उनलाई फेरि भेट्न \ गाब्रिएला मिस्ट्रल
के, अब कहिल्यै हुँदैन र ?
थर्थराइरहेका ताराहरूले भरिएको रातमा
उषाको मधुर उज्यालाका बीच
वा समर्पणका साँझहरूमा पनि हुँदैन र?
अथवा खेतबारी वरिपरि बेरिएको
कुनै उदास बाटाको किनारमा
वा जूनेलीले चम्काएको कम्पित फोहराको बिटमा
पनि हुँदैन?
घना रेसमी जङ्गलका ती केशमुनि
जहाँ, उनलाई नामले बोलाऊँ भन्दा
रातले मलाई उछिनेको थियो
वा मेरो रुवाइको प्रतिध्वनि फर्काउने
गुफाभित्र पनि हुँदैन?
अहँ, उनलाई फेरि भेट्न
ठाउँले कुनै अर्थै राख्दैन।
स्वर्गको मृततलाउ होस्
वा उम्लिरहेको तेल
शितल जूनेलीको ओत होस् वा
ओठमुख सुकाउने त्रासको छाया!
उनीसँग हुँदा...
बाँधिइन्छन् समस्त वसन्त र हिउँदहरू
पीडाको एउटै गुच्छा भएर
उनको गला वरिपरि!
..........................................................
अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित
..........................................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...