तिमी नहुँदा \ हर्मन हेस्से
- हर्मन हेस्से
- Feb 5, 2015
- 1 min read
सिराने ट्वाल्ल परेर हेर्छ मलाई

चिहानको ढुङ्गाले जसरी ।
एक्लो हुँदा,
तिम्रा केशमा निदाउन नपाउँदा,
यति बिघ्न खल्लो होला भन्ने मलाई कहिल्यै लागेको थिएन।
म एक्लै ढल्किरहेछु रित्तो घरमा,
झुन्डिरहेको लालटिन मधुरो भयो।
मैले बिस्तारै आफ्ना हात लम्काएँ
तिम्रा हात बटुल्नलाई,
आफ्ना ताता ओठलाई बिस्तारै थिचेँ तिमीतिर,
र थकित र दुर्वलाताका साथ चुमेँ आफैँलाई ।
एक्कासी ब्यूँझिएँ म त्यसपछि
चिसो रात अझै मेरो वरिपरि बढ्दै थियो ।
झ्यालको तारा स्पस्ट चम्किरहेको थियो -
तिम्रा सुनौला केश कहाँ छन्
कहाँ छन् तिम्रा मधुर ओठहरू ?
दु:खाइ पिउँदैछु म अहिले हरेक आनन्दमा
र बिष पिउँदैछु वाइनका हरेक प्यालामा
एक्लो हुँदा,
तिमी नभएर एक्लो हुँदा,
यति बिघ्न खल्लो होला भन्ने मलाई कहिल्यै लागेको थिएन।
..........................................................
सुमन पोखरेलद्वारा अङ्ग्रेजीबाट अनुदित
..........................................................















Comments