top of page

कुठाउँ / अनामिका


Indian poet Anamika

"आफ्ना ठाउँबाट निस्केपछि

कतैका रहँदैनन्

केश, आइमाई र नङहरू"-

व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी

हामीलाई संस्कृत पढाउने गुरु ।

ठाउँ? ठाउँ भनेको के हो?

त्यसरी बुझेका थियौँ हामीले

एक कक्षामा पढ्दैखेरी ।

याद थियो हामीलाई एकएक क्षण

आरम्भिक पाठहरूको -

राम, पाठशाला जा !

राधा, खाना पका !

राम, आइज मिठाई खा !

राधा, घर बढार् !

भाइको सुत्ने बेला भयो

गएर ओच्छ्यान लगा !

आहा! नयाँ घर!

राम, हेर यो तेरो कोठा हो!

'अनि मेरो?'

'ए, लाटी,

छोरी त हावा, घाम, माटो हो

उसको कुनै घर हुँदैन'।"

जसको कुनै घर नै हुँदैन-

कसरी उसको कुनै ठाउँ होस्?

कुन ठाउँ हुन्छ यस्तो

जो छोडिएपछि आइमाई बन्ने गर्छ ।

काटिएका नङहरू, र

काइँयोमा झल्झिएर उखेलिएका केशजसरी

बढारेर मिल्काइदिने खाले?

घर छुट्यो, आँगन छोडियो, छोडिए मान्छे र बगैँचाहरू

केही प्रश्नहरूले पछ्याउँदै थिए, ती पनि छोडिए!

छुट्दै गए ठाउँहरू

तर नेलकटर वा काँइयोमा अल्झिरहेको जस्तो त

कहिल्यै लाग्दै लागेन!

परम्पराबाट छोडिएपछि केवल यस्तो लाग्छ-

कुनै ठूलो क्लासिक रचनाबाट झिकेर

बी.ए. पासकोर्सको प्रश्नपत्रमा छर्किएको

एउटा सानो पङ्ति हुँ -

चाहन्नँ तर

कोही गर्न थालोस्

मेरो सप्रसङ्ग व्याख्या ।

सारा सन्दर्भहरूलाई पार गरेर

मुस्किलले उडेर पुगेकी छु

त्यसरी नै बुझिऊँ, त्यसरी नै पढिऊँ

जसरी पढिन्छ तुकारामको कुनै

अधूरो अम्भग!

…………………………………………………

हिन्दीबाट सुमन पोखरेलद्वारा अनूदित

………………………………………………………………………………

Anamika translated into Nepali by Suman Pokhrel

……………………………………………………………………………………………...

This translation was first published in ‘Kalashree 2018’

……………………………………………………………………………………………...

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page