top of page

अमेरिका \ एलेन गिन्सबर्ग


अमेरिका, मैले सबैथोक तिमीलाई दिएँ र आफू रित्तो भएँ

अमेरिका, दुई डलर र सात्ताइस सेन्ट

जनवरी सत्र

उन्नाइस सय छप्पन्न।

मलाई आफ्नै मथिङ्गल गर्‍हौँ भइरहेछ।

अमेरिका, हामी मानवीय युद्धलाई कहिले विसर्जन गर्नेछौँ?

लु भयो, तिम्रो एटम बमसँग तिमी आफैँ पोइल जाऊ।

मलाई ठीक लागेको छैन, दु:ख नदेऊ मलाई।

मेरो दिमाग ठीक ठाउँमा नआउन्जेल कविता लेख्दिनँ म।

अमेरिका, तिमी कहिले देवदूतझैँ हुनेछौ?

कहिले तिमी फुकाल्ने छौ आफ्ना लुगा?

कहिले हेर्नेछौ तिमी आफूलाई चिहानबाट?

तिमी आफ्ना लाखौँ ट्रोट्‌स्किबाट कहिले चिनिने छौ?

अमेरिका, तिम्रा पुस्तकालयहरू किन आँसुमा डुबेका छन्?

अमेरिका, तिमी आफ्ना अन्डाहरू कहिले देखि इन्डिया पठाउँ छौ?

म तिम्रा नचाहिँदा जिद्दिबाट दिक्क भइसकेँ।

सुपरमार्केटमा गएर आफूलाई चाहिएका चिज उज्यालो अनुहारले कहिले किन्न सक्छु म?अमेरिका, पूर्ण भनेको आखिर तिमी र म नै हौँ, बाँकी विश्व होइन।

तिम्रा यन्त्रहरूका टन्टाघन्टा मलाई वाइयात्‌ लाग्न थालिसके।

तिमीले गर्दा मलाई जोगी हुन मन लाग्दैछ।

यस अर्घेल्याईँलाई साम्य पार्ने अरू कुरा पनि पक्कै छन्‍।

टेन्जियर्समा छ बरोग,

ऊ आफ्नो अलच्छिन बोकेर फर्कनेछ भन्ने लाग्दैन मलाई।

तिमी अलच्छिन हुँदैछौ वा या यो कुनै ठूलै ठट्टा हो?

गाँठ्ठी कुरो भन्न खोज्दैछु म,

म मेरो अम्मल छोड्न अस्वीकार गर्छु।

अमेरिका, घँच्याड्न छोड, म के गर्दैछु भन्ने मलाई राम्ररी थाह छ।

अमेरिका, गर्विला छातीहरू रित्तिँदैछन्।

महिनौँ भयो मैले कुनै पत्रिका नपढेको,

हरेक दिन कोही न कोही हत्याको अभियोग बोकेर कठघरामा उभिइरहेछ।

अमेरिका, म यो अस्थिरता देखेर भावुक हुँदैछु

अमेरिका, म केटाकेटी छँदा कम्युनिस्ट थिएँ।

यसमा मलाई दु:ख लाग्दैन।

म भेटेपिच्छे गाँजा तान्छु।

म कयौँ दिन घरबाट निस्कन्न र टोलाएर गुलाफका फूललाई हेरिरहन्छु।

म चाइना बजार गएपिच्छै बेस्सरी मात्दछु, तर कहिल्यै ढल्दिनँ।

मेरो दिमागको बनोट नै आपत निम्त्याउने खालको छ।

मलाई मार्क्स पढ्दै गरेको देखेको हुनुपर्छ तिमीले।

मानसिक रोग हेर्ने मेरो डाक्टर मलाई केही भएको छैन भन्छ।

म कहिल्यै कुनै पूजापाठ गर्दिनँ।

मेरो दृष्टि ईश्वरीय तरङ्गले निसृत र आध्यात्मिक छ।

अमेरिका, मैले अझै भनेकै छैन, तिमीले रुसबाट फर्किएका मेक्स काकालाई के गर्‍यौ भनेर।

म तिमीलाई सम्बोधन गर्दैछु।

के तिमीले आफ्नो भावनात्मक जीवन चलाउने जिम्मा टाइम्स पत्रिकालाई दिइसकेका हौ?

टाइम्स पत्रिकाले मलाई दास बनाएको छ।

हरेक हप्ता पढ्ने गर्छु म यसलाई

म चाल मारेर कुनाको किराना पसलतिर जाँदा पनि यसको आवरणले मलाई एकटकले हेरिरहन्छ,

बरकेली सार्वजनिक पुस्तकालयको छिँडीमा बसेर पढ्ने गर्छु म यसलाई।

यो सँधै दायित्वहरू सुनाइरहन्छ मलाई-

व्यापारीहरू सम्वेदनशिल छन्,

सिनेमा बनाउनेहरू चिन्तित छन्,

हरेक मान्छे आ-आफ्ना काममा लागिपरेका छन् म बाहेक।

यसले गर्दा म नै अमेरिका हुँ जस्तो लाग्छ, मलाई।

म फेरि आफैँसँग कुरा गर्दैछु।

एसिया मलाई पछार्न लागिपरेको छ।

चिनियाँहरूको जस्तो मौका कहिल्यै पाइनँ मैले।

मैले मेरो राष्ट्रका सम्पतिहरूको ख्याल गरेको भए ठीक हुनेथ्यो।

मेरो राष्ट्रिय सम्पति भनेको

गाँजाका दुई सर्का, लाखौँ यौनाङ्गहरू,

प्रकाशित गर्न नमिल्ने प्रति घन्टा चौध सय माइलको गतिमा कुद्ने व्यक्तिगत साहित्य

र पच्चीस हजार मानसिक संस्थाहरूको एकमुष्ठ सँगालो हो।

मेरा जेलहरूका बारेमा केही भन्दिनँ म ,

न त पाँच सय सूर्यको प्रकाशमुनि अवसरबाट वञ्चित मेरा गमलामा बाँच्ने लाखौँहरूका बारेमा केही बोल्नेछु।

मैले फ्रान्सका वेश्यालयहरू भत्काइसकेकोछु,

अब पालो तान्जियरहरूको छ।

मेरो महत्वाकाङ्क्षा राष्ट्रपति हुने छ,

आफू एउटा क्याथोलिक नै भए पनि।

अमेरिका,

म तिम्रो मूर्खताभित्र बाँचेर कुनै पवित्र श्लोक कसरी लेख्न सक्छु?

म हेनरी फोर्डको झैँ गरिरहने छु,

मेरा कविताका पदावलीहरू उनका मोटरहरूझैँ एक्लाएक्लै पूर्ण छन्

अझ भन्छौ भने तिनीहरू प्रत्येक अलगअलग लिङ्गका छन्‌।

अमेरिका,

म तिमीलाई कविताका पदावलीहरू गोटाको पच्चीस सय डलरमा बेच्नेछु

तिम्रा पुराना कवितासँग साट्छौ भने त्यसमा पाँच सय डलर छुट दिनेछु।

अमेरिका, टोम मुनेलाई छाड्देऊ

अमेरिका, स्पेनी उदारवादीलाई जोगाऊ

अमेरिका, साक्को र भेन्जेट्टीले कसै गरी मर्नु हुँदैन

अमेरिका, स्कटबोरो ब्वाइज मै हुँ।

अमेरिका,

म सात वर्षको छँदा आमाले मलाई कम्यूनिस्टहरूको गोप्य मिटिङ्मा लैजानु भएको थियो।

तिनीहरूले एउटा टिकट बापत

हामीलाई एक अञ्जुली चना बेचेका थिए,

एउटा टिकटलाई पाँच सेन्ट पर्थ्यो

र भाषण चाँहि सित्तैमा सुन्न पाइन्थ्यो।

त्यहाँ भएका सबै स्वर्गबाट आएका जस्ता कुरा गर्थे

र कामदारहरू प्रति संवेदनशिल देखिन्थे

त्यो साह्रै गम्भीर मिटिङ् थियो।

अठार सय पैँतीसमा त्यो पार्टी कति राम्रो थियो भन्ने तिमीलाई थाहै छैन!

स्कट नियरिङ साँच्चैका भद्र बुढामान्छे थिए,

मदर ब्लोरको कुरा सुनेर म रोएको थिएँ,

मैले एकपल्ट इज्राइल अम्तेरलाई पनि देख्न पाएँ,

हरेक व्यक्ति जासुस हुनैपर्थ्यो।

अमेरिका, तिमी त युद्ध चाहँदै चाहँदैनौ।

अमेरिका, लँडाई चाहने त ती फटाहा रुसीहरू हुन्।

ती रुसीहरू, ती रुसीहरू र ती चिनियाँहरू।

र ती रुसीहरू।

रूस हामीलाई जिउँदै खान उद्दत छ।

रूस शक्तिशाली हुन बौलाहाझैँ लागिपरेको छ।

ऊ हाम्रा ग्यारेजबाट हाम्रा कारहरू लान खोज्दैछ।

शिकागो कब्जा गर्न खोज्दैछ ऊ।

उसलाई एउटा लाल रिडर्स डाइजेस्ट चाहिएको छ।

ऊ हाम्रा मोटर बनाउने फ्याक्टरीहरूलाई साइबेरियामा सार्न चाहन्छ।

उसको महाकाय कर्मचारीतन्त्रले हाम्रो भावनाको केन्द्रलाई

सञ्चालन गरिरहेछ।

यस्तो हुनु ठीक हैन,

उफ्!

त्यसले इन्डियनहरूलाई पढ्न सिकाउने भो’।

त्यसलाई बलिया काला हब्सीहरू चाहिएको छ।

त्यसले हामी सबैलाई दिनको सोर्‍ह घन्टा काम गर्न बाध्य बनाउने भो‘।

गुहार!

मलाई जोगाऊ !

अमेरिका, यो निक्कै गम्भीर कुरो हो।

अमेरिका, मैले टेलिभिजन हेरिरहेर आजसम्ममा बुझेको कुरो यही हो।

अमेरिका, के यो कुरो साँचो हो?

गाँठी कुरो नलुकाई भनिहाल्नु नै ठीक होला।

हो, म सेनामा भर्ती हुन चाहन्नँ,

फ्याक्टरीमा मेसिन चलाउने काम गर्न पनि सक्दिनँ।

मेरा आँखा कमजोर छन्‌, टाढाको देख्दिनँ

र उसै पनि मनोरोगी त छदैँछु!

अमेरिका, म कम्मर कस्दैछु।

..........................................................

अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनुदित

..........................................................

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page