जारसँग / फैज अहमद फैज
आऊ, तिमीसँगै जोडिएको छ त्यस सौन्दर्यको सम्झना
जसले यो मनलाई अप्सराको घर बनाइदिएथ्यो,
बिर्सिएको थिएँ जसको प्रेममा मैले दुनियाँ
त्यसले दुनियाँलाई कथाको संसार बनाइदिएथ्यो ।
परिचित छन् तिम्रै गोडासँग ती बाटाहरू
जसमा उनको मदहोश बैँसले गरेथ्यो अनुकम्पा
हिँडेका छन् जहाँबाट उमङ्गका ती झुन्डहरू
गरेथे यी आँखाले व्यर्थै जसको उपासना ।
तिमीसँगै खेलेका छन् हावाका प्रेमील ती स्पर्शले
जसमा बाँकी छ सुगन्ध उनका उदाश वस्त्रहरूको
तिमीमा पनि बर्सेको छ त्यस छानाबाट जूनको ओज
जसमा बाँकी छ सम्झना बितेका रातहरूको।
तिमीले नै देखेका छौ त्यो निधार, ती गाला, ती ओठ
पूरै जिन्दगी जसको कल्पनामा लुटाएँ मैले,
तिमीतिरै फर्केका छन् हराएका ती मायावी आखाँहरू
तिमी नै बुझ्दछौ, किन उमेर खेर फालेँ मैले।
समान छन् प्रेमका चोटले हामीलाई गरेका अनुग्रहहरू
यति धेरै अनुग्रह, जो गनूँ भने गन्न सक्तिनँ
मैले यो प्रेममा केके गुमाएँ केके सिकेँ
तिमीबाहेक अरूलाई बुझाऊँ भने बुझाउन सक्तिनँ ।
विनम्रता सिकेँ, गरीवहरूको पक्ष लिन सिकेँ
आशा-निराशाका, दु:खदर्दका अर्थ सिकेँ
निर्वलहरूका चोट र व्यथा बुझ्न सिकेँ
चिसा सुस्केराका, र ओइलिएका अनुहारका अर्थ सिकेँ ।
कतै रुन्छ कोही असहाय जब
जसका आँशु आँखामा टिलपिलाउँदै निदाउने गर्छन्,
झब झन्टिन्छन् चिलले शक्तिहीनहरूका गाँसमा
पाखुरा भरिएर आउँछन्, कस्सिन थाल्छन् ।
जब बिक्छ बजारमा मजदूरको मासु
राजमार्गमा गरीबको रगत बग्छ
वा बढ्दै गरेको भुँडीको बाढी लिएर कसैले
भोकमै रमाइरहेकालाई बगाओ भन्छ,
नसोध, छातीमा कसरी दन्किन्छ आगो
म कसै गरी मन सम्हाल्नै सक्तिनँ ।
.........................................................................
Translated from English by Suman Pokhrel
.........................................................................
Faiz Ahmad Faiz translated into Nepali by Suman Pokhrel
......................................................................................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...