मृत्युः कसरी आउँछस् तँ? / छादोर वाङ्ग्मो
- छादोर वाङ्ग्मो
- Aug 31, 2018
- 1 min read

के तँ नदेखिने गरी चालमारेर आउँछस् र मलाई एक्लै पारेर सुँघ्छस् ?
के तँ मेरा आँखाका ढकनीमाथि तुर्लुङ्ग झुन्डिएर निद्राको वेशमा आउँछस् र मलाई थुम्मुम्याएर सधैँका लागि निदाएको निदाएकै बनाउँछस् ?
के तँ आफ्ना सबै प्रभुत्वसहित मेरा चञ्चल वेदनाहरूलाई हकार्दै पीडादायक रोगहरूले मलाई जिस्काउँदै र मेरा चेतनाहरूलाई एकएक गरी मार्दै आउँछस्? वा केही नभनी आउँछस् तँ सघैँकै जसरी– जब मलाई जीवनको सबैभन्दा ज्यादा आवस्यकता परेको हुन्छ जब म आफ्नो क्षितिजलाई फैल्याउन चाहिरहेकी हुन्छु जब म मेरो अमरत्वलाई तन्काउन खोजिरहेकी हुन्छु ।
दया गरेर भन्दे मलाई, कहिले आउँछस् तँ र, कसरी आउँछस् ?
……………………………………………………
अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित
……………………………………………………
Chador Wangmo translated into Nepali by Suman Pokhrel
…………………………………………………………………………………………
This translation was first published on Nepali Kalasahitya Dot Com
Comments