top of page

शून्य मुटुको धड्कनभित्र / सुमन पोखरेल


यो कस्तो शून्य भयो !

मुटुले पनि पोल्यो आँखाले पनि पोल्यो केवल आगोले पोलेन यो चुरोटले पोलेन ।

मायाले पोल्यो आरिसले पोल्यो, हिजो हरायो आज शून्य भो' ।

***

तरल यो जीवनबीच न आलिङ्गनले भिजायो न चुम्बनले भिजायो न यौवनले भिजायो । क्षितिजसहित आकाश शून्य भो' फगत आँखाले भिजायो ।

पैदल यात्रा यो तरलताको पाइला हरायो उडेर आकाशमा।

माया आगो, माया पानी मिलेर आपसमा धूवाँ भो यो कस्तो शून्य भो' ।

माया शून्य !

माया किन हुन्छ शून्य !

शून्य मायाले जीवनको आँखा शून्य भो' मुटु हरायो ।

मुटु हरायो अन्धकार भो' ।

संसार जीवित छ सूर्य उदायो आँखा अन्धकार भो आँखा शून्य भो' ।

***

म माया माया शून्य, म शून्य ! आँखा शून्य, पानी शून्य तरलतामा बिलाएका चेतना शून्य । तरलता शून्य यो कस्तो शून्य भो !

यो हिजो त्यो आज । उल्टिएर धरती, ठाडिएर तरलता पोखिएर आगो आगो माया भो ।

आलिङ्गन आगोसँगको आलिङ्गन मायासँगको आलिङ्गन जीवनसँगको ।

मेरो जीवनले भन्यो यो अन्तिम आलिङ्गन हो हामी बीचको ।

म माया, म डर म मौन, म विलिन ।

***

मैले पाएको उपहार हो यो सेतो ओछ्यानमाथि सेतो तन्ना सेतो तन्नामाथि सेतो ओछ्यान राता मायाहरू र हरिया मायाहरू फक्राएर ।

अनुपम उपहार मेरो एकान्तसँगको मेरो कोठा र यो वैयक्तिकता र यो तन्ना सेतो र यो ओछयान सेतो; जहाँ तरलता शून्य छ आगो शून्य छ माया शून्य छ आरिस शून्य छ व्यवहारिकता, सामाजिकता शून्य छ भौतिकता र संवेदन शून्य छ ।

यो शून्यतामा म जीवनसँग निस्फक्री माया गर्न पाउने छु, जहाँ जीवन निर्वस्त्र मेरो अगाडि उभिएको हुन्छ मेरा लागि अन्तिम आलिङ्गन बोकेर; संवेदनाका धड्कनसँगै मुटु र आँखाहरूमा हत्केला र ओठहरूमा; जहाँ केही पनि नग्न छैन ।

त्यहाँ नग्नतामा आवरण छ मायाको रातो, ओठहरू जस्तै तरल, आँखाहरू जस्तै ।

यो नग्नताभित्रको मायामा वैयक्तिकता शून्य भो ।

वैयक्तिकताको शून्यतालाई पन्छाएर आलिङ्गनमा बेरेर नग्न जीवनलाई एउटा रुमानी कविता लेख्न पनि त सकिन्थ्यो ! तर खुसीका निर्वैयक्तिकता बीच जीवनसँगको माया र चुम्बनमा कविताको के अर्थ !

साँच्चै नै आलिङ्गनमा जीवनको कविता अर्थहीन लाग्छ, जसरी राम्री मायालाई राम्री भन्नु लजालु आँखालाई लजालु भन्नु माया गर्नेलाई माया गर्छु भन्नु कति निरर्थक लाग्छ कति अनुतपादक लाग्छ !

सपनाजस्तो जीवनजस्तो साथ रहुञ्जेल रमाईलो साथ छुट्दा शून्य ।

यो कस्तो शून्य भो' ।

***

आलिङ्गनले बेरेर शून्यतालाई मायाको अनुभूति यो छातीमा छातीभित्रदेखि छातीभित्रसम्म मुटु वरिपरि मुटुभित्र ।

आज यो धड्कन मुटुको, कस्तो शून्य भो' !

*************

(शून्य मुटुको धड्कनभित्र \\ सुमन पोखरेल \\ २०५६)

Related Posts

See All
Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page