जिन्दगी म बाँचिरहेछ / सुमन पोखरेल

आफैँभित्र फैलिएर
 

 
कतै आफूबाहिर सङ्कुचित
 

 
परिवेश, माटो र आँखाहरूमा
 

 
भावना, कल्पना र मुटुभित्र
 

 
जिन्दगी म बाँचिरहेछ ।
 

 

 
ढुङ्गामा राखेर घनले हिर्काउँदा
 

 
त्यति विभत्स नहोला मुटुको दशा
 

 
जति
 

 
बाँचिरहनुले
 

 
बाँचेर पनि नबाँचिरहनुलाई चोइट्याउँदा हुन्छ ।
 

 

 
चोटका चोइटासँगै चर्किरहन्छन् मुस्कानहरू
 

 
स्वरविहीन भएर आँखासँगै;
 

 
पहिरोजस्तै
 

 
खडेरीजस्तै
 

 
डडेलोजस्तै;
 

 
जहाँ
 

 
एउटा जिन्दगीले
 

 
म बाँचिरहेको हुन्छ।
 

 

 
बदलिन सक्दैन अनुभव
 

 
निष्फल हुन सक्दैन प्राप्ति
 

 
देवता नभए ढुङ्गो हुन्छ
 

 
खुसी नभए चोट हुन्छ;
 

 
केही नभए शून्य हुन्छ ।
 

 

 
शून्यतामा एउटा सुस्केरा गुन्जिरहेको हुन्छ
 

 
मौनताले वितण्डा गरिरहेको हुन्छ,
 

 
र चहर्‌याइरहेको हुन्छ समय अनवरत शून्यतामा;
 

 
चहर्‌याइरहेको युगमा
 

 
इच्छाहरू भाँचिइरहेका हुन्छन्
 

 
रहरहरू फुटिरहेका हुन्छन्
 

 
र पोखिएका हुन्छन् असङ्ख्य सपनाहरू।
 

 

 
उठाएर अँजुलीमा
 

 
पोखिएका सपनाहरूलाई;
 

 
बोकेर प्रलय विचलित हृदयभित्र
 

 
लुकाएर कोलाहल हताश चाहनासँगै;
 

 
उद्याएर आँखामा हतियार विद्रोहको
 

 
शान्त देखिएर मुस्काउन खोज्दै
 

 
मौन एउटा जिन्दगीले
 

 
म बाँचिरहेको हुन्छ ।

.................…..................
 

 

 
(शून्य मुटुको धड्कनभित्र / सुमन पोखरेल / २०५६)
 

#समनपखरल

    0