top of page

जहाँ शून्यताले आकार बुन्छ / सुमन पोखरेल


रित्तो आकाशलाई लत्याएर, जब एउटा मुटु र अलिकति बुद्धि लिएर म मेरो कोठाभित्र पस्छु; त्यो कोठाभित्र थुप्रै कोठाहरू छरिइरहेका हुन्छन् थुप्रै कोठाहरूले मलाई हेरिरहेका हुन्छन् । थुप्रैचोटि उचालेको हुँ, मैले कोठा बाहिर, आकाशभरि आकाशलाई । त्यो अभावले रित्तिएको शून्य आकाश त्यो रहरले रित्तिएको शून्य आकाश त्यो मुटुहरूले रित्तिएको शून्य आकाश हरेकपल्ट मैभित्र समाहित हुन्छ प्रत्येकपल्टका मेरा स्पर्श सँगसँगै । आफूभित्र हराएको त्यस आकाशलाई बोकेर, शून्य म जब मेरो कोठाभित्रका कोठाहरूमा पस्दछु त्यो सबैथोक हुन्छ । त्यो अलिकति रगत हुन्छ त्यो अलिकति धूँवा हुन्छ त्यो अलिकति पानी हुन्छ त्यो अलिकति माटो हुन्छ त्यो अलिकति अबिरजात्रा हुन्छ त्यो अलिकति एकोहोरो शङ्खघोष हुन्छ त्यो अलिकति केही पनि हुँदैन त्यो अलिकति थुप्रै थोक हुन्छ त्यो अलिकति सबैथोक हुन्छ । हरेकपल्ट एउटा शून्य आकाश लिएर शून्य म सँगसँगै जब पस्छु यसरी म कोठाभित्र, आकाशको शून्यता र मेरो शन्यता मिलेर एउटा पूर्णता बन्न खोजेको हुन्छ । र अपूर्ण नै भए पनि एउटा नयाँ शून्य जन्मिएको हुन्छ । तिनै खण्डखण्ड शून्यता जोडेर शून्यतामाथि शून्यता थपेर शून्यताभित्र शून्यता हालेर शून्यतालाई शून्यताले बेरेर शून्यतामा शून्यता पोको पारेर शून्यताले शून्यतालाई बाँधेर म एउटा सागर थपिरहेको हुन्छु शून्यताको म एउटा सगर चुल्याइरहेको हुन्छु शून्यताको म एउटा पहाड अग्ल्याइरहेको हुन्छु शून्यताको । यसरी शून्यतामाथि शून्यता भरिदैं म पूर्ण भएको हुन्छु शून्यताले। त्यो मलाई लिएर जब म कोठा बाहिर निस्किन्छु त्यो केही पनि हुँदैन एउटा अथाह शून्य आकाश हुन्छ एउटा अनन्त शून्य शून्यता हुन्छ । त्यस शून्यताको आकार खोज्दै हिँड्छु म त्यो मेरो कोठा हुन्छ; जहाँ शून्यताले आफ्नो आकार बुनेको हुन्छ ।

Related Posts

See All

Comments


Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page