जर्मनीको एउटा यहुदी चिहानघारी \ यहुदा अमिसाई
एउटा सानो चिहानघारी छ,
उर्वर खेत छेउको थुम्कोमा
खिया लागेको ढोका पर्तिर,
घाँस र बुट्यानले छेकिएको
छोडिएको, बिर्सिइएको
यहुदीहरूको चिहानघारी।
न प्रार्थनाको स्वर, न त बिलौना गरेको आवाज नै सुनिन्छ त्यहाँ
ईश्वरका लागि हैन मृतकका सम्झनामा।
हाम्रा केटाकेटीले खेलेका स्वर मात्र सुनिन्छ त्यहाँ,
चिहान खोजेको र
भेट्टिएपिच्छे जङ्गलमा च्याउ वा भूईँऐँसेलु भेट्टिएजसरी
हर्षले कराएको।
यहाँ अर्को चिहान रैछ !
यसमा हाम्री आमाकी आमाको नाम छ,
र अघिल्लो शताब्दीको मिति पनि लेख्या छ।
ई, यहाँ अर्को नाम रैछ, र यहाँ पनि !
नाममाथि लागेका झ्याउ सफा गर्नै लाग्दा
देखेँ मैले
हत्केला खुलेको एउटा हात बाहिर निस्किएको रहेछ चिहानबाट, कोहेनको चिहान,
तिनका ओँलाहरू पवित्रता र आशिर्वादले भरिएर खुलेका थिए।
र यहाँ छेऊमा अर्को चिहान रहेँछ मसिना झिँजाहरूले छोपिएको
त्यसलाई बढारेर मिल्काउनु छ
एउटी सुन्दर र मायालु स्त्रीको अनुहारबाट रौँ सफा गरेजसरी।
..........................................................
सुमन पोखरेलद्वारा अङ्ग्रेजीबाट अनुदित
..........................................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...