बोतलको पानी / इन्दिरा दाँगी
चोरीको रोमाञ्च यौन कामना जस्तै उत्तेजक हुनेरहेछ ।
हैन, म पेशेवर चोर हुइनँ । न त के खाऊँ के लाऊँ भन्ने गरीब पटके चोर, न सम्भ्रान्त मानसिक बिरामी क्लेप्टोमेनिक नै।इन्जिनियरिङको विद्यार्थी हुँ म, बुवाको 'असल छोरो' जसको कलेजको फिस तिर्नका लागि वहाँले बैङ्कबाट रिन लिनु भएको छ । खराब हुने सहुलियत मेरो निम्नमध्यम वर्गीय जिन्दगीले मलाई कहिल्यै पनि उपलब्ध गराएन, त्यसैले मैले त असल हुनै थियो । अँ ! त्यसैले म असल छु - परिश्रमी, परिपक्व र पढनदास ।
सतपुडाको विशाल पार्किङक्षेत्रमा घुम्दैछु । भोपालको वल्लभभवन यदि यस राज्यको प्रशासनिक हृदय हो भने सतपुडा भवन त्यो प्रशासनको नशामा बगिरहेको रगत हो । मेरो एउटा साथीलाई यहाँ आउनै पर्ने थियो; र म उसँगै; सादर आमन्त्रित भएर हैन, करैले उपस्थित हुनुपर्ने कुनै कार्यक्रमका आयोजक जसरी; आएको हुँ । कुरो के भने, यहाँ आउनको लागि मेरो साथी मसँग मोटरसाइकल माग्न आएको थियो; र यो मेरो ज्यानभन्दा प्यारो सेकेन्डहेण्ड मोटरसाइकल जसलाई किन्न मेरा बुवाले जोगाउनु भएको र आमाले लुकाउनु भएको भएभरको पैसो समर्पित गर्नु परेको थियो, यस्तो मूल्यवान वस्तुलाई म उसको मात्र भरमा एक्लै कसरी छोड्न सक्थेँ र ? तर 'दिन्नँ' भनेको भए त्यत्रो पुरानो मित्रतालाई गुमाउनुपर्ने हुन्थ्यो । मैले त दिक्क लाग्दै भए पनि आउनै थियो, र पार्किङ स्थलमा लाटोकोसेरो जसरी आँखा फिँजाएर यताउता बराल्लिँदै पर्खनु थियो ।
त्यसैले म अहिले यहाँ छु । परसम्म मोटरका ताँती छन्; मैनका पेन्सिलले कोरिएका बाङ्गाटिङ्गा रङ्गिन रेखाजस्ता मनमोहक । युवतीहरूलाई मनपर्ने राता, गुलाबी र सुन्तले रङ्गका स्कूटीहरू, ... केटाहरूका राता, काला स्टाइलिस् बाइकहरू, ... चौथो श्रेणीका निरीह कारिन्दाहरूका खुइलिएका साइकलहरू, ... क्लर्कहरूका थोत्रिएका स्कुटर, ... साना खाले अधिकृतहरूका सानासाना कारहरू, ...वरिष्ठ अफिसरहरूका पहेँलो मुकुट भएका लामालामा कारहरू, ... हुल्याहा आगन्तुकहरूका रफ-टप जीपहरू, ... र आम मानिसका धोईपखाली गरेका दुईचक्के र फोरह्विलरहरूः हरेक वाहन आआफ्ना मालिकका जीवनकथाका जिङ्गलजस्ता ।
अनि यो ठाउँ पार्किङ स्थलभन्दा पनि ज्यादा सरकार महाराजको बगैचा जस्तो छ । बुढा-ठूला रुखहरूको मुनि फराकिलो चौतारो छ; जहाँ थुप्रै मान्छे, जसमा धेरैजसो यहीँका कर्मचारी छन् -- किन भने यो लन्चपछिको सरकारी फुर्सत हो - तास खेल्दैछन् । अनगिन्ति नागरिकहरू आउँदैजाँदै गर्दा छन् । हरेक अनुहारमा एउटा कथा छ । यतातिर छरिता युवा रुखहरू सुस्तरी चल्ने हावामा पनि लठ्ठिएर हल्लिरहेछन्, मानौँ ती आफ्नो युवत्वको उत्सव मनाउँदै छन् । जवान हुनु पनि आफैँमा एउटा महान उपलब्धि हो । फराकिलो बाटाका किनारहरू चम्किला नरम फूल र ससाना सजावटी बुट्यानका लहरले सजिएका छन् । फूलले ढाकिएका लहराहरू रेलिङ्मा चढेर बास्ना छर्दै छन् र सतपुडाको पूरा परिवेश कुनै सुन्दर कर्मशील स्त्रीको मुस्कान जस्तै सौम्य भएको छ ।
मैले मोटरसाइकल राखेको ठाउँको भूईँमा माटाको पत्र जमेको छ र दिउसोको घाममा त्यो यस्तो सुनौलो देखिएको छ, जुन अदृष्य कसैले भूईँमा सुनको पीठाले लिपिदिएजस्तो लाग्छ । सुनको पीठाले लिपिएको भूईँमाथि म निरुद्देश्य यताउता घुमिरहेछु । सोच्नका लागि खास त्यस्तो केही छैन । मुक्त दिमागले जतासुकै हेरिरहेको छुः ... पिपलको बैँसालु हाँगामा गुँड लगाउँदै गरेको चरालाई, ...आधा फक्रिएका कोपिला र यायावर भवँराहरूलाई, ... उडान-नृत्यमा मग्न एक्ली पुतलीलाई, ... आशङ्कित-आशान्वित अनुहार बोकेर भित्र जाँदै गरेको किसानलाई, ... दिक्क भएको सुरक्षाकर्मीलाई, ... र सेलफोनमा लजाउँदै गरेकी केटीलाई । अहो ! कस्तो मीठो समय ! मेरो साथी दुई घन्टा त्यहीँ अफिस भित्रै हराए पनि केही छैन । साँच्चै भन्नु हो भने पर्खाइले मलाई कहियै दिक्क लागाउँदैन; म कहिले पनि एक्लै हुँदै हुन्न । सिमोन द बोवुआरको 'आफू आफैँमा हुनु त उत्सव मनाउनु जस्तो हो' भन्ने भनाइको म गतिलो भक्त हुँ ।
अनि उत्सव होस् र सङ्गीत नहोस् त हुने नै भएन; मनपरेको गीत गुन्गुनाइरहेछु ...
कतै एउटी केटी, अति राम्री हँसिली, अलि कालीकाली ऽ ...
केटीमै त हैन एउटा सुन्दर कारमा नजर ठोक्कियो । झिलिक्क परेको खैरो, र अहिलेसम्म त्यसको पहिलो सर्भिसिङ पनि नभएको जस्तो नयाँ । तिर्मिराउँदो घाममा नयाँ एलिट कार यस्तो सुन्दर देखिएको छ, मानौँ कुनै कुलीन बेहुलीले बिहेको रिसेप्सन पार्टीमा खैरो रङ्गको लहङ्गा लगाएकी छे र हीरा जडिएका उसका गहनाहरू पालैपालो गरेर चम्किरहेछन् । त्यसै आकर्षित भएर म त्यसको छेउमा पुगेँ । त्यसपछि मेरो नजर पछिल्तिरको महङ्गो पारदर्शी शीशाको पल्लोपटीको सोफाजस्तै सिटमा पर्यो । ... हैन, वास्तवमा सीटमा हैन, सीटमा लडिरहेको मिनरल वाटरको सीलबन्दी बोतलमा, जुन ब्रान्डेड छ । मूल्यवान पानी देखेर मेरो सम्झनामा अचानक खै केके आयो आयो ।
-- हाम्रो बस्तीमा -- जहाँ प्रायःजसो गर्मी महिना शुरू हुने बितिक्कैदेखि नगर निगमले पानी बाँड्न बिर्सने गर्छ -- र जब पानीको ट्याङ्कर आउँछ, भाँडाकुडा र कपडा नधोएका, ननुहाएका मान्छेहरू पानी-पानी-पानी लिने सङ्घर्षमा टाउको जुधाउँदै लाम लाग्ने गर्छन् र ट्याङ्करवाला कुनै राम्री केटीलाई बढी पानी दिने उपक्रममा छेउतिर लैजान्छ र यताउता छुन पनि भ्याउँछ !
-- त्यस रात म एउटा साथीको घरबाट फर्किँदै थिएँ । देखेँ; एउटा सुविधासम्पन्न कोलोनीको गेटमा राखेको खानेपानीको ट्याङ्कीबाट केही मान्छे पानी चोर्दै थिए; केही लोग्नेमान्छेहरू, महिलाहरू, र केटाकेटीहरू ! सशङ्कित भएर डराउँदै हत्केलाले प्लास्टिकका थोत्रा बोतल र फुटेका भाँडामा पानी भर्दै गरेका तिनीहरू सडक पारीपटीको फोहर फाल्ने चउरका छेउमा बस्ने घुमन्ते मजदुरहरू थिए; जसका पोलिथिन र त्रिपालका टुक्राले बनेका घर र भत्किएका गृहस्थीका मूल्य तिनीहरूका जीवनका मूल्य कै बराबरका लागेथे मलाई; जतिबेला कोलोनीको लठ्ठीधारी गार्ड गाली गर्दै दौडेर आएथ्यो र भाग्दै गरेका स्त्री-पुरुषहरूका बीचमा परेको त्यो पाँच-छ वर्ष जतिको बालक कुद्न नसकेर लडेथ्यो, जसको नाङ्गो कालो शरीरमा मात्र एउटा कट्टु थियो । घोप्टो परेर लडेको त्यस केटाको मुखबाट रगतका थोपा बग्न थालेका थिए । त्यो रोयो कि रोएन मैले देख्न पाइनँ; यति मात्र देखेँ, उसले आफ्नो हातबाट पानीको भाँडोलाई उम्किन दिएको थिएन । गाली गर्दै, लठ्ठी बजार्दै खेद्ने गार्ड पछिपछि र पानी चोरेर भाग्दै गरेको रगतपच्छे बालक अघिअघि । र कोलोनीको ढोकादेखि सडक पारीपटी फोहर फाल्ने चउरको मजदुर बाससम्म छल्किएका पानीका थोपासँगसँगै रगतका थोपा पनि एकनासले तप्किँदै पुगेका थिए । ... तिर्खाएको बस्ती र जीवनरक्षक पानीका बीचको रगतले भरिएको भडखालो !
-- प्रदुषित पानी खाएका कारणले एउटा गाउँभरिका मान्छे बिरामी भए । आधा दर्जन मान्छे मरे । केहीको अवस्था गम्भीर थियो ... किनभने गाउँका हातेपम्प कयौँ चोटीको अनुरोधपछि पनि मर्मत गरिएको थिएन ... किन भने भएको एकमात्र इनारको पानी पनि सरकारी रूपमा कहिल्यै सफा गरिएन ... किन भने राजधानीकै एउटा बस्ती, यस टोलमा खानेपानीको समुचित व्यवस्था कहिल्यै गरिँदा पनि गरिएन ।
... किन भने ! ... किन भने ! ... किन भने !
र मेरा आँखाअगाडि एलिट कारमा मिनरल वाटरका झलझलाउँदा बोतलहरू छन् !
टाउको फुटाइ र बलात् स्पर्शलाई सहनुपर्ने विवशताहरू ! ... रगतले भरिएका विभेदका खाल्डाहरू ! ... फोहरको लेदो पिउने गरिएका मार्मिक कथाहरू! ... अनि यो एउटा कारमा भने दुईदुई वटा बोतल धेर भएर त्यसै लडिरहेका !!
मनमनै लाग्यो, कारको शीशामा कस्सेर मुक्कीले बजारूँ । तर ... मैले भनेँ नि, खराब हुने सहुलियत मेरो निम्न मध्यमवर्गीय जिन्दगीले कहिल्यै उपलब्ध गराएन । त्यसैले भित्रबाट आएको कस्सेको मुक्की बाहिर आउन्जेलमा हलुको स्पर्शमा फेरियो; शून्य पलमा मैले कारको ढोकालाई बिस्तारै छोएँ ।
ओहो ! हैन होला !! यस्तो पनि हुन्छ कतै ? कारको ढोका त लक गरिएकै छैन । झुक्किएर खुलेको ढोका मैले हत्तपत्त बन्द गरेँ र तुरुन्तै अर्कोतिर फर्किएँ । निधारमा पसिनाका थोपा छन् । उफ्, कसैले देखेको भए के सोच्थ्यो, मैले कार चोर्न लागेको ठान्ने थियो !!
अलि ओर्तिर आएर फर्केर हेर्दैछु ... एउटा मान्छेसँग दुईदुईवटा बोतल ... चाहिएकोभन्दा दुई गुना पानी ! एक बोतल मैले चोरेँ भने ?? उफ् ! सोच्दा मात्र पनि हेर्नुस् न, स्वासको गति बढ्न थालिसक्यो । हत्केलामा पसिना चिटचिटाउन थाल्यो र मुटुको धडकन आकाशवाणीजस्तै गरेर मेरो ब्रह्माण्डभरि गुन्जिन थाल्यो ।
ढक ढक ढक ढक ढक
हुँदैन त्यस्तो ! कस्तो वाइयात विचार ! म आफ्नो मोटरसाइकल भएतिर फर्किएँ, बेचैन भएर यता उता गर्न थालेँ । नशामा बग्दै गरेको रगतको गति बढ्दै छ । छटपटाहटको सोचशून्यतामा फेरि त्यही कारतिर आउँदैछु ।
अहँ, हुँदैन !!
भित्रबाट कसैले रोक्यो, तर मेरो भने त्यसबेलासम्म पनि स्पस्ट विचार थिएन । आत्माले कस्तो सुक्ष्मस्तरमा हामीलाई समाउँछ; ठीक त्यसरी नै जसरी कुनै आमाले आफ्ना छोराछोरीको अनुहार हेरेर नै थाह पाउँछिन के भएको छ भनेर ! आमा हाम्री आत्मा नै त हुन्छिन्, अथवा हाम्रो आत्मा आमाको आत्माको एउटा टुक्रा हुन्छ ! ... यता मेरो आत्मा मलाई रोक्दैछ; म सम्झने कोशिश गर्दैछु, बितेको एक्काइस वर्षीय जीवनमा के मैले कहिल्यै चोरी गरेको छु ? ... यसभन्दा अघिल्लो चोरी ? ... अहँ, साँचो वा कल्पना गरेकोसमेत कुनै चोरी पनि सम्झनामा छैन ! शायद मैले कहिल्यै चोरी गरेकै छुइनँ, तर ढाँट्ने काम भने एकदुईपल्ट पक्कै गरेको छु, जुन अन्ततः बेस्वादका प्रमाणित भएका छन् ।
-- जब आमासँग पकेटखर्चभन्दा बाहेकको पैसा लिनु थियो, साथीहरूको देखासिखीमा खर्च गर्नका लागि, कलेजको नयाँ फीस-फन्डको गफ लगाएथेँ । पछि थाह भयो, आमाले मेरै लागि भनेर कहिलेदेखि त्यो पैसा जोगाउनु भएकोरहेछ, आउँदो हिउँदमा नयाँ स्वीटर किनिदिनका लागि ।
-- एकपल्ट एउटा साथीले बाइक माग्दा उसलाई नदिने विचारले मैले बिग्रेको छ भन्ने बहाना बनाएको थिएँ, पछि उसले खै कसरी थाह पाएछ र वर्षौँ लगाएर लेखेको किताबजस्तो त्यो मित्रता एकै क्षणमा जलेर खरानी भयो ।
-- स्कूल पढ्ताताकाको एउटा घटना छ । बुवालाई मेरो कुनै -- वहाँको गणित अनुसारको -- आवारापन बारे थाह भएछ ।मैले काखीमा प्याज च्यापेर ज्वरो निकालेँ, र दुई दिनसम्म सुतिरहेँ । तर बुवा आफ्नो कठोरताको खोल फुकालेर ब्यग्र चिन्तित बुवा बन्नुभयो; अनि म आफैँदेखि लज्जित भएँ र आफैँ सबै कुरा ओकलेँ ।
उसो त झूठ नै पनि कयौँ वर्षका भइसके .. अनि आज चोरी ?
हो त !
अहँ हुँदैन !
हो त !
अहँ हुँदैन !
हो त !
--- दोधारमा छुः उसो त म नैतिकता-अनैतिकता, पाप-पुण्य, असल-खराबको द्वन्द्वात्मक अभिव्यञ्जनाहरूतिर लाग्दिनँ । जीवनको मेरो आफ्नै एउटा दर्शन छ, अन्ततः त्यही गर्छु जे गर्ने सहमति भित्रैदेखि आउँछ; र त्यो कहिले गर्दिनँ जसबारेमा भित्रबाट अस्वीकार ध्वनित भइरहेको होस् । म जिन्दगीलाई सरल बनाउनेमा विश्वास गर्छु ।थाह छ, सबै खाले बेइमानीको परिणाम अन्ततः कठीनाइ नै हुन्छ । (अहिलेसम्मका नमीठा अनुभवहरूले यति त सिकाएकै छन्।)
... तर यो चोरी गर्ने इच्छा जाग्नु ! जिन्दगी भएभरका दर्शनहरूभन्दा ठूलो हुन्छ शायद ! भित्रदेखि डर लागिरहेको छ, तै पनि कारका छेउमा आएर उभिएको छु; सबै खाले साहस आखिर डरका नै चरमरूप हुन् । मैले चारैतिर हेरेँ, कतै कसैले मलाई हेरिरहेको त छैन?
दुईतीन जना कर्मचारी रित्तिएका टिफिन बक्स र फक्रिएका हाँसोका साथ मेरो छेवैबाट गए । एउटा गार्ड बिँडीको सर्का मार्दै अर्को गार्ड भएतिर जाँदैछ । एउटा मान्छे स्टार्ट गर्न नसकेर लखरतान भएर स्कुटरलाई डोहोर्याउँदै लैजाँदैछ । आउनेजाने मान्छेहरू शून्यलाई निहाल्दै हिँडिरहेझैँ देखिन्छन् । लखतरान मान्छे कुनै ध्यानमग्न योगीका झैँ मेरो नजिकैबाट बाटैबाटो अगाडी बढ्छ ।
यसको मतलब, मतिर कसैको ध्यान छैन; त्यस अदृष्यको बाहेक, जो मभित्रै छ । एक किसिमले मेरो भित्री म मलाई रोक्दैछ, अर्कोतिर इच्छाले उन्मादको रूप लिँदैछ । सबैका दृष्टीको डरबाट आश्वस्त भइसक्दा नसक्दा अर्को डर अगाडि आइपर्छ - देख्न त कसैले देखिरहेका छैनन्, तर कसैले चोर्दाचोर्दै समात्यो भने नि ? अनि कारको मालिक नै एक्कासी आइपुगेर मलाई रङ्गे हात समात्यो भने चाहिँ नि?
यति के सोचेको थिएँ, थर्थर काम्न थालेँ । डरको ठीक सय प्रतिशत विपरीत भित्रबाट कोई करायो,
साले, यो एलिट क्लास !
ठीक्क त्यत्तिनै बेला उत्तेजना चरममा पुग्यो र मैले भएभरका स्पस्टतालाई हराएँ । ढोका खोलेँ - एउटा बोलत टिपेँ - र ढोका लगाएर त्यहाँबाट ओर्तिर आएँ । जम्मा पाँच-आठ सेकेन्ड मात्र लाग्यो मलाई यति सबै गर्न; ती पाँच-आठ सेकेन्डमा न त मेरो मुटु धड्कियो, न सास ओहोरदोहोर गर्यो र न त रगतको नै कुनै गति रह्यो । मृत्युजस्तै रोमाञ्चका बीच मैले पहिलो चोरीलाई सम्पन्न गरेँ । तिब्र र लरखराएको हिँडाइमा आएर म आफ्नो मोटरसाइकलमा अडेस लागेको छु र यसबेला चोरेको बोतल हातमा समातेर दुर्घटनाबाट बाँचेको मान्छेजसरी लामोलामो सास फेर्दैछु । नशाभित्र रगत अहिले पनि कामिरहेको छ । दिमाग शून्य भएको छ । आँखा चिम्म गरूँझैँ भइरहेछ ।
र केही छिनको विचित्र शून्यपश्चात् म होशमा आएजस्तो भएको छु । ... एक्कासी बुवाको "असल छोरो' को शिर ग्लानिले निहुरिन थालेको छ । यतिखेर रगत धमनीभित्र यसरी हिँड्न थालेको छ, जसरी चडाइँदै गरेको ड्रीपको पाइपभित्र मरेतुल्य भएर जीवन बग्ने गर्छ । भित्र केही भत्किएको जस्तो लाग्दैछ । ... मेरो पालनपोषणको कुनै अंश ! ... कुनै अदृष्य पवित्र वस्तु ! र यो ग्लानी एक्लै आएको छैन; डर पनि रङ्ग फेरेर सँगै आएको छ । मलाई एकाएक सारा संसारले मेरो हातको मिनरल वाटरको बोतललाई व्यङ्ग्य, घृणा र उपहासका आँखाले हेरिरहेछ जस्तो लागिरहेछ; बिँडीका सर्काबीच ठूलठूलो स्वरमा हाँस्दै गरेका सुरक्षाकर्मी कतै मैलाई देखेर त हाँस्दै छैनन् ? ... चौतारामा तास खेल्दै गरेका कर्मचारीले कतै मेरै बारेमा कानेखुसी गरेका त हैनन् ? के तिनीहरूले मैले चोरी गर्दै गरेको देखेका थिए? ... पीपलको बोटको कोरली चरो आफ्नो काम गर्न छोडेर किन मलाई हेरिरहेछ ? ... अनि मेरो साथी नि ??
साथीलाई सम्झिने बित्तिक्कै म पूरै प्राणविहिन भएँ । त्यो फर्किँदै होला; र उसले पक्कापक्की सबै थाह पाउने छ ! मैले यो बोतल म आफैँले किनेको हुँ नै भने पनि उसले मेरो अनुहार हेरेरै सबै कुराको पत्तो पाउने छ । र त्यसबेला मसँग साँचोजस्तो गरेर दृढताका साथ भन्न सक्ने कुनै झूट बाँकी नै रहने छैन ! अथवा हुनसक्छ, उसलाई देख्ने बित्तक्कै म आफैँ नै सबै कुरा भनिदिऊँ ! ... त्यसपछि नजिकका सबै साथीहरूलाई थाह हुनेछ, ... अनि कलेजका सबै केटाहरूलाई, ... अनि आमाबुवालाई, ... अनि नातेदारहरूलाई, ... अनि अन्ततः मेरी गर्लफ्रेन्डलाई जसले मलाई रामजस्तै नायक ठानेकी छे।
शीतल दिनको कलिलो घाममा पनि म पसिनाले निथ्रुक्कै भइसकेको छु; चोरी गर्दा मृत्युजस्तै रोमाञ्च थियो... अहिले मृत्युजस्तै ग्लानि छ ।।
साथी आउँदै नै होला, म भर्खर ब्यूँझिएझैँ भएको छु । उन्मादको बेला निरिह भएका भित्री आवाजहरू यतिबेला धारिला हतियारजस्तै लाग्ने भएर फर्किएका छन् ।
-- जा, बोलत त्यहीँ राखिदिएर आइज !! ... जा भनेको !!
--सहनै पर्ने विवशताहरू! ... रगतले भरिएका खाल्डाहरू ! ... फोहर पिउनु पर्ने मार्मिक व्यथाहरू ! ... अनि एलिट क्लासलाई प्राप्त सुखका छेलोखेलो !
अहँ ! बोतल त कसै गरी फर्काउने छैन म ! ... तर साथी आइपुग्नै लाग्यो होला !
अब ??
दिमागभरिको कुइरो बोकेर, परिसरबाट बाहिरतिर निस्कँदैछु र यस बीच मलाई रमाइला समयका कथाजस्ता मान्छेहरू, फूलहरू, पुतलीहरू, लहराहरू, रुखहरू सबै तिनको आआफ्ना उपस्थितिभन्दा बढी केही पनि हैनन् भन्ने लागिरहेछ । तिनीहरू एउटा विशेष मानसिक स्थितिको सौन्दर्यबाहेक ज्यादा केही हैनन् !
अगडि एउटा माग्ने देखापर्यो, र त्यसलाई देख्ने बित्तिक्कै एकाएक मेरो दिमागी कुहिरो पन्छिएर छ्याङ्ङ भयो । म त्यस अधबैँसेलाई नियालेर हेर्न थालेँ ।त्यसको पूरा जीवनभरमा यस देशले आफ्नो यस नागरिकलाई के दियो? ... झुत्रा लुगा, ... रगत बग्ने गरी फुटेका गोडा, ... जिङ्ग्रिङ्ग कपाल, ... मैलो अनुहार, ... घिनलाग्दो दारी, ... भोकाएका आँखा, ... र हड्डी मात्रको शरीर ! चालीसको उमेरमै पचासको भइसकेको माग्ने मलाई देख्ने बित्तिक्कै माग्न थाल्यो । मलाई एउटा अमूल्य मानवजीवन यसरी गरिमाहीन हुनुको पीडा भयो ।
यस मान्छेले पनि आफ्नो जीवनभर गुणस्तरहीन पानी नै खाएको होला !
मैले हत्तपत्त बोतल त्यसको हातमा राखिदिएँ र एकरत्ति दया नदेखाईकन कठोर अनुहार बनाएर भनेँ,
"तुरुन्त गै हाल् यहाँबाट !"
छक्क परेको माग्नेले केही पनि बुझेन, आफ्नो तत्कालिन हितबाहेक । र ऊ तुरुन्तै हिँडी पनि हाल्यो । डर, सन्देह र अस्पस्टताका सबै संस्कारहरूबाट वरिपरि हेरिसकेपछि म एक्कासी सहज अनुभूत गरिरहेछु ।
... बिर्सिदिनुस्, मैले कुनै बेला चोरी पनि गरेको थिएँ ।
(मूल हिन्दीबाट सुमन पोखरेल द्वारा अनुदित)
This translation was first published on Annapurna Post
Related Posts
See All[साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया' (साउन -असोज २०६७) सँग कवि सुमन पोखरेलको अन्तर्वार्ता] ..............................................