top of page

शून्य मुटुको धड्कनभित्र / सुमन पोखरेल

Sep 23, 2018
2 min read

यो कस्तो शून्य भयो !

मुटुले पनि पोल्यो आँखाले पनि पोल्यो केवल आगोले पोलेन यो चुरोटले पोलेन ।

मायाले पोल्यो आरिसले पोल्यो, हिजो हरायो आज शून्य भो' ।

***

तरल यो जीवनबीच न आलिङ्गनले भिजायो न चुम्बनले भिजायो न यौवनले भिजायो । क्षितिजसहित आकाश शून्य भो' फगत आँखाले भिजायो ।

पैदल यात्रा यो तरलताको पाइला हरायो उडेर आकाशमा।

माया आगो, माया पानी मिलेर आपसमा धूवाँ भो यो कस्तो शून्य भो' ।

माया शून्य !

माया किन हुन्छ शून्य !

शून्य मायाले जीवनको आँखा शून्य भो' मुटु हरायो ।

मुटु हरायो अन्धकार भो' ।

संसार जीवित छ सूर्य उदायो आँखा अन्धकार भो आँखा शून्य भो' ।

***

म माया माया शून्य, म शून्य ! आँखा शून्य, पानी शून्य तरलतामा बिलाएका चेतना शून्य । तरलता शून्य यो कस्तो शून्य भो !

यो हिजो त्यो आज । उल्टिएर धरती, ठाडिएर तरलता पोखिएर आगो आगो माया भो ।

आलिङ्गन आगोसँगको आलिङ्गन मायासँगको आलिङ्गन जीवनसँगको ।

मेरो जीवनले भन्यो यो अन्तिम आलिङ्गन हो हामी बीचको ।

म माया, म डर म मौन, म विलिन ।

***

मैले पाएको उपहार हो यो सेतो ओछ्यानमाथि सेतो तन्ना सेतो तन्नामाथि सेतो ओछ्यान राता मायाहरू र हरिया मायाहरू फक्राएर ।

अनुपम उपहार मेरो एकान्तसँगको मेरो कोठा र यो वैयक्तिकता र यो तन्ना सेतो र यो ओछयान सेतो; जहाँ तरलता शून्य छ आगो शून्य छ माया शून्य छ आरिस शून्य छ व्यवहारिकता, सामाजिकता शून्य छ भौतिकता र संवेदन शून्य छ ।

यो शून्यतामा म जीवनसँग निस्फक्री माया गर्न पाउने छु, जहाँ जीवन निर्वस्त्र मेरो अगाडि उभिएको हुन्छ मेरा लागि अन्तिम आलिङ्गन बोकेर; संवेदनाका धड्कनसँगै मुटु र आँखाहरूमा हत्केला र ओठहरूमा; जहाँ केही पनि नग्न छैन ।

त्यहाँ नग्नतामा आवरण छ मायाको रातो, ओठहरू जस्तै तरल, आँखाहरू जस्तै ।

यो नग्नताभित्रको मायामा वैयक्तिकता शून्य भो ।

वैयक्तिकताको शून्यतालाई पन्छाएर आलिङ्गनमा बेरेर नग्न जीवनलाई एउटा रुमानी कविता लेख्न पनि त सकिन्थ्यो ! तर खुसीका निर्वैयक्तिकता बीच जीवनसँगको माया र चुम्बनमा कविताको के अर्थ !

साँच्चै नै आलिङ्गनमा जीवनको कविता अर्थहीन लाग्छ, जसरी राम्री मायालाई राम्री भन्नु लजालु आँखालाई लजालु भन्नु माया गर्नेलाई माया गर्छु भन्नु कति निरर्थक लाग्छ कति अनुतपादक लाग्छ !

सपनाजस्तो जीवनजस्तो साथ रहुञ्जेल रमाईलो साथ छुट्दा शून्य ।

यो कस्तो शून्य भो' ।

***

आलिङ्गनले बेरेर शून्यतालाई मायाको अनुभूति यो छातीमा छातीभित्रदेखि छातीभित्रसम्म मुटु वरिपरि मुटुभित्र ।

आज यो धड्कन मुटुको, कस्तो शून्य भो' !

*************

(शून्य मुटुको धड्कनभित्र \\ सुमन पोखरेल \\ २०५६)

 
 
 

Related Posts

See All
THIS CITY IS MINE

The forty-year-long city, to me at the time, stretched across the span of my life, had become part of my being, dancing and twirling through the myriad layers of my mind and the countless rooms of my

 
 
 

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2026

bottom of page