छ्यान्द्रो मेरो मुटुमा / सुमन पोखरेल
- सुमन पोखरेल
- Feb 11, 2015
- 1 min read

छ्यान्द्रो मेरो मुटुमा माया राखिनौ ठीक गर्यौ
भन्छन् डोकोमा थापेर पानी कहिल्यै भरिन्न
पार गर्ने गराउने जहाज नै पाइन्छ भने
कागजको नाऊमा बसेर सागर कहिल्यै तरिन्न
छाती चिरेर देखाऊँ कसरी, भित्र हाल के होला
हजार टुक्रा भएर पनि मुटु कहिल्यै छरिन्न
हेर्ने भए आऊ फेरि यस्तो मौका नहोला
एकपल्टको जीवनमा दोहोर्याएर मरिन्न
जीवनको चिसो अनुभव, यी आँसु मैले के गर्नु
माघको महिना लेकमा दिनहुँ नुहाउने गरिन्न
अब मेरो मृत्युमा अपशोच तिमी नगर्नू
आँखाको कसेर निस्किँदा आँसु बहाउने गरिन्न
Комментарии