हाटमा उभिएर / सुमन पोखरेल

यसकै दृष्यमा बिलाएर

यसकै आवाजमा पुरिएर

पढिरहेछु यो हाटलाई म

अथवा
 

 
सुनिरहेकोछु ।

-यो भालेको कति?

-म त जान्न।

-जेसुकै होस्।

-पल्लोपट्टि हेर न!

-हिजो बिहान।

-कस्तो मोटाएको?

-सुत्नै सकिएन।

बर्साद्‌ले कुटेको खोलाको झैँ आवाजमा दौडिरहेको यो हाट

हरेक बोलीमा एक कुची चित्र कोर्दछ।

तर बुझ्दैन आफ्नै अनुहार यो गन्जागोल

चिन्दैन आफ्नै तसवीर यो व्यस्तता

बोलिरहन्छ केवल

आफैँलाई सम्बोधन गरेर -

-अलि पर्तिर सर न।

-खोलापारि।

-तीन सय बीस ।

-केही टुङ्गो छैन।

-पोहोर कै ठाउँमा।

-भोलिदेखि।

-कोसँग?

-कहाँ सुत्यौ?

-आफ्‍नै बारीको हो।

यी शब्दहरू टिपेर कविताको एक झोला बीउ बटुल्न सकिएला।

यहाँका हरेक वाक्यमाथि टेकेर

जीवन एक खुड्किलो मास्तिर चढिरहेको होला

तर

दु:ख बेच्ने र सपना किन्ने होडमा तल्लिन शब्दहरू,

आफ्नै अनुहारमा फेरिइरहेका रङ्गको पनि वास्ता गर्दैनन्।

केवल बोलिरहन्छन्

आफैँले कहिल्यै नसोचेका संवादहरू।

-एकछिन यहीँ बसौँ।

-क्या मान्छे होला।

-एकपल्ट हेर्नुपर्छ।

-कहाँको हो?

-त्यसरी काँ’ हुन्छ?

-तातो पानी?

-कस्ती थिई?

-सबैतिर हैन।

-कति बेला जाने?

-मुढामा।

आआफ्नो चासोमा निमग्न स्वरहरू

आआफ्ना सङ्गीतको सिर्जना गर्दछन् र

जीवनका एकएक लय लिएर फिर्दछन् ।

-आज केही पनि छैन।

-त्यति त नपर्नु पर्ने!

-साह्रै गलियो।

-अस्ति पनि त्यस्तै थियो।

-चिया नखाऊँ।

-पल्ला घरमा।

के यो हाटलाई उबाटै झिकिएको

कुनै कविता बुझ्ने गरी सुनाउन सकिएला?

उसकै सपनाको आकाशभरि कुँदिएका चित्र बुझाउन सकिएला?

उसकै क्रन्दन र हाँसो मिसाएर बुनिएको सङ्गीतमा मग्न बनाउन सकिएला?

एकएक मान्छे झिकेर सुन्दा जीवन बोलिरहेको यो हाट

मान्छे जोडिएर विकराल अस्पस्टता भट्याइरहेको छ।

कञ्चन जीवनहरूको नदी भीडबाट निलिएको छ

मान्छे मान्छेभित्रै बिलाएको छ।

भीड बनेपछि मान्छे

मान्छे नरहने रहेछ।

के जनता भनेको पनि हाट नै हो?

जो एक्लैमा मान्छे र

समूहमा भयानक क्लिष्टता भएर बाँच्दछ?

..........................................................................

Read English translation of this poem here

..........................................................................

#NepaliPoetry #Poetry #SumanPokhrel #समनपखरल #कवत #नपलकवत

    0