top of page

स्वभक्षणको हक / सुमन पोखरेल

Sep 23, 2018
2 min read

म आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु अनि आफ्नै रक्तिसँग मिसाएर रक्सीसँग खान्छु, आँशु र पसिनाको । खाऊँ खाऊँ लागेन, तिमीलाई सुन्दाखेरी ? आऊ, सँगै बसेर खाऊँ मेरा आँखा निकालेर गुच्चा खेलौँला, वा तिमी भन्छौ भने, टेनिस खेलौँला, यी हातहरूको ब्याट बनाएर । कुन टेनिस खेल्ने ? टेबुल कि लन ? वा गफ्फ खेल्ने ? कि क्रिकेट ? हैन भने आऊ, मेरो टाउकाको फुटबल खेलौँ मेरै छातीको टुँडिखेलभरि । मेरा दाँत निकालेर कौडा खेलौँला पूरै दुई सेट पुग्छन् । हैन भने भुटी खाउँला कि उमालेर खाने ? गिजालाई टुक्राटुक्रा पारेर मिसायो भने मीठो सुप बन्छ । यी ओठ काटेर मुटु र कलेजोसँगै भुटौँला । नाकको सुल्फामा कपाल डडाएको धूवाँ गाँजाजस्तो छैन त ? के हेरेको ? सिद्धियो रक्सी ? थूक मिसाइदिऊँ ? तर के सिद्धिन्थ्यो रक्सी पनि ! त्यो पनि आँशु र पसिनाको ! म त खान थालेँ । स्वतन्त्रता पाएको छु मैले आफ्नै रक्तिसँग आफ्नै पसिनाको रक्सी खाने । अलि वर आऊ, सँगै बसेर मनाऔँ मेरो स्वतन्त्रोत्सव । ढुक्क होऊ, तेलबेसार लिएर आउनु पर्दैन तिमीले । मेरै पँहेलो बोसोमा तारौँला मेरा नाक र कानहरू । कुन मीठो लाग्छ तिमीलाई ? छाला भएको कि नभएको ? छाला बिनाको मनपर्छ भने, भन छाला काढेर खोल बनाउन हुन्छ । पालैपालो ओढौँला तिमी र म । अपराध गर्ने बेलामा तिमी ओढ्नु जेल जाने बेलामा म ओढौँला । हड्डी चपाउन सक्छौ ? सक्छौ भने खाऊ, देशजस्तै सक्दैनौ भने पनि पीर नगर हड्डी र देश रहेकै राम्रो । छाला पलाए, फेरि खान हुन्छ । मासुको कुरो चाहिँ नगर्नु नि यहाँ केवल नागरिक भएर बाँच्नेहरूमा हाड र छाला अनि अलिकति रगत मात्र रहेको हुन्छ । छक्क परेका हौ कि अभिनय गर्दैछौ ? किन टोलाएको ? आफूले नखाए तिमीजस्ताहरूले खाइदिई हाल्छन् त्यसैले खान थालेको हुँ मैले आफ्नो मासु । एउटा सम्बृद्ध सपना बोकेर झुन्ड्याउने चलनलाई जितेर छाला काढ्ने राज्यलाई पराजित गरेर जिब्रो लुछ्ने शासकलाई ढालेर यहाँसम्म आएको हुँ म । तर के गर्ने ? तिमीहरूले आफ्ना लागि रेड कार्पेट किन्नलाई हाम्रा सबै सपना बेचिहाल्यौ ! हामीले देखेको सपनामा आफ्नै रगत र छाला खाएर प्यास र भोक मेटाउनु पर्दैनथ्यो । छाडा जिब्रो र गुच्चा खेलिने आँखा मात्र बाँकी राखेर आफूलाई सिध्याउनु पर्दैन थियो । अब तिमी जे गर नगर मसँग अर्को विकल्प छैन, यसबेला । म आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु अनि आफ्नै रक्तिसँग मिसाएर रक्सीसँग खान्छु आँशु र पसिनाको । मसँग मात्र यही एउटा अधिकार बाँकी छ ।

 
 
 

Related Posts

See All
THIS CITY IS MINE

The forty-year-long city, to me at the time, stretched across the span of my life, had become part of my being, dancing and twirling through the myriad layers of my mind and the countless rooms of my

 
 
 

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2026

bottom of page