स्वभक्षणको हक / सुमन पोखरेल


 

 
आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु
 

 
अनि आफ्नै रक्तिसँग मिसाएर
 

 
रक्सीसँग खान्छु, आँशु र पसिनाको ।
 

 

 
खाऊँ खाऊँ लागेन, तिमीलाई
 

 
सुन्दाखेरी ?
 

 

 
आऊ, सँगै बसेर खाऊँ
 

 
मेरा आँखा निकालेर गुच्चा खेलौँला,
 

 
वा तिमी भन्छौ भने, टेनिस खेलौँला, यी हातहरूको ब्याट बनाएर ।
 

 
कुन टेनिस खेल्ने ?
 

 
टेबुल कि लन ?
 

 
वा गफ्फ खेल्ने ? कि क्रिकेट ?
 

 

 
हैन भने आऊ,
 

 
मेरो टाउकाको फुटबल खेलौँ
 

 
मेरै छातीको टुँडिखेलभरि ।
 

 

 
मेरा दाँत निकालेर कौडा खेलौँला
 

 
पूरै दुई सेट पुग्छन् ।
 

 
हैन भने भुटी खाउँला
 

 
कि उमालेर खाने ?
 

 
गिजालाई टुक्राटुक्रा पारेर मिसायो भने मीठो सुप बन्छ ।
 

 

 
यी ओठ काटेर
 

 
मुटु र कलेजोसँगै भुटौँला ।
 

 
नाकको सुल्फामा कपाल डडाएको धूवाँ गाँजाजस्तो छैन त ?
 

 

 
के हेरेको ?
 

 
सिद्धियो रक्सी ?
 

 
थूक मिसाइदिऊँ ?
 

 

 
तर के सिद्धिन्थ्यो रक्सी पनि !
 

 
त्यो पनि आँशु र पसिनाको !
 

 

 
म त खान थालेँ ।
 

 
स्वतन्त्रता पाएको छु मैले
 

 
आफ्नै रक्तिसँग आफ्नै पसिनाको रक्सी खाने ।
 

 

 
अलि वर आऊ,
 

 
सँगै बसेर मनाऔँ मेरो स्वतन्त्रोत्सव ।
 

 

 
ढुक्क होऊ,
 

 
तेलबेसार लिएर आउनु पर्दैन तिमीले ।
 

 
मेरै पँहेलो बोसोमा तारौँला
 

 
मेरा नाक र कानहरू ।
 

 

 
कुन मीठो लाग्छ तिमीलाई ?
 

 
छाला भएको कि नभएको ?
 

 
छाला बिनाको मनपर्छ भने, भन
 

 
छाला काढेर खोल बनाउन हुन्छ ।
 

 
पालैपालो ओढौँला तिमी र म ।
 

 
अपराध गर्ने बेलामा तिमी ओढ्नु
 

 
जेल जाने बेलामा म ओढौँला ।
 

 

 
हड्डी चपाउन सक्छौ ?
 

 
सक्छौ भने खाऊ, देशजस्तै
 

 
सक्दैनौ भने पनि पीर नगर
 

 
हड्डी र देश रहेकै राम्रो ।
 

 
छाला पलाए, फेरि खान हुन्छ ।
 

 

 
मासुको कुरो चाहिँ नगर्नु नि
 

 
यहाँ केवल नागरिक भएर बाँच्नेहरूमा
 

 
हाड र छाला अनि अलिकति रगत मात्र रहेको हुन्छ ।
 

 

 
छक्क परेका हौ कि अभिनय गर्दैछौ ?
 

 
किन टोलाएको ?
 

 
आफूले नखाए तिमीजस्ताहरूले खाइदिई हाल्छन्
 

 
त्यसैले खान थालेको हुँ मैले आफ्नो मासु ।
 

 

 
एउटा सम्बृद्ध सपना बोकेर
 

 
झुन्ड्याउने चलनलाई जितेर
 

 
छाला काढ्ने राज्यलाई पराजित गरेर
 

 
जिब्रो लुछ्ने शासकलाई ढालेर यहाँसम्म आएको हुँ म ।
 

 

 
तर के गर्ने ?
 

 
तिमीहरूले आफ्ना लागि रेड कार्पेट किन्नलाई
 

 
हाम्रा सबै सपना बेचिहाल्यौ !
 

 

 
हामीले देखेको सपनामा
 

 
आफ्नै रगत र छाला खाएर प्यास र भोक मेटाउनु पर्दैनथ्यो ।
 

 
छाडा जिब्रो र गुच्चा खेलिने आँखा मात्र बाँकी राखेर
 

 
आफूलाई सिध्याउनु पर्दैन थियो ।
 

 

 
अब तिमी जे गर नगर
 

 
मसँग अर्को विकल्प छैन, यसबेला ।
 

 

 
म आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु
 

 
अनि आफ्नै रक्तिसँग मिसाएर
 

 
रक्सीसँग खान्छु आँशु र पसिनाको ।
 

 

 
मसँग
 

 
मात्र यही एउटा अधिकार बाँकी छ ।

#NepaliPoetry #Poetry #SumanPokhrel #कवत #नपलकवत #কবত #समनपखरल

    0