top of page

धमिलो आकाश र धर्तीमा / सुमन पोखरेल

Sep 23, 2018
10 min read

जसलाई दुःख्छ त्यसैले सहनु पर्छ, दुखाइ । नत्रभने एक चोइटो मुटु दिने थिएँ तिमीलाई म । मेरा राता रहरहरू रङ्गविहीन भावनासँग मिसिएर बगिरहे अग्ला नदीहरू दुखिरहे चेप्टा फाँटहरू । उकास्दै लगेर मैले छोडिदिएको पनि हुँ आकाशलाई गहिरा चुचुराहरूमा । मैले धर्तीमाथि सुत्दा तिमी ढुक्कसँग एक्लै मख्ख परिरह्यौ आकाश ओच्छयाएर । त्यतिबेला पनि मैले भनेको हुँ, आकाश च्यातिन सक्छ होश गर, भनेर । मैले केही शताब्दी अगाडि नै भनेथेँ तिमीलाई एकदुई कुरा पत्याएनौ तर तिमीले त्यतिखेर पनि ! र अहिले आएर एकाईसौँ शताब्दीको ओत लाग्ने कुरो गर्छौ तिमी ? मैले त आधा शताब्दी अघि नै चढिसकेको हुँ बुई एकाईसौँ शताब्दीको । तिमीले पत्याएनौ र त म भन्छु जसलाई दुख्छ त्यसैले सहनुपर्छ कल्की र अशोकको रुख जसरी । मैले तिम्रो दुखाइ सहन सक्ने भए एक बोरा घाउसँग एक माईल खुसी साटिदिने थिएँ । तर तिमीले तमाखु जति आफू खाएर भाण्टाको तरकारीमा हुक्काको पानी हालेर पकायौ अनि मलाई एक चौथाई भाग्यमा खन्याईदियौ । मैले मन पराउनै पर्छ भन्ने के छ तिमीले पस्किदिएका भाग्यका चोइलाहरू ?

मैले राता कर्महरू रोपेको छु मधुरा फलहरू उमार्नलाई । तिनैको तापले पोले पनि सिरेटो चलाए पनि मैले त भनेकै छु जसलाई दुख्छ त्यसैले सहनु पर्छ; कल्की र अशोकको रुख जस्तै ।

मलाई घर्षणकामी नभन्नू मैले दुखाएको हैन तिम्रा पहेँला पौरखलाई तिमी आफैँ त सहन सक्दैनौँ तिम्रो दुखाइ भने म कसरी सहिदिन सक्छु तिमीलाई ? मेरो पाँच हजार वर्ष पुरानो घाउ आजसम्म ताजै छ त्यसैले मैले पच्चीस सय वर्ष अघि नै भनेको हुँ नलुकाऊ ताता कपटी रहरलाई, भनेर । नत्र भने तिमीले लिटिल ब्वाई र फ्याट म्यान बोकेर राता गिजा देखाउँदा म पनि रातो हाँस्न सक्ने थिएँ, तिमीसँगै । त्यसैले भन्छु तिम्रा नुनीला घाउ तिमी आफैँ चाट दुखाइ त्यसैले सहनु पर्छ जसलाई दुखेको छ ।

हुन त बसपार्कमा उभिएर, वा अझ बस मै चढेर एउटा नराम्रो लोग्नेकी राम्री स्वास्नी र तिनका छोराछोरी हेरे पनि भयो; सँगै सिटमा बसेकी मोटी आइमाई र तिनको दूधे बालक हेरे पनि भयो; प्यासेजमा एउटी तरुनीसँग टाँसिन खोज्दै नजिक टाढा गरिरहेको उभिएको जुँगे मान्छेलाई हेरे पनि भयो; कण्डक्टरले दिएको टिकटलाई ओल्टाईपल्टाई हेरेर भाउ बढेको हिसाब गरे पनि भयो । हैन भने झ्यालबाट बाहिर हेरेर बाढीले छोपेका खेत देखेर छक्क परे भयो; एउटा कारखाना अगाडिको फोहोर बगाएछ भनेर मख्ख परे भयो; परको घर भत्काएर मान्छे कता गए हेलान् भनेर निधार खुम्चाए पनि भयो; बजेट भाषणका गरीबी घटाउने नीति सम्झेर मख्ख परे भयो; खलासीले हकार्दा संविधानका एघारदेखि तेईससम्मका धारा सम्झेर रिसाए पनि भयो; नेताले बोलेका साहित्यकारका शब्द सुनेर एउटा पहेँलो हाँसो हाँसे पनि भयो; एउटा मान्छेलाई रक्सी जति मात्र सम्झिए पनि भयो । बोनापार्टलाई जोसेफाइन जति मात्र चिने पनि हुन्छ सिजरलाई क्लियोपेट्रा जति मात्र चिने पनि हुन्छ भिन्चिलाई बिदा हुन आँटेकी गेरार्दिनी जति मात्र चिने पनि हुन्छ सदाशिवलाई विगुत जति मात्र र हरिभक्त कटुवाल र नारायण गोपाललाई रक्सी जति मात्र चिने पनि हुन्छ । मैले कर गरेको छैन तिमीलाई मान्छेलाई उसको वर्चश्वसम्म चिन, भनेर । कतिलाई चिन्यौ र तिमीले आजसम्म ? ऐना नहेर्नु हो भने तिमी आफैँलाई पनि चिन्छौ चिन्दैनौ शङ्कै छ मलाई ।

अस्ति उडाएका परेवाहरूले के सन्देश दिए तिमीलाई ? सेता, राता, पहेँला, हरिया, नीला र काला परेवाहरूमा तिमीले किन राता परेवा मात्र देख्यौ ? लिपिस्टिकको रातो र रगतको रातो छुट्टयाउन सक्दैनौ तिमी ? आईलाइनरको कालो र कपटको कालो छुट्टयाउन सक्दैनौ तिमी ? सेतो दूध र सेतो चूनपानीलाई उस्तै भन्छौ तिमी? हरियो घाँस र हरियो घाउ दुवै दुख्दैनन् भन्छौ तिमी ? वा पाकेको फर्सी र जण्डिसलाई उस्तै पहेँलो देख्छौ तिमी ?

जुँगा पालेको एउटा तेस्रो व्यक्ति यौवन बोकेकी एउटी तेस्रो व्यक्तिसँग टाँसिन खोज्दा तिमी तेस्रो व्यक्ति भएर चुप लाग्न बाध्य भए झैं थुप्रै छन् यहाँ घटनाहरू चुप लाग्नु पर्ने । त्यसैले चुप लाग्न तम्तयार भएर बस कतिखेर बोल्न बन्द गर्नुपर्छ भनेर; कल्की र अशोकको रुखझैँ । तिनीहरू जब बोल्दछन्, आँधी ल्याउँदछन् तिनीहरू जब आँधी ल्याउन सक्दैनन् चुप रहन्छन् । हैन भने पाकेर खसेको कटहरजस्तै गनाउँदा हुन् तिनीहरू पनि, तर गनाउँदैनन् ।

मैले कुरो गरेको पनि हुन सक्छ कुरो न कुराको बाउ गरेको पनि हुन सक्छ उत्पादन गरेको पनि हुन सक्छ अनुत्पादन गरेको पनि हुन सक्छ शब्द खेलाएको पनि भन्न सक्छौ तिमी कुरो लुकाएको भन्न पनि सक्छौ नचाहिंदो कुरो गरेको पनि भन्न सक्छौ । तर यो मेरो अनुभव र अनुभूतिको सन्तान हो कल्की र अशोकको रुखको सन्तान हावा भएजस्तै । धेरै नाइट्रोजन, थोरै अक्सिजन अलिकति कार्बनडाइअक्साइड बिग्रिएर जल्दा पनि कार्बनमोनोअक्साइड । त्यसैले यो कुरो हावाजस्तो लाग्न सक्छ ।

मैले पनि स्वीकारेको छु, आकाशलाई अलिकति टुक्रा जति । त्यहि स्वीकृत आकाशलाई कहिले पिउँदछु कहिले ओढ्दछु कहिले जोडदछु कहिले सिउँदछु । मैले वैयक्तिक बाँच्न पाउने हो भने तिमीले पनि पाउने थियौ । त्यतिखेर एकएक टुक्रा बाँडन हुन्थ्यो आकाश र धर्ती दुवैलाई । तर यो परिवेश त नितान्त निवैयक्तिक छ तिमीले मेरो र मैले तिम्रो वैयक्तिकतालाई खोसेकाले । त्यसैले भन्छु म आकाशलाई होश गरेर ओच्छ्याउनलाई ।

म त धरती नै ओछ्याउँछु संस्कार जोगाउन । म त आकाशनै ओढ्छु संस्कार जोगाउन । मैले अकाश ओछ्याएर, धर्ती ओढेर चेतिसकेको छु धेरै पहिले नै । र संस्कार बनाएको छु आकाश ओढने र धर्ती ओछ्याउने । तर खै को हो कोशिश गर्दैछ मेरो संस्कार भत्काउनलाई मलाई धेरैपल्ट शङ्का लागेको छ तिमीप्रति तिमी मेरो संस्कार बदल्ने कोशिश गर्दैछौ कपटी चालहरूको औषधीजस्तै लाग्ने विष खुवाएर । नत्र भने पाँचसय वर्ष अघि जन्मिएको तिमी दश हजार वर्षभन्दा अगाडि जन्मिएको मभन्दा जेठो हुँ कसरी भन्दैछौ ? भाष्कराचार्य र लीलावती बाल्मिकी र रामजानकी व्यास र कृष्णगीता होमर र ईलियड अनि इङ्गलिस प्यासेन्टमा को जेठो हो ? तिम्रो बस चले त यार्सागुम्बा र सगरमाथालाई पनि सारिदिँदो हौ, वा बिलादिँदो हौ बरमुडातिर वा टेथिस सागरलाई फेरि खनेर । त्यसैले मैले भनेको हुँ तिमी वैयक्तिक रातो हाँस्न सके पनि निर्वैयक्तिक परिवेशमा बाँचिरहेछौ र म तेस्रो व्यक्ति भएर निगरानी गरिरहेछु बुद्ध र स्वयम्भूका आँखाहरूले पशुपति र सगरमाथाका गजुरहरूले यार्सागुम्बा र यतिका अभासहरूले ।

एउटा भिक्षुलाई रातो गोलीले हानेर मारेको पनि तिमीले हो । यसरी तिमीले मलाई मारेको छौ मेरो स्वाभिमानको हत्याको कोशिश गरेका छौ र आफ्नो मानवतालाई आत्महत्या गराएका छौ । रातो बन्दुक रातो गोली रातो हिर्काइको उद्‌गम बिन्दू तिमी हौ; नीलो लुम्बिनी र भिक्षुको उद्‌गम म हुँ । तिमीले राता टाटा लगाएका छौ मेरो नीलोभूमिमा र सम्भवतः तिमी मलाई दोष दिनेछौ यो भूमि तिम्रो थियो र गोली मेरो थियो भनेर ।

तर्क गर्दा त पेनिसिलिनदेखि कोक्सासिलिनसम्मको दुहाइ दिए पनि भो' डण्डिफोर फुटाएदेखि ओपनहर्ट सर्जरीसम्मको बखान गरे पनि भो' क्यान्टिलिभर र शीअर स्ट्रेसको वर्णन गरे पनि भो' हाईड्रोजनदेखि निल्सबोरसम्मको रटान लगाए पनि भो’ प्याराबोला, हाइपरबोला र कोनको कुरा गरे पनि भो’ युरेनियम र मङ्गलग्रहको उदाहरण दिए पनि भो’ फोटोकपि र क्लोनिङ्गको दृष्टान्त दिए पनि भो’ । तर विग्रह अविष्कार गर्ने पनि तिमी हौ । पृथ्वी मात्रमा पनि बाँच्न सकिँदैन भने सारा ब्रम्हाण्ड ओगटेर के भो’ ? खुट्टा राख्ने ठाउँ कमजोर भएपछि शरीर जति फैलिन्छ त्यति खतरा हुन्छ पछारिने ।

तिमीले सबै कुरा बिगार्‌यौ भनेको छैन मैले तर थुप्रै कुरा बिगारेका छौ तिमीले र आज जङ्गलतिर फर्कँदैछौ । तिमी रित्तिएर जङ्गल पस्दैछौ म आफ्नै भेषमा जङ्गलमा छु । यो जङ्गलयात्रामा एउटा नदीमा नुहाएर एउटा कुटीमा बसी सायद तिमीले केही पुरस्कार स्थापना गर्नेछौ र बाहिर निस्की आँगनको छेउको ढुङ्गामा उभिएर भोजपत्रको पन्ना पल्टाउँदै घोषणा गर्नेछौ - सुपरफिसियल पुरस्कार शिवलाई प्रोडक्सन पुरस्कार ब्रम्हालाई सर्भाइमल पुरस्कार विष्णुलाई निरोगिता पुरस्कार धन्वन्तरीलाई आज्ञाकारी पुरस्कार रामलाई विद्वता पुरस्कार रावणलाई साहित्य पुरस्कार वेदव्यासलाई कुटनीति पुरस्कार कृष्णलाई शान्ति पुरस्कार बुद्धलाई एकता पुरस्कार चाणक्य र पृथ्वीनारायणलाई वातावरण पुरस्कार कल्की र अशोकको रुखलाई ।

छोडिदिऔँ यसलाई यो त कल्पना हो निर्वैयक्तिक परिवेशमा वैयक्तिक कल्पिएको । एउटा सम्झौताले बाँधेर छोडिदिऔँ, यसलाई । यो त कल्किको रुख हो यो त अशोकको रुख हो; निर्वैयक्तिक बाँचेका तर दुवै एक्ला-एक्लै तिमी र म जस्तै । मेरो वैयक्तिकतालाई साटेझैँ तिमीसँग केही भाग्य केही सम्झौता र केही संस्कारमा । म कर्मवादी हुँ तिमी पनि हौ; तर म सम्झौतावादी हुँ र तिमी पनि हौ । संस्कारलाई रक्षा गर्न अलिकति तिमीले चौइट्यायौ आफूलाई अलिकति च्यातेँ मैले आफूलाई । तेस्रो व्यक्तिको कुरा के गर्नु ? थुप्रै छन् यहाँ तेस्राहरू एउटा तिमीजस्तै एउटा मजस्तै एउटा कल्कीजस्तै एउटा अशोकजस्तै । तेस्रो व्यक्तिले तिम्रा र मेरा घाउलाई सुम्सुम्याएको पनि हो दुखाएको पनि हो । टुलुटुलु हेरेर चुँडिएका घाउलाई तिम्रा र मेरा; मुख खुम्च्याएको पनि हो मुख मिठ्याएको पनि हो । त्यसैले मैले मान्छेलाई, तेस्रो व्यक्तिलाई र बिरालोलाई बिरालोलाई, आश्वासनलाई र गोलीलाई गोलीलाई, खुकुरीलाई र मान्छेलाई उस्तै भनेको हुँ । रगत चाट्न पाउँदा यी तीनैको अनुहार उस्तै हुन्छ । रातो घाउ चाटेर रातो रगत चाटेर रातो खुसी चाटेर यी सबै रातो हाँसिरहेका हुन्छन् । एउटा निर्वैयक्तिक परिवेशमा वैयक्तिक रातो हाँसो !

मैले तेस्रो व्यक्तिको कुरा त्यसै गरेको हैन थुप्रै छन् यहाँ तेस्रा व्यक्तिहरू । ऊऽऽ त्यो मोटो मान्छे एउटा तेस्रो व्यक्ति तिम्रो लोग्ने तेस्रो व्यक्ति तिम्री स्वास्नी तेस्रो व्यक्ति तिमी तेस्रो व्यक्ति म तेस्रो व्यक्ति । कल्की र अशोकको रुखजस्ता तेस्रा व्यक्तिहरू । तिम्रो र मेरो वैयक्तिकतालाई बिथोल्न जन्मिएका एक जङ्गल तेस्रा व्यक्तिहरू; निर्वैयक्तिक बाँचेको एक्लो जङ्गल र जङ्गलका रुखहरूबीच खुकुरे आँखाका आरिसे फूल फुलाएर ।

एउटा हिस्सी रङ्गको साडीमा बेरेर आफूलाई हिँड्दै गयौ, हिँडदै रह्यौ तिमी लोग्नेको पछिपछि मायालु चालमा । आकृतिहरूको जङ्गलभरि मैले तिमीलाई देखेँ अनि तिम्रो लोग्नेलाई देखेँ तेस्रो व्यक्ति भएर । मेरा हेराइहरूलाई बिथोलिरह्यो तिम्रो लोग्नेले; तेस्रो व्यक्ति भएर । तिम्रो लोग्नेको आक्रोशलाई बाँधिरह्यौ तिमीले तेस्रो व्यक्ति भएर । एउटा तेस्रो व्यक्तिले हेरिरह्यो तिमीले समातेका मेरा पाखुरालाई पकड फुस्काउँलाझैँ गरेर । मैले लोग्ने भएको गौरव गरेँ म लोग्ने भएको जलन जलेँ म लोग्ने भएको दुखाइ दुखेँ तिम्रो गुलाबी मायाको मायावी सप्को समातेर तिम्रो गुलाबी हेराइको मधुरो गीत सुनेर तिम्रो गुलाबी बोलीको सङ्गीतमय अनुहार हेरेर ।

तर मेरो वैयक्तिकतालाई उदाङ्गो पारेर जब निर्वैयक्तिक तर एक्लो बाँचिरहेको हुन्छु म आकृतिका भीडहरूमा; मलाई लाग्छ- कोही कसैको स्वास्नी हुँदैन कोही कसैको लोग्ने हुँदैन । मान्छे मान्छेको आमा हुन्छ बाबु हुन्छ, गुरु हुन्छ दिदी, बैनी, दाजु हुन्छ भाइ हुन्छ् सन्तान हुन्छ; मान्छे मान्छेको मित्र हुन्छ शत्रु हुन्छ मान्छे मान्छेको मान्छे हुन्छ; तर, मान्छे मान्छेको लोग्ने हुँदैन मान्छे मान्छेको स्वास्नी पनि हुँदैन । जब निमको बोटमुनि बसेर चिया पिउँदै हुन्छौ हामी, तिमी खै के स्वाद पाउँछौ त्यो चियाको थाह छैन; मैले पिएको चिया एउटा स्वास्नी हुन्छ; एक चुस्की आफ्नो एक चुस्की तेस्रो व्यक्तिको एक चुस्की कल्की र अशोकको रुखको । त्यसैले म भन्छु; मान्छेको लोग्ने वा स्वास्नी त चिया हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त लिपिस्टिक हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त कोट हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त तरकारी बजार हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त टेलिफोन हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त जागिर हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त सम्झौता हुन्छ मान्छेको लोग्ने वा स्वास्नी त कल्की र अशोकको रुख हुन्छ; वैयक्तिक एक्लो जीवन बाँचिरहेको निर्वैयक्तिक समस्यामा जेलिएर ।

चियाको चुस्की र सिगरेटको कशको एउटै स्वाद पाएको छु मैले। रक्सीको गन्ध वा बास्ना खै के हो त्यो पनि चिया र सिगरेट जस्तै हुन्छ । त्यहाँ पनि अलिकति सम्झौता मिसिएको हुन्छ स्वास्नीजस्तै । अलिकति आफ्नो अलिकति तेस्रो व्यक्तिको अलिकति कल्की र अशोकको रुखको ।

यिनै निर्वैयक्तिकताले गर्दा घात, अन्तरघात, वहिर्घातले गर्दा भास, आभास, विरोधाभासले गर्दा सन्धी र दुरभीसन्धीहरूले गर्दा आग्रह र विग्रहले गर्दा आकृति र विकृतिले गर्दा गन्तव्यविहीन बहनु पर्नेले गर्दा आफ्नो दुखाइ आफैं सहुन पर्नेले गर्दा; परिवेशले दुखाएका दुखाइ सहँदै मैले चिया धूवाँ र रक्सीसँग एउटा जीवन पिएको हुन्छु एउटा रहर पिएको हुन्छु एउटा मृत्यु पिएको हुन्छु आकृतिहरूको एउटा भीड पीएको हुन्छु एक जङ्गल कल्की र अशोकका रुखहरू पिएको हुन्छु । अलिकति लिपिस्टिक अलिकति मइस्चराईजर अलिकति क्लिन्जिङ मिल्कको अनुहार बोकेर, आइल्यास कर्लरले उँभो फर्काएका परेलासहित आईस्याडो र मस्कराका आँखा लिएर एउटी मिडियाकी केटी जब तिमीसँग आँखा जुधाएर पराजित हुन्न एउटा भीडमा; तिमीलाई आफ्नो पौरुषतामा शङ्का लाग्न पनि सक्छ उसको स्त्रीत्वमा शङ्का लाग्न पनि सक्छ। तेस्रो व्यक्तिले तिमीसँग आरिस गरेको पनि हुनसक्छ रिस उठाएको पनि हुन सक्छ मन थुम्थुम्याएको पनि हुन सक्छ ।

फेशवासले धुँदैमा पखालिँदैन समाजको विकृति । दशैँभन्दा ठूलो खसी टीकाभन्दा रातो दक्षिणा मृत्युभन्दा ठूलो दान बिहेभन्दा ठूलो गोडधुवा । बेरुजु मिलाएर न्यायका सिद्धान्तले छोपिएर चोखा भएका अपराधीहरू । गाह्रो छ, बुझ्नबुझाउन। खुल्ला चौरमा सोलिड जोमेट्री पढाउनेले के देखाएर बुझाउनु जेड एक्सिसलाई ?

मैले बागमती शिवलिङ्ग पखालेको पानी मात्रले धमिलिएको हो भनेको छैन बागमती रगत मात्रले धमिलएको हो पनि भनेको छैन बागमती तिम्रो खुकुरी र खुँडा मात्रले धमिलिएको हो पनि भनेको छैन बागमती तिम्रो नियत र लोभ मात्रले धमिलिएको हो पनि भनेको छैन बागमती कल्की र अशोकको रुखको हत्या मात्रले धमिलिएको हो पनि भनेको छैन । तर मलाई बागमती मृत्यु जस्तै गनाउँछ, बोकालाई मन्दिर गनाए झैँ। हुन त आजकल मलाई बास्ना आउने वा गन्ध आउने मृत्यु मनपर्छ । मूलबाटोमा एड्सभन्दा अलि ठूलो गाडीले किचेर मरेको केटोले सुँघ्न सकेको भए चक्का र पिच बीच नङ्ग्रा फिँजाएर बसेको मृत्युलाई, अलिकति पर उभिन्थ्यो सायद; गोलीबाटजस्तै गिलोटिनबाटजस्तै चुनावबाटजस्तै; कल्की र अशोकको रुख जसरी ।

मैले मृत्यु र जीवनलाई एकैपल्ट उचालेको छैन । जीवनलाई पटकपटक उचाल्दै पछार्दै गरे पनि मृत्यलाई मैले एक पटकसम्म पनि उचालेको छैन । त्यसैले मृत्यु रमाइलो छ भन्न सक्दिनँ मृत्यु नरमाइलो छ पनि भन्न सक्दिनँ । रमाइलै पनि हुन सक्छ मृत्यु बँसाइ सरेका थुप्रैथुप्रै पूर्वजहरू फर्किएका छैनन् आजसम्म; त्यतैको रमाइलोमा मग्न होलान्, वा हुन सक्छ त्यतै कतै भासमा परे होलान् । मैले चाहिँ साटेको हुँ जीवन मृत्यु दिएर, कालसँग । र यिनै दोधारले गर्दा फर्काउन जाने छैन यसलाई म । जुन दिन आउला काल मृत्यु लिएर त्यसै दिन फर्काइदिउँला जीवन । म बाटो हेरिरहेको पनि छैन काल आउने। त्यो कपटी छ त्यो बहुरुपी छ। त्यो नदी भएर बग्दै आउन पनि सक्छ त्यो पैह्रो भएर खस्दै आउन पनि सक्छ त्यो मोटर भएर गुड्दै आउन पनि सक्छ त्यो गोली भएर उड्दै पनि आउन सक्छ त्यो आँधी भएर बतासिदैं आउन पनि सक्छ । के बेर ! त्यो कदाचित, आत्महत्या भएर हतासिँदै आउन पनि सक्छ । त्यो खबर हुन सक्छ तिमीलाई नयाँ कथाको पृष्ठभूमि हुन सक्छ तिमीलाई रमित हुन सक्छ तिमीलाई जसरी धरहरा रमित भएको छ शहरको । त्यतिखेर तिमीले स्वतन्त्र भएर जे सम्झिए पनि हुन्छ जसरी तिमीले धरहरालाई जे सम्झिए पनि हुन्छ ।

तिमीले, धरहरालाई खबरदार गरेको भीमसेनको चोर औँला सम्झे पनि हुन्छ, धरहरालाई भीमसेनले बालेर जङ्गबहादुरले निभाएको पानस सम्झे पनि हुन्छ, भीमसेनले आत्महत्या गर्ने ठाउँ बनाएका थिए तर अर्कै ठाउँमा आत्महत्या गर्नु पर्‌यो भने पनि हुन्छ । धरहराअगाडि उभिएर धरहरा नदेखे पनि हुन्छ । तर पनि धरहरा धरहरै हो । कसैको चुनाव चिन्ह भएको भए धरहरा नारा लाग्ने थिए- धरहरा तरबार हो धरहरा कलम हो धरहरा बन्दुकको गोली हो, धरहरा धर्मदण्ड हो, धरहरा राष्ट्रदण्ड हो, धरहरा स्वदेश भक्ति हो, धरहरा देश दर्शन हो, धरहरा ग्यास सिलिण्डर हो, धरहरा पानी ट्याङ्की हो, धरहरा पेट्रोल पम्प हो, धरहरा मट्टितेलको ड्रम हो धरहरा बिजुलीको खम्बा हो, धरहरा चिमनी हो धरहरा मियो हो । तर यो व्यक्ति जागेर राष्ट्र हराएको देशमा धरहरा एक्लो भएको छ, टुँडिखेल छेउका सालिकजस्तै बागमती छेउका मन्दिरजस्तै मेची छेऊका स्तम्भ जस्तै काली छेउका रेखाहरू जस्तै । स्वतन्त्रता बोकेको खरीको बोट काटिने यो देशमा दिनदिनै होचिदैं जाँदैछ धरहरा, निर्वैयक्तिक परिवेशमा नितान्त एक्लो बाँच्नु परेर कल्की र अशोकको रुखजस्तै । विश्वको कुनै पनि आस्थावादीले धरहरालाई सागरभन्दा विशाल देख्छ सगरभन्दा अग्लो देख्छ । मान्छेले कुँदेको आस्थाको चित्रकारी हो त्यो छातीभरि धर्ती ओछयाएर । जुन छाती सहँदै छ आज नङ्ग्याईहरू भाषण र जुलुसहरूको बन्द र हडतालहरूको ।

कम्प्यूटरले सबैथोक हुने भए. गरिदिनु हुन्थ्यो दीगो विकास - इन्टर भ्रष्टाचार निर्मूल, इन्टर वातावरण संरक्षण  संस्कृति बचाऔँ  आर्थिक बृद्धि  बौद्धिक उन्नयन  गरीबी निवारण  भाषणबाजी – इरेज । कल्की र अशोकको रुख – चेन्ज डाइरेक्ट्री ।

यो विनाशको लागि बाँधिएको सामाजिकतामा जहाँ एउटा बच्चाको क्षणिक बाबुलाई त्यस बच्चाको दश महिने आमासँग समानता दिलाउनलाई बाँधिएको छ सामाजिकता । जहाँ सामाजिकताको ओढ्ने ओढेर आफ्नो नभएको सन्तानमाथि अधिकार देखाउँछ लोग्नेमान्छे । जहाँ सामाजिकताको कोर्राले कुटिएर आफ्नो सन्तानलाई अरुको भन्न बाध्य हुन्छ लोग्नेमान्छे । निर्धा लोग्नेमान्छेहरूको निर्वलता र भ्रमले चलेको छ यो सामाजिकता पाशविक लोग्नेमान्छेहरूको क्रुरता र जालले चलेको छ यो सामाजिकता । प्राकृतिक हुनबाट वञ्चित यो अति जङ्गली शहर र बस्तीको अतिसामाजिकता । जहाँ बाबुले आफ्नो सन्तानलाई आफ्नो भन्न सक्दैन आमाले आफ्नो सन्तानलाई जन्माउन पाउँदिन ।

यो सामाजिकतामा मूल्य र मान्यता मिच्न रचिएको यो सामाजिकतामा यो प्रकृतिको विनाशको लागि रचिएको सामाजिकतामा मान्छे नचिन्नको लागि रचिएको यो सामाजिकतामा, यो समयमा मान्छे हराउन बोलाइएको यो समयमा यो सबैलाई घरबारविहीन तुल्याउन ल्याइएको समयमा यो मुटु टुक्राउन रचिएको समयमा, आक्रोश, युद्ध र संहारका लागि तयार गरिएको यो समयमा, जताततै जस्लाई तस्लाई दुखेको जताततै जस्लाई तस्लाई पोलेको जताततै जस्लाई तस्लाई चहर्‍याएको यो बारुद युगमा; अब मैले मन कै कुरा भन्नै पर्छ भन्न अब मलाई कर लाग्छ - जसलाई दुखेको छ, त्यसैले मात्र सहेर हुँदैन एक अर्काको दुखाइ बाँडनुपर्छ निर्वैयक्तिक भएरै वैयक्तिक बाँच्नुपर्छ। बाँच्नुपर्छ एक अँजुली प्रेम बोकेर छातीमा, धर्ती ओछ्याएर आकाश ओढेर; कल्की र अशोकको रुख जस्तै ।

 
 
 

Related Posts

See All
THIS CITY IS MINE

The forty-year-long city, to me at the time, stretched across the span of my life, had become part of my being, dancing and twirling through the myriad layers of my mind and the countless rooms of my

 
 
 

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2026

bottom of page