top of page

पछि जेल जानेहरूलाई सल्लाह / नाजिम हिकमत

  • Aug 24, 2018
  • 1 min read

Nazım Hikmet

समस्त विश्व, तिम्रो देश र तिम्रा जनताहरूका लागि

सुन्दर भविष्यको आशा नछोडेका कारण

गलामा पासो लगाएर झुन्ड्याइनुको साटो

यदि तिमीलाई जेलमा कोचियो भने

यदि तिमी आफूले छोडेको समयभन्दा

दश वा पन्ध्र वर्ष टाढिने भयौ भने

"म बरू एउटा डोरीको टुप्पोमा झन्डाजसरी फर्फराएको भए हुने थियो"

भन्ने ठान्ने छैनौ तिमीले।

तिमी भूईँमै खुट्टा टेक्नेछौ र बाँच्नेछौ।

त्यसो हुनु त्यति आनन्ददायी नहुन सक्छ,

तर आफ्ना बैरीलाई पराजीत गर्नका लागि

एक दिन ज्यादा बाँच्नु तिम्रो प्रमुख कर्तव्य हुन आउँछ।

जेलभित्र तिम्रो केही अंश एक्लै बाँचिरहेको हुनसक्छ,

इनारको पिँधमा गुन्जिने आवाजजस्तै।

तर

तिम्रो बाकीँ अंश दुनियाँको आँधी सँगसँगै दौडिरहेको हुनुपर्छ

बाहिर चालिस दिन परको दूरीमा कुनै पात हल्लिँदा

जेलभित्र तिमी हल्लिने गरी।

जेलभित्र रहेर

चिठ्ठीको प्रतिक्षा गर्नु,

उदाश गीतहरू गाउनु,

ओछ्यानमा पल्टिएर रातभर दलिन हेरिरहनु

रमाइलो हुन्छ, तर उत्तिकै खतराजनक पनि।

दाह्री काटेपिच्छे आफ्नो अनुहार हेर्ने गर्नू

आफ्नो उमेरलाई चटक्कै बिर्सिनू

जुम्रा हेर्नू र वसन्तका रातहरू पनि हेर्ने गर्नू

र अघाउँजी खान सधैँ सम्झिनू,

अनि मन खोलेर हाँस्न पनि नबिर्सनू।

के थाह,

तिमीले माया गरेकीले तिमीलाई माया गर्न छोडिसकेकी हुन पनि सक्छिन्‌।

यो ठूलो कुरो हैन, नभन –

जेलमा हुँदा यस्तो हुनु

रुखको थुर खसेर टाउकामा लाग्नु जत्तिकै हुन्छ।

जेलभित्र बसेर गुलाफ र बगैँचाहरूका बारेमा सोच्नु राम्रो हुँदैन,

समुद्र र हिमालहरूका बारेमा सोच्नु ठीक हुन्छ।

अविश्रान्त पढ्ने गर्नू, लेखिरहनू,

र सिलाइबुनाइ गर्ने र ऐना बनाउनेजस्ता काम गर्ने सल्लाह पनि दिन्छु म।

यसको अर्थ

जेलभित्र तिमी

दश वा पन्ध्र वर्ष अथवा अझ धेरै बिताउन सक्दैनौ भन्ने छैन।

सक्नेछौ,

तिम्रो छातीको देब्रेतिर भएको गहनाले

प्रज्वलित हुन नछोडुन्जेल

कुशलताका साथ सक्नेछौ।

.........................................................................

Translated from English by Suman Pokhrel

.........................................................................

Nazım Hikmet translated into Nepali by Suman Pokhrel

......................................................................................................

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page