध हुन थाली; सुनौला, ...राता, ...नीला, ...पहेँला, ...कलेजी, ...काला – हरेक रङ्ग बोलीरहेझै लाग्थे र तिनमा जडिएका हीराजस्तै देखिने बत्तु, मोतीका दाना, मिहिन सितारा र रेशमका धागाले कुँदिएका कारिगरीले साडीहरूलाई मनभित्रै पस्नसक्ने रूप प्रदान गरेका थिए । आफैँमा मग्न भएर उभिएकी स्त्रीको अनुहारमा एउटा उदास मुस्कान उक्लियो र ओर्लियो ।ऊ फर्किनै मात्र के लागेकी थिई उसका आँखा शोकेसमा झिलमिलाइरहेको अन्तिम सौन्दर्यमा पुगेर अडिए ।
यता पसलेले पुरुषका अगाडी अर्को थान खोल्यो,
“यो एकदम नयाँ कुमकुम प्रिन्ट हो सर, ...टी.भी.मा त्यो ‘रङ्ग र जीवन’ सिरियल हेर्ने गर्नु भएको छ नि, त्यसमा यही साडी त लाउँछे नि हिरोइनले, ... बाह्र सय रुपियाँ मात्रको हो।“
“यो युनिक पिस हेर्नुस् त, यस्तो मयुरपङ्खी रङ्ग-डिजाइन-कपडा र रेटमा कहीँ भेट्नु हुन्न तपाईँले! ...अठार सय मात्र!”
“शिफनमा यस्तो बुट्टा त कतै भेटिँदैन, हजुर! एकदमै रेअर छ यो । ... नौ सय पचासमा यस्तो साडी अरू कहीं भेट्नु भएछ भने म यो सित्तै नै दिउँला!”
यता पति भन्दैछ, “यो भन्दा कम रेन्जको देखाउनु न।“
उता पत्नी शोकेसको अन्तिम लुगाको जादूजस्तै सौन्दर्यमा बाँधिइरहेकी छे । ...गेरु रङ्गमा हल्का हरियो र गाढा कलेजी रङ्गमा खराने रङ्गका मसिना सिताराको अद्भुत शिल्पकारी यस्तो लाग्छ, मानौँ ईश्वरकै कुनै कृति हो; र किनारामा भएको जरीको काम विष्णुको मायाजस्तै! स्त्रीले सबै कुरा बिर्सी र मनको कुरा मुखमा एकाएक आफैँ आयो,
“कति राम्रो साडी!”
“त्यो साडी हैन म्याडम, लेहङ्गा हो।“ पसलेले – जसले यतिन्जेलमा बुझिसकेको थियो ग्राहकका पर्समा कति धुकधुकी छ भन्ने - स्त्रीतिर नहेरीकनै भन्यो ।
“लेहङ्गा हो!! कति सिम्पल!! कतिको हो यो?”
“दुई हजार पर्छ, म्याडम।
“यो लेहङ्गाको दुई हजार मात्र!!” प्रसन्नताले चकित भएकी स्त्रीले नभनी रहन सकिन। उसका आँखा, अनुहार र मुस्कानबाट खुशी पोखिन थाल्यो; पसलेले एउटा सम्भावना समात्यो,
“बस्नुस् म्याडम, सेम यस्तै पिस झिक्न लगाउँछु तपाईँका लागि। ए बन्टी; त्यो दाहिनेतिरको पहिलो थान देखा त, म्याडमलाई।“
“जे लिन भनेर आएका, त्यो साडी चाहिँ हेरिसकूँ न पहिले!” पतिको स्वरमा विवशता र हप्काइ दुबै थिए ।
“त्यो हजुर हेर्नुस् न।“ मानौ पत्नी अर्कै मान्छे भइसकेकी थिई ।
यसबेला दोकानको कामदार पत्नीलाई जरी भरेको लेहङ्गा देखाउँदै थियो र दोकानदार पतिलाई एकपछि अर्को साडी,
“यो एकदम सिम्पल, सोवर, साइनी, साउथ लुकको, ... सात सय रुपियाँ मात्र।“
“यो चुनरिया प्रिन्ट, ... मात्र साढे छ सय रुपियाँ।“
“हैन, हामीलाई योभन्दा पनि कम रेन्जको. तपाईँलाई भनेँ नि, गिफ्ट दिने खालको। आफ्ना लागि भएको भए महङ्गै लिइहालिन्थ्यो नि।“ पुरुषले निरिह भएर मुस्काउँदै भन्यो ।
“कुन रेन्जको साडी चाहिएको हो तपाईँलाई?” साडी खोल्दै गरेको पसलेको हात रोकियो।
“तीन चार सयसम्मको ।“ पतिले आफ्ना गोडालाई स्टुलमुनि अझ बढी खुच्याउँदै भन्यो ।
“ऊ, त्यहाँ बाहिरपटी डेलिवेयर साडीका थान राखेका छन्, तपाईँ आफैँ हेरिहेर्नुस्।“ – पसलेले स्वच्छ आकाशको मर्निङ स्टार्सदेखि लिएर साइनी साउथसम्मलाई बटुल्दै भन्यो।
अहिले अर्को ग्राहक आइपुगेकोले उसले फेरि सपनाजस्तै साडीहरू देखाउन शुरू गरिसकेको थियो,
“यो हेर्नुस् म्याडम् एकदम नयाँ ट्रेन्ड! तपाईँले बजारभरिमा यस्तो साडी अन्त कहीँ भेट्नु हुन्न ।“
यता वशीभूत अनुहारले लेहङ्गाको इन्चइन्चलाई हेरिरहेकी पत्नीलाई पतिले छिसिक्क छोयो,
“राशी, आऊ यी साडी हेरौँ।“ उसको नजर पसलको बाहिरपट्टी राखेका सादा, नरम साडीहरूतिर थियो ।
“हैन! पहिले यो हेरौँ न! कति राम्रो लेहङ्गा रहेछ र त्यो पनि मात्र दुई हजार रुपियाँमा!! त्यो मेरी साथी छे नि मीनू, उसले बिहेमा ठ्याक्कै यस्तै लेहङ्गा लगाएकी थिई। दश हजार परेको भन्दै थिई। त्यतिबेला भर्खर आएको थियो यो डिजाइन; अहिले डेढ दुई वर्षमा यो यस्तो कमन भइसक्यो। सोच्नुस् त! दुई हजार मै पाइँदैछ! लिऊँ न!” - पत्नी सकेसम्म सानो स्वरमा भन्दै थिई; तर उसको खुशी कुनै तवरले पनि कम हुन सकेको थिएन।
“पछि लिउँला! अहिले गिफ्टको लागि जे लिन आएका, त्यही हेरौँ।“
“तर दुई हजार त बोकेकी छु मैले!”
“राशी प्लिज...!” पतिले पसले र कमदारहरूको गाडिएको दृष्टिमा आफूलाई भरसक सहज देखाउँदै भन्यो; तर उसको स्वरको मर्म पत्नीले अनुभूत गरी र पुलुक्क पतिको अनुहारमा हेरी । त्यो अनुहारमा उसले आफ्नो सम्पूर्ण वैवाहिक जीवनलाई झलझली देखी,
-दुई वर्षअघि विवाहभन्दा पहिलेका लजालु-सपना-सुन्दरताका दिन
-विवाहको सपना जस्तैजस्तै लाग्ने सत्य
-त्यान्द्रात्यान्द्रा जोड्ने नयाँ गृहस्थीको सङ्घर्ष!
मानौँ पत्नी पूरै होशमा फर्किई; ...पतिको आम मान्छेको जस्तो कमाइ, ...भाडाको फ्ल्याट, कुनै दिन एउटा आफ्नै घर हुने सपना, ... अरू केही वर्ष बच्चा नजन्माउने विवश निर्णय, ...एक एक पैसाः कन्चो कन्चोको बचत!
पलभरमै पत्नीको अनुहारबाट एकछिन अघिको खुशी पुतलीजसरी उडेर गयो, यता भने पसलको कामदार सोधिरहेथ्यो,
“उसो भए यसलाई प्याक गरिदिऊँ?”
“हैन, एकछिन पख्नुस्! यसमा अरू रङ्गका पनि छन्?” – हृदयदेखि मनपरेको व्यक्त गरिरहेकी नवयुवती स्त्री बुझ्नसकिरहेकी थिइन सिधै नलिने कसरी भन्नु भनेर।
कामदार अर्को रङ्गको लेहङ्गा लिन उठ्यो र यसै बीच पतिपत्नी मौन अनुहारले देब्रितिर राखिएका सस्ता साडीहरूलाई छुन-जाँच्न थाले।
“यो ठीक छ।“ एउटा गुलाबी रङ्गको साडीमा दुबैले एकैसाथ स्वीकृति जनाए ।
उता कामदारले अर्को रङ्गको लेहङ्गा फिँजायो,
“हेर्नुस् म्याडम, यो पहेँलो र कलेजीको कम्बिनेसन! यो पनि एकदम सुहाउँछ हजुरलाई।“
कामदारले उभिएर लेहङ्गा आफैँमा टाँसेर देखायो ।
स्त्रीका आँखा तेजिला भए र निभे ।
“होस्, छोड्दिनुस्। अहिले यो साडी मात्र प्याक गरिदिनुस्।“
“तर हजुरलाई त्यस्तो मनपरेको छ, लेहङ्गा! आउनुस्, डिस्काउन्ट गरिदिन्छु।“
“हैन, फेरि कुनै दिन लैजाउँला। अहिलेलाई यही साडी मात्र...!”
साडीको पैसा तिरेर दुबै पसलबाट बाहिर निस्किए।नवयुवती पत्नीको अनुहारमा सामान्य घुर्मैलो साँझजस्तै उदासी थियो । पतिले उसको काँधमा हात राख्यो,
“तिमीलाई त्यो लेहङ्गा एकदमै मनपरेको थियो?”
र पत्नीले मानौँ सुन्दै सुनिन; सडकपारिपटी पुगेर चाट बेच्ने ठेलातिर जाँदै गर्दा उसको अनुहारमा नयाँ रङ्ग आइपुग्यो – सानो पुतली जस्तै खुशीको रङ्ग!
उसले भनी,
“हामीले चाट नखाएको कत्ति भइसक्यो नि है!”
...........................................................................
(मूल हिन्दीबाट सुमन पोखरेल द्वारा अनुदित)
This translation was first published on Annapurna Post
Related Posts
See All[साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया' (साउन -असोज २०६७) सँग कवि सुमन पोखरेलको अन्तर्वार्ता] ..............................................