पहिलेजस्तो प्रेम नमाग मसँग मेरी प्रिया ! \ फैज अहमद फैज
- Feb 5, 2015
- 1 min read

पहिलेजस्तो प्रेम नमाग मसँग मेरी प्रिया!
मेलै ठान्याथेँ, तिमी भए जीवन त्यसै उज्यालो हुनेछ
तिम्रो साथ भएपछि किन गर्नु मैले चिन्ता अरू,
तिम्रो सौन्दर्यका कारण संसारभर वसन्त टिकिरहनेछ
तिम्रा आँखाभन्दा मूल्यवान के नै छ र दुनियाँमा अरू,
तिमी मेरी भए झुकाउने छ शिर भाग्यले
त्यस्तो त थिएन, केवल चाहेथेँ त्यस्तो मैले।
अरू दु:ख पनि छन् संसारमा प्रेमभन्दाबाहेक
सुख अरू पनि छन् मिलनको सुखभन्दाबाहेक।
युगौँदेखिका मायावी अन्धविश्वासहरू
रेशमले, मलमलले, मखमलले बुनिएका,
बजारभरि जताततै बिक्दै गरेका शरीररहरू
फोहरमा लुटपुटिएका, रगतमा नुहाएका,
शरीरको भट्टीबाट रोगहरू निस्किरहेका
पाकेका घाउबाट पीप बगिरहेका।
फर्कीफर्की पुग्छ त्यता पनि नजर के गर्नु!
लोभलाग्दो छ तिम्रो सौन्दर्य अझै तर के गर्नु!
अरू दु:ख पनि छन् संसारमा प्रेमभन्दा बाहेक
सुख अरू पनि छन् मिलनको सुखभन्दा बाहेक
पहिलेजस्तो प्रेम नमाग मसँग मेरी प्रिया!
..........................................................
उर्दूबाट सुमन पोखरेलद्वारा अनुदित
..........................................................
















Comments